कास्की । तमुधिं यूकेको टोलीले गण्डकी प्रदेशभित्रको उत्कृष्ट गाउँहरुमध्ये पर्यटकीय क्षेत्र सिक्लेसको भ्रमण गरेको छ ।
नेपाल भ्रमणमा रहेको तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष हरि गुरुङको नेतृत्वको टोलीले माघ संक्रान्तिको अवसरमा यही माघ २ र ३ गते सिक्लेस भ्रमण गरेको हो । भ्रमण टोलीलाई पहिलो दिन सिक्लेसमा भव्य स्वागत गरिएको थियो । नाचगान कार्यक्रममा अध्यक्ष गुरुङ प्रमुख अतिथिको रुपमा सहभागी भए । त्यस्तै आमा समूह अध्यक्ष सन्ध्या गुरुङलगायत अतिथिको रुपमा सहभागी भए ।
त्यस कार्यक्रमअघि अध्यक्ष गुरुङको टोलीले ठेलो कार्यक्रम अवलोकन गरेको थियो । तमुधिं यूके टिमलाई माघ ३ गते चिउली क्वोईंबो धिंलेका तर्फबाट अध्यक्ष इच्छाबहादुर गुरुङ, गेहेन्द्र गुरुङलगायतले भव्य स्वागत गरेका थिए भने मिष्ठान्न भोजनको व्यवस्था गरिएको सहभागीले बताए ।
त्यस क्रममा तमुधिं यूकेको तर्फबाट १ लाख १ हजार र अध्यक्ष हरि गुरुङ र उनकी पत्नी तमुधिं यूके आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ तथा परिवारले १ लाख १ हजार सहयोग प्रदान गरेका थिए । त्यसपछि भ्रमण टोलीले सिक्लेसको रमणीय ठाउँहरु अवलोकन गरेको थियो ।
टोलीमा तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ तथा आमा समूह अध्यक्ष मन्जु सीता गुरुङ, ट्रस्टी एवं गीतकार एकेन्द्र गुरुङ, पूर्वकार्यसमिति सदस्य श्रीप्रसाद गुरुङलगायत थिए ।
सिक्लेस कस्तो ठाउँ हो ?
कास्की जिल्लाको उत्तरपूर्वी भागको अन्नपूर्ण हिम श्रृंखलाबाट उत्पत्ति भएको मादी नदीले बनाएको फाँट पाखोमा आधारित भएर बसेको सिक्लेस गाउँको इतिहास सायद नेपालको अरु धेरै पुरानो र ठूल्ठूला गाउँहरुको भन्दा पुरानो लगभग एक हजार वर्ष पुरानो मानिन्छ । सिक्लेससम्बन्धी कतिपय जानिफकारहरुको भनाइअनुसार क्होंलामा बस्ती हुँदा त्यहाँ पनि बस्ती थियो तर सानो गाउँको कारण प्रख्यात हुन सकेको थिएन । १३औं शताब्दीतिर जब क्होंलासोंथरको बस्ती विघटन भयो अनि ठूलो संख्यामा सिक्लेसमा मानिसहरु क्होंलाबाट आए, यही क्रममा अरु ठाउँहरुबाट पनि परिवारहरु त्यहाँ आइ बस्न थाल्दा त्यहाँको बस्ती ठूलो हुँदै गयो र ठूलो बस्तीको आवश्यकता अनुसार त्यहाँको खेतीपती, पशुपालन, मर्दा पर्दाको रीतिथिति बोनधर्म माथि पुनर्विचार, काटछाँट र भागबन्डासमेत गरे । नियम कानुन शासन पद्धतिमा सुधारलगायत राज्य व्यवस्थालाई सघाउने गरी स्थानीय नियम कानुनहरुलाई जीविकोपार्जनको राम्रो व्यवस्था गरिएको थियो ।
कानुनलाई राम्ररी कार्यान्वयनको स्थिति थियो । समय अनुसार बदलिँदो परिस्थितिमा सिक्लेसमा पनि बदलाब आउँदै गयो । बि.स.२००० को २५ वर्ष अघि र पछि समयमा सिक्लेसको जनसंख्या चुलिएको थियो । २०२५ सालयता फाट्टफुट्टरुपमा सिक्लेसबाट बजारतर्फ मानिसहरु लाग्न थालेको पाइन्छ । बसाइँसराईको क्रम पहिला सिक्लेसमा अन्तैबाट भई आएको थियो । सिकारी युगदेखि कृषि युगमा प्रवेश गर्दा जमेको सिक्लेस आज कृषि र वैदेशिक रोजगारको युगलाई पछि पार्दै पर्यटन व्यवसाय तथा व्यापारको युगमा प्रवेश भइसकेको जोकोहीलाई सिक्लेस आइपुग्दा भान हुन्छ ।
मादी गाउँपालिकाको यो १२ वटै वडामध्ये सबैभन्दा ठूलो गाउँ हो सिक्लेस । यसै वर्ष सिक्लेस नेपाल सरकारबाट सांस्कृतिक गाउँको साथै पर्यटकीय गाउँ/क्षेत्र घोषणा भइसकेको छ । गुरुङहरुको एक ऐतिहासिक र रमणीय पर्यटकीय गाउँको रुपमा पनि चिनिन्छ सिक्लेस । सिक्लेस गाउँ सामुन्द्रिक सतहदेखि २ हजार मिटरको उचाईमा रहेको छ । गुरुङ समुदायको मौलिक परम्परा, संस्कार–संस्कृति, रीतिथिति, रहनसहन, भेषभूषाजस्ता सामाजिक मूल्य मान्यतामा आधारित समाजको अभ्यास नै सिक्लेस गाउँको विशेषता मान्न सकिन्छ ।
ठुला–ठुला चौर झाडी, पहाड, पखेरो झरना, छाँगा, नदी नाला, हिमश्रृखला, हरिया बनजंगल र मौसमी फूलहरु जस्ता प्राकृतिक सम्पदाले सिक्लेसलाई सजाउदै विश्वसामु चिनाएको छ । यसैगरी परम्परागत सामाजिक संरचना, मौलिक, भेषभुषा, खानपिन, सामाजिक र कृषि संगठन, खेती किसान र पशुपालन पनि सिक्लेसको लागि उत्तिकै मजबुत र सिक्लेस गाउँको वरिपरि चारैतिर विभिन्न सिमिभूमि, देवीदेउराली तथा पूजणीय स्थलहरु छन् भने ह्येउरा सिमिभूमि यहाँको मूल प्राकृतिक पूजा स्थान हो ।
पोखरादेखि हिडेर कम्तीमा एकदिन लाग्ने सिक्लेस जान अहिले दुई वटा छुट्टाछुट्टै गाडीको बाटो भएर पनि जान सकिन्छ । सिक्लेसको दक्षिणतिर अर्को रमाइलो र सुन्दर गाउँ ताङतिङ, पश्चिमतिर पार्चे, खिलाङ्ग, तप्राङ्ग, उत्तरतिर विशाल अन्नपूर्ण हिमश्रृखला र पूर्वतिर कोरी, म्ह्युच्या, फुँलूँजस्ता खुला खर्कका साथै गुरुङ समूदायकै ऐतिहासिक र पूरातात्विक राज्य क्होला सोंथर पर्दछ ।
प्राकृतिक र भौगोलिक हिसाबले धप्राङ्गथर, लामाथर, हर्पूथर, सभाथर, कोँइथर र गैरीथर गरी ६ ओटा टोलमा रहेको सिक्लेस राजनैतिक वा प्रशानिक रुपले ५ ओटा टोलमा विभाजन गरिएको छ । पछिल्ला स्थानिय तहको तथ्याङ्क अनुसार करिव ४ सय ५० घरधुरी रहेको सिक्लेसलाई सात सय सिक्लेस भनेर पनि चिनिन्छ । यहाँको जाति/समुदायमा गुरुङको संख्या बाहुल्य छ भने विश्वकर्मा र परियारहरु पनि केही मात्रमा छन् ।