गत आइतबार, २०८२ साल असोज ५ गते कृष्ण औंसीको शुभ अवसरमा म र हाम्रो परिवारलाई मुस्ताङ जिल्लाको पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्ने सौभाग्य प्राप्त भयो । मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूका लागि अत्यन्त महत्त्वपूर्ण तीर्थस्थल हो । यो समुद्र सतहदेखि करिब ३,७१० मिटरको उचाइमा, नेपालको हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित छ । हिन्दुहरूले यसलाई मुक्तिक्षेत्र र बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात् ‘सय पानी’ भन्दछन्। तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानमध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव सम्प्रदायको प्रमुख मन्दिरहरूमध्ये एक हो र यो क्षेत्र शालिग्राम भगवानका लागि प्रसिद्ध छ।
हामी बिहान ५ बजेतिर जोमसोम बजारबाट यात्रा सुरु गरी कागबेनीस्थित पवित्र पिण्डदान स्थलमा पुग्यौँ । त्यहाँ पुगेर हामीले स्वर्गीय पितृहरूको सम्झनामा, विशेषगरी हाम्रो पूज्यनीय आमा स्व.कुन्ती गुरुङको स्वर्गारोहण भएको एक वर्ष पुगेको पुण्य अवसरमा धूप–दीप, नैवेद्य र फलफूल अर्पण गर्दै पितृकार्य सम्पन्न गर्यौ । केही समय मौन बसेर पितृहरूको आशीष सम्झनु हाम्रो परिवारका लागि अत्यन्तै भावुक र अर्थपूर्ण क्षण बन्यो ।
कागबेनी धार्मिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण स्थल हो । यहाँ मुक्तिनाथ क्षेत्र र दामोदरकुण्डबाट बग्ने कालीगण्डकी र मुक्तिगण्डकी नदीको संगम हुन्छ । यो स्थान पितृ उद्धारका लागि प्रमुख स्थल मानिन्छ । यहाँ बर्सेनि हजारौँ हिन्दु धर्मावलम्बीले पितृ श्राद्ध र तर्पण गर्ने गर्छन् । यस वर्ष पनि हजारौँ भक्तजनको घुइँचो देख्दा व्यवस्थापन पक्षलाई निकै चुनौती भएको अनुभव गरियो ।
हामी करिब १ किलोमिटर लामो कालीगण्डकी किनार हुँदै भीड छिचोल्दै पितृकार्य गर्ने उपयुक्त स्थानमा पुग्यौँ । पितृकार्य सम्पन्न गरेपछि हामी गाडीमा मुस्ताङको अद्भुत भू–दृश्य, नीलो आकाश र हिमश्रृङ्खला अवलोकन गर्दै मुक्तिनाथ क्षेत्रतर्फ अघि बढ्यौँ । कागबेनीदेखि मुक्तिनाथसम्मको बाटो राम्रो रहेको अनुभव गर्यौं र करिब २० मिनेटमै गाडी मुक्तिनाथ क्षेत्र पुग्यो ।
गाडीबाट झरेपछि करिब ३० मिनेटको पैदल यात्रा सुरु भयो । कहिलेकाहीँ समथर र धेरैजसो उकालो भएको यो बाटो केही चुनौतीपूर्ण भए तापनि भगवानको दर्शनको उत्साह र अन्य यात्रुहरूका साथले यात्रा सहज र रमाइलो बनायो । ढुङ्गाले छापिएका उकालो सिढीहरू, बीचबीचमा विश्राम गर्ने स्थान र दुवैपट्टि रेलिङहरूले यात्रुलाई सजिलो बनाएको अनुभव भयो । हिँड्न असमर्थ, वृद्धवृद्धा र अशक्त व्यक्तिहरूका लागि घोडा वा डोलीमार्फत मन्दिरसम्म पुग्ने व्यवस्था पनि रहेछ, जुन अत्यन्त उपयोगी देखियो। उच्च भू-उचाइका कारण कसैलाई असहज हुन सक्ने भएकाले यहाँ केही घरेलु औषधि र High Altitude Sickness Prevention Tablet पनि उपलब्ध रहेछ । भाग्यवश हाम्रो परिवारका सदस्यहरूलाई कुनै समस्या भएन ।
मुक्तिनाथ मन्दिर परिसरमा पुग्दा भक्तजन र व्यवस्थापन समितिबाट गुञ्जिरहेको भजन–कीर्तनले साक्षात् तीर्थमा पुगेको अनुभूति दिलायो । मन्दिरमा पुगेर १०८ धारामा स्नान गरी र दुईवटा पवित्र कुण्डमा डुबुल्की लगाएर मन्दिरको मूल ढोकामा पुग्यौँ र भगवान् विष्णुको दर्शन गर्दा मनमा अपार शान्ति र आनन्दको अनुभूति भयो । थकाइ, भोक र तिर्खा सबै बिर्सेर हामी आध्यात्मिक उल्लासमा रमायौँ ।
मुक्तिनाथको दर्शन र धूप–दिप प्रज्वलनपछि नजिकैको बौद्ध गुम्बामा गएर जलिरहेको ज्वालामुखी मनि (प्राकृतिक ग्यासबाट निरन्तर बलिरहने पवित्र ज्योति) अवलोकन गर्ने अवसर पनि पायौँ । त्यहाँ नेपालकै सबैभन्दा ठूलो ढुङ्गाको शाक्यमुनि बुद्धको मूर्ति निर्माण गरिएको रहेछ, जुन अमेरिका निवासी व्यवसायी सोनाम लामाको सहयोगमा सम्पन्न भएको रहेछ । उहाँको यस सराहनीय धार्मिक तथा सांस्कृतिक योगदानप्रति हामी हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौँ ।
गुम्बाको परिसरमा केही समय बसेर हिमाल–पहाडको रमणीय दृश्य अवलोकन गर्दै आत्मिक शान्ति र आनन्दको अनुभूति गर्यौं । आफैंले लगेका खानेकुरा सेवन गरी केही क्षण विश्राम गरेपछि हामी पुनः गाडी पार्किङ स्थानमा फर्कियौँ । त्यसपछि नजिकैको होटलमा स्वादिष्ट भोजनको आनन्द लिँदै यात्राको स्मृतिलाई अझै स्मरणीय बनायौँ । मुक्तिनाथ क्षेत्रलाई मनैमन बिदाइ गर्दै हामी कालीगण्डकी र मोदी नदीको किनार हुँदै विभिन्न चुनौतीपूर्ण बाटो पार गर्दै अन्ततः पोखरा फर्कियौँ र दुईदिने यो यात्रा सफलतापूर्वक सम्पन्न गर्यौं ।
यो यात्रा केवल धार्मिक यात्रा मात्र नभई प्रकृति, आस्था र परिवारिक एकताको अनुपम अनुभव रह्यो । यसले जीवनमा आन्तरिक शान्ति, कृतज्ञता र सकारात्मक ऊर्जा भरेर फर्किने अवसर प्रदान गर्यो । अझ भदौ यो भ्रमण हाम्रो जीवनकै अविस्मरणीय धार्मिक र आध्यात्मिक अनुभव रह्यो ।
कागबेनी र मुक्तिनाथमा सुधारका सुझावहरू:
कागबेनीमा सुधारका सुझावहरू :
• यातायात पार्किङ व्यवस्थापन : कागबेनी क्षेत्रमा सवारी साधन पार्किङ नियन्त्रण गर्ने स्पष्ट प्रणाली आवश्यक छ । प्रहरी वा व्यवस्थापन निकायलाई ओकी–टोकी वा सरल सञ्चार उपकरण उपलब्ध गराए यातायात पार्किङ व्यवस्था सहज रूपमा व्यवस्थापन गर्न सकिन् छ।
• पिण्डदान स्थलको स्वच्छता : पिण्ड तर्पणपछि उत्पन्न हुने फोहर व्यवस्थित रूपमा व्यवस्थापन गर्न छुट्टै स्थान र संकलन प्रणाली निर्माण गर्नुपर्छ, अन्यथा वातावरण प्रदूषित हुन सक्ने जोखिम रहन् छ।
मुक्तिनाथ मन्दिर परिसरमा सुधारका सुझावहरू :
• लाइन प्रणाली: दर्शनार्थीहरूका लागि स्पष्ट र कडाइका साथ पालना हुने लाइन प्रणाली लागू गर्नुपर्छ, ताकि अव्यवस्था कम होस् ।
• स्वच्छता र पानी आपूर्ति : शौचालयमा पानीको अभाव देखियो। नियमित मर्मत र स्वच्छ पानीको आपूर्ति सुनिश्चित गर्न आवश्यक छ।
• स्नान सुविधा : १०८ धारामा स्नान र कुण्डमा डुबुल्कीपछि सफा पानीले नुहाउने छुट्टै धाराको व्यवस्था आवश्यक छ । हालको पाइपलाई उचित रूपमा उठाएर धाराको स्वरूपमा बनाउन सकिन्छ ।
• कपडा फेर्ने स्थान : पुरुष र महिलाका लागि छुट्टाछुट्टै, सफा र सुरक्षित कपडा फेर्ने कोठा निर्माण गर्नुपर्छ । कपडा राख्ने ठाउँ र बस्नका लागि बेञ्चको व्यवस्था भएमा विशेषगरी वृद्धवृद्धालाई सहज हुने थियो।
यी सुधारहरू कठिन छैनन् र इच्छाशक्ति भएमा सहजै कार्यान्वयन गर्न सकिन्छ । यसरी आवश्यक सुधार र व्यवस्थापन भएमा मुक्तिनाथ यात्रा सबै भक्तजनका लागि अझ सहज र आध्यात्मिक दृष्टिले समृद्ध हुनेछ ।

















