मेरो मन जस्तै अशान्त छ
मेरो चो?लुङ
अलिकति साहस बोकेर
फक्ताङलुङ ओर्लि दिए हुन्थ्यो
कन्चनजङ्घा उठी दिए हुन्थ्यो
मुकुमलुङ्मा÷सेमुक्तु फोमाङको अस्तित्व जोगाउन
फेरि थुप्रै काङ्सोरेहरू
पहाडको छाती चिरेर
जन्मिदिए हुन्थ्यो
ए,,,,
सावा येत्हाङ याक्थुङ पुर्खा
सुसुवेङ लालावेङ !
सावायुक्पुङ्केम्बा भएपछि कति सुत्छौ आफ्नै समाधिमा
मुन्धुमको सिरानी हालेर ?
अब,
सेमुक्त्तो फोमाङमा
माङ सम्माङ्गहरू उठ्नु पर्छ
सिन्धोलुङ मैवा खोलाबाट
येबा सजारा लुङ्ग्दाङ्गहरू उडेर आउनु पर्छ
मुन्धुमले ढुंगा चिर्ने
आगो ओकल्ने
पोमु केच्छङ्गहरू
बौरिनुपर्छ चिहानबाट
अब फेरि आफनै धरातललाई
सम्झेर नयाँ यूग
जन्माउने बेला आएकोछ्र
फक्ताङलुङ ओर्लियोस कि नओर्लियोस
कन्चनजङ्घा उठोस कि नउठोस
इम्बिरी याङ्धाङ्वा रोकियोस कि वगिरहोस
सावा येत्हाङका सन्ततीहरु उठ्नु पर्छ
नवयुगको सिरिजङ्गा बनेर
जाग्नु पर्छ
नयाँ यूगको काङसोरे बनेर
उर्लिनु पर्छ
अस्तित्व खोस्नेहरूका लागि सुनामी बनेर
फेरि एकपल्ट
आमाको अस्तित्व बचाउन
छातीमा पहिचान भिरेर
उठ्नु पर्छ
तव मात्र
लुटिनु पर्दैन
आफ्नै घर आँगनमा
तरुनी लाली गुराँसहरूले
तमोरले जस्तै
आफुलाई अतिक्रमण गर्ने
हरेकलाई पेलेर बग्नु पर्छ
धेरै भयो भिर पहराहरू
बुद्ध बनेको
सुसुवेङ्ग लालावेङ्ग सिरानीमा धनु कांड बिसाएर ढुंगा बनेको
अब जाग्नु पर्छ
र मात्र स्वतन्त्र बाँच्न पाउनेछन्
कोरली गुराँसहरूले
पाउने छन्
स्वतन्त्रता मेंछ्यायेमहरूले
बन्द हुन पर्दैन
उत्पती थलो खुवालुङ्गहरूले
.................................................
शब्दार्थ:
चो?लुङ = शिर
फक्तान्ग्लुंग= कुम्भकर्ण हिमाल
सेमुक्त्तो फोमाङमा = पाथिभरादेबिको मुन्धुमी नाम
माङ सम्माङ्गहरू = देबी देउताहरू
इम्बिरी याङ्धाङ्वा= तमोर खोला