लन्डन । बेलायतमा एसियन महिला एसोसिएसन (आमा) र फस्ट गोर्खा आमा समूहले संयुक्त रुपमा अन्तर्राष्ट्रिय नारी दिवस (वुमन्स डे) मनाएका छन् । आइतबार २ मार्च २०२५ मा अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा एक भव्य समारोहबीच आमा र फस्ट गोर्खाले विभिन्न कार्यक्रमसहित नारी दिवस मनाएका हुन् । कार्यक्रममा रसमुर बरो काउन्सिलका मेयर मारा माकुनुरा प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् । उनलाई आमाकी अध्यक्ष कल्पना गुरुङ र फस्ट गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङले बुकी,खादासहित स्वागत गरे ।
आमाकी अध्यक्ष कल्पना गुरुङको अध्यक्षतामा भएको कार्यक्रम निवर्तमान अध्यक्ष विभा गुरुङले सञ्चालन गरेकी थिइन् । स्वागत मन्तव्य फस्ट गोर्खा आमा समूह अध्यक्ष सेतीमायाले दिएकी थिइन् । सेतीमायाले कार्यक्रममा सहयोग गर्नै सबै व्यवसायी, समाजसेवीलाई धन्यवादसहित कार्यक्रममा स्वागत र महिला दिवसको शुभकामना दिइन् ।
कार्यक्रममा मगर संघ यूकेकी अध्यक्ष सीता पुनमगर, तमु धीं यूकेकी आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, पूर्वअध्यक्ष मञ्ज गुरुङ,तमु प्ये ल्हु संघ यूके आमा समूह अध्यक्ष बविता गुरुङ,गोर्खा समाज यूकेकी अध्यक्ष टकमाया गुरुङ,ग्रेटर रसमुर नेपाली कम्युनिटी यूकेकी अध्यक्ष लीला सेलिङ माबो, बाग्लुङ्गे समाज यूकेकी पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार छविमाया पुनमगर, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, एमबीबीएस डा जित तामाङ, नेपाली राष्ट्रिय खेलाडी सिर्जना सिंह ठकुरी,समाजसेवी माधव घले, लगायत विभिन्न क्षेत्रमा स्थापित र अन्य विभिन्न संस्थामा आबद्ध आमा दिदीबहिनीहरुको बाक्लो उपस्थिति थियो ।

भाग्योदय चिट्ठाका लागि पहिलो पुरस्कार पोते नेक्लेस गोर्खा मेजर्नी विष्णुमाया तामाङले प्रायोजन गरेकी थिइन् भने लामा ज्वेलर्सले चन्द्रमा दोस्रो पुरस्कार प्रायोजन गरेको थियो । कार्यक्रमको मुख्य प्रायोजक व्यवसायी मनिकला राईले २ सय पाउन्ड सहयोग गरेको समेत गरेकी थिइन् ।
कार्यक्रम समापनका क्रममा अध्यक्ष कल्पना गुरुङले कार्यक्रममा सहकार्य गर्ने फस्ट गोर्खा आमा समूहका सबै पदाधिकारी तथा सदस्य, आमाको सबै कमिटी र उपस्थित अथितिसहित सबैलाई धन्यवाद दिइन् । कार्यक्रममा प्रवेश, खाजा/खानासमेत नि:शुल्क व्यवस्था गरिएको थियो । आमाले विभिन्न कार्यक्रम गरी बर्सेनि नारी दिवस मनाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवस अथवा नारी दिवस महिला जागरूकतासम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभरी मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्र्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।








