२०८२ असोज ४ गते पोखराबाट मुस्ताङतर्फको यात्रामा निस्कँदा मन उत्सुकता र रोमाञ्चले भरिएको थियो। कास्की, पर्वत, बागलुङ र म्याग्दी हुँदै मुस्ताङसम्मको बाटो उकाली–ओराली, मोदी खोलाको तट र काली गण्डकीको गर्जनसँगै, बाटोमा भेडा, च्याङ्ग्राको बथान हिँडाउँदै गरेको दृश्य निकै रमणीय लाग्यो। बाटैभरि देखिने पहाडको हरियाली र टाढाबाट टल्किने हिमालको सेतो चमकले यात्रालाई अझ रोमाञ्चक बनाउँदै लग्यो। लामो यात्रापछि जब म मार्फा पुगेँ, त्यो क्षण शब्दमा बयान गर्न गाह्रो हुने गरी विशेष लाग्यो।
मार्फाको पहिलो झलकमै पुराना ढुङ्गा र माटोले बनाइएका घरहरू, छानामा थुपारिएका दाउराका चाङहरू र सफा गल्लीहरूले मलाई समयमै पछाडि फर्काएको अनुभव दिलाए। त्यस्तै, राजमार्गले छोएका नयाँ र आधुनिक सेवायुक्त भवनहरूले भने गाउँलाई आधुनिकताप्रति अघि बढिरहेको अनुभूति दिलाए। गाउँको शान्त हावामा अनौठो शान्ति थियो, जसले यात्राको थकाइ क्षणमै हरायो।
-1758619111.jpg)
सबैभन्दा पहिले मेरो ध्यान स्याउका बगैँचातर्फ गयो। रुखमा लटरम्म फलेका रातो स्याउ टिप्दै र प्याकिङ गर्दै गरेका किसानहरूको दृश्य अत्यन्त रमाइलो लाग्यो। मलाई पनि केही स्याउ टिप्ने मौका मिल्यो — त्यो क्षण गाउँको मीठो सम्झनाजस्तै लाग्यो। टिपेका स्याउ चाख्दा ताजगीको स्वाद अझै मुखमै घुलिरहेजस्तो लाग्यो। साँझ पर्नासाथ स्थानीय परिकार — तातो आलु, सिमीको दाल र थकाली खाना — स्वाद गर्दा यात्राको थकाइ पूर्ण रूपमा हरायो।
मार्फ गाउँका साँघुरा गल्लीहरूमा हिँड्दा थकाली संस्कृतिको गहिरो छाप देख्न पाइन्छ। मैले थकाली पोसाक लगाएर केही तस्बिर खिचाएँ र याकमा चढेर खिचेको फोटो मेरो यात्राको अविस्मरणीय स्मृति बन्यो।
यस यात्राको चरम क्षण भनेको स्थानीय गुम्बामा भइरहेको ठुलो पूजामा सहभागी हुन पाउनु थियो। धूपको मीठो सुगन्ध, मन्त्रको धुन र गुम्बाको गहिरो शान्त वातावरणले मनलाई आध्यात्मिक शान्ति दिएको अनुभूति भयो। मैले सक्दो दान दक्षिणा चढाएर गुरुहरूबाट आशीर्वाद पाएँ, जसले मलाई सकारात्मक ऊर्जा र सन्तुष्टि प्रदान गर्यो।
मार्फा केवल एउटा गाउँ होइन, यो प्रकृति र संस्कृतिको अनुपम सङ्गम हो। यहाँका मानिसहरू प्रायः थकाली समुदायका छन्, जसले होटेल, रेस्टुरेन्ट र स्याउको व्यापार गरेर आफ्नो जीवन धान्छन्। धेरै स्याउ फार्ममा फलेका स्याउ व्यापारीलाई ठेक्कामा दिइन्छन्, र ती व्यापारीहरूले नै टिपेर बजारमा बिक्री गर्दोरहेछन् वा अन्य ठाउँमा पुराउँदो रहेछ। केही व्यापारीहरू तिब्बती मूलका छन् र तिब्बती सामानको व्यापार गर्छन्, जसले गाउँलाई अझ सांस्कृतिक विविधता दिन्छ।
मार्फाबाट फर्किँदा मेरो मन त्यहाँकै दृश्य, स्वाद र अनुभवमा अडिएको थियो। शान्त गाउँ, हिमाल र पहाडको काखमा पसारिएको हरियाली, र यहाँका आत्मीय मानिसहरूले मलाई फेरि फर्केर आउन मन बनाइदिए। यदि तपाईँ मुस्ताङको यात्रा योजना गर्दै हुनुहुन्छ भने, मार्फालाई अवश्य आफ्नो यात्रामा समावेश गर्नुहोस् — किनभने यो यात्रा केवल गन्तव्य होइन, एउटा अनुभव हो, जुन जीवनभर सम्झनामा रहिरहन्छ।
(मैले यो लेखमा राखेका जानकारीहरू स्थानीय बासिन्दासँग सोधपुछ गरेर सङ्कलन गरेको हुँ; यदि कतै त्रुटि भएमा क्षमा प्रार्थी छु)
-1758619091.jpg)

-1758619097.jpg)
-1758619099.jpg)
-1758619106.jpg)

-1758619108.jpg)