कुवेत । मध्यपूर्वमा विकसित पछिल्लो चुनौतीपूर्ण र विषम परिस्थितिका बाबजुद मानवीय सेवाको भावनालाई आत्मसाथ गर्दै तमु समाज, कुवेतले आफ्नो १०औँ वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
२७ मार्चमा कुवेतको सेन्ट्रल ब्लड बैंकसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको संयोजकत्व समाजका वरिष्ठ सल्लाहकार खोप गुरुङले गरेका थिए । उद्घाटन कुवेतका लागि नेपाली राजदूत घनश्याम भुसालले गरेका थिए । कार्यक्रममा १२६ जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा राजदूत भुसालले प्रवासमा रहेर पनि तमु समाजले मानवीय कार्यमार्फत नेपाली समुदायको शिर उच्च राखेको भन्दै प्रशंसा गरे । यस्ता परोपकारी कार्यले दुई देशबीचको सम्बन्ध र मानवीय संवेदनालाई प्रगाढ बनाउने उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तरताका लागि शुभकामना दिए ।
क्षेत्रीय अस्थिरताका कारण हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै सेन्ट्रल ब्लड बैंकको विशेष अनुरोधमा आयोजना गरिएको कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । नेपाली मात्र नभई भारतीय, भुटानी र श्रीलंकन नागरिकले समेत रक्तदान गरेका थिए ।
तमु समाजकी अध्यक्ष रञ्जना गुरुङले नेपाली नागरिकमा रक्तदानको फाइदाबारे सचेतना फैलाउने, प्रवासमा रहेका नेपालीलाई मानवीय सेवामा उत्प्रेरित गर्दै समाजप्रति उत्तरदायी बनाउने एवं उपचार गराइरहेका बिरामीलाई रगतको अभाव हुन नदिन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।
कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने समाजका स्वयंसेवक, प्राविधिक टोली, रक्तदातासहित प्रचार प्रसारमा सहयोग पुर्याउने सबैप्रति उनले धन्यवाद ज्ञापन गरिन् ।