काठमाडौं । मौलिक लोक तथा दोहोरी गीतमा ख्याती कमाएकी गायिका दुर्गा गुरुङ एकल साँझमा गुन्जिने भएकी छन् ।
'कला र संस्कृतिको जगेना गरौं' भन्ने सन्देशसहित गायिका गुरुङको यही भदौ २५ गते काठमाडौंमा 'दुर्गा गुरुङ एकल साँझ २०७९' हुन लागेको हो । कार्यक्रम राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) जमलमा हुनेछ । औपचारिक कार्यक्रमबाहेक उनले झण्डै साढे २ घण्टा लगातार प्रस्तुति दिनेछिन् । जसमा एकल र डोयट गरी १३ गीत समावेश गरिने गायिका गुरुङले जानकारी दिइन् । उनले नै स्वर दिएका अरिजिनल गीतहरुमा साथ दिएका चर्चित कलाकारहरु नारायण रायमाझी, शर्मिला गुरुङ, दुर्गा गुरुङलगायतले साथ दिनेछन् ।
'कोहलपुरैमा' गीतमा नारायण रायमाझी र लक्ष्मी न्यौपाने, 'देउराली भन्ज्याङ' (सालैजो)मा राजु गुरुङ, 'दाइ त मेरो लाहुर जाने'मा गणेश गुरुङ, कौडा गीतमा शर्मिला गुरुङ र दुर्गा गुरुङ तथा गुरुङ मातृभाषाको गीतमा कृष्ण गुरुङले साथ दिनेछन् ।
स्याङ्जा जिल्लामा जन्मिएर उहाँ २०५१ सालमा लाइभ दोहोरी गीतबाट सांगीतिक क्षेत्रमा लागेकी हुन् । त्यसपछि काठमाडौंमा रेडियो नेपालबाट २०५३ सालमा 'स्याङ्जा डाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ' लोकगीत रेकर्ड गरिन् । त्यही सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी थिइन् ।
२८ वर्षदेखि सांगीतिक क्षेत्रमा अनवरतरुपमा लागिरहेकी गायिका गुरुङले 'घुमी घुमी बसियो माहुरी' (कौडा), 'देउराली भन्ज्याङ' सालैजो, 'घरीकहाँ हो माया', 'दाइ त मेरो लाहुर जाने' लगायत चर्चामा रह्यो । त्यस्तै गुरुङ भाषाको पहिलो चलचित्र 'पातें' को गीत पनि उनले नै गाएकी थिइन् ।
धनबहादुर गायकको संकलनमा रहेको कालजयी गीत 'यो दाजुको मिरमिरे आँखा' मा पनि २०६३ सालमा गायिका गुरुङले लक्ष्मी न्यौपाने, युक्त गुरुङ र पाण्डव सुनुवारसँगै रेडियो नेपालमा गाउने मौका पाएकी थिइन् । मौलिक सोरठी, तीज गीत, घाँटु, लोकगीत, दोहोरीलगायत २५ सय हाराहारीमा आफूले गीत गाइसकेको गायिका गुरुङले बताइन् । उनी गुरुङ मातृभाषा, तामाङ भाषा र सुदूरपश्चिममा प्रख्यात देउडा भाकासमेत गाउन सिपालु छिन् ।
गायनकै सिलसिलामा बेलायत, जापान, जर्मन, कोरिया, हङकङ, बेल्जियमलगायत विश्वका २० वटा जति देश भ्रमण गरिसकेकी गायिका गुरुङले पहिलो पटक एकल साँझ गर्न लागेकी हुन् । उनले आफ्नो सांगीतिक यात्राको लामो कालखण्डमा पहिलोपटक गर्न लाग्नुभएको एकल गायन उपलब्धिमूलक हुने आशा व्यक्त गरेकी छन् । उनले एकल गायनमार्फत संकलित केही रकम जन्मथलो स्याङ्जामा अपांगता भएका बालबालिकाको आश्रममा सहयोग दिने योजना समेत बनाएको जानकारी दिएकी छन् ।