हामीले परिवारको असल अभिभावक गुमाएका छौँ। यो क्षण मेरो लागि शब्दहरूमा बयान गर्न गाह्रो छ, किनभने उहाँबाट पाएको माया, प्रेरणा र सहारा सम्झिँदा मन भारी हुन्छ ।
माइला बा ओमप्रसाद गुरुङ सदैव परिवारका लागि समर्पित अनि सबै आफन्तका लागि माया र सहयोगका स्रोत हुनुहुन्थ्यो । उहाँको न्यानो उपस्थितिले परिवारलाई एउटै सूत्रमा बाँधेर राखेको थियो । म १८ वर्षकै उमेरमा बिदेसिए पनि उहाँसँग बिताएका पुराना क्षण अमूल्य छन् । हरेक भेटमा परिवारलाई कसरी बलियो बनाउने, कसरी आत्मीयता बढाउने भन्ने सल्लाह दिनुहुन्थ्यो । उहाँको शब्द मात्र होइन, कर्मले नै हामीलाई सधैँ सिकाइरह्यो, परिवारको माया कति अमूल्य हुन्छ, भनेर ।
मेरो कान्छा बाजेको ६ भाइ छोरा, उहाँ माइला बा । मेरो बाबा एक्ला सन्तान । तर, उहाँले कहिल्यै हामीलाई फरक महसुस हुन दिनुभएन । ‘हामी सात भाइ हौँ, एउटै परिवार हौँ,’ भन्नुहुन्थ्यो । शब्दमा होइन, व्यवहारमा पनि त्यस्तै गर्नुहुन्थ्यो । हामीलाई आफ्नै सन्तानसरह माया गरेर, सधैँ हाम्रो भलो चाहनुभयो ।
सन् २०१७ मा मेरो बाबाको देहान्तको दिन… त्यो दिन मेरो जीवनकै सबैभन्दा कठिन क्षण थियो । रातको एक बजे बाबाले नर्भिक अस्पतालमा अन्तिम श्वास लिनुभयो । म अस्पतालको भुइँतलामा सुतेको थिएँ । जब यो खबर आयो, मन त्यसै बन्धनमा अड्किएझैँ भयो । तुरुन्तै दिदी कृष्ण र भिनाजु क्या. होमबहादुरलाई खबर गरेँ । उहाँले बाबाको पार्थिव शरीर पोखरा लैजान एम्बुलेन्सको व्यवस्था गर्नुभयो । भूपू अञ्चलाधीश लालकाजी माइला बाले सुन्नासाथ आफ्ना छोरा कर्णेल अमृतलाई लिएर अस्पताल आइपुग्नुभयो, बाबालाई अन्तिम बिदाइ गर्न।
बिहान मिर्मिरेमै हामी बाबाको पार्थिव शरीर लिएर पोखरा लाग्यौँ । गाडीमा अगाडि दिदी कृष्ण रुँदै बस्नुभएको थियो । म र भिनाजु बाबाको शरीरसँगै पछाडि । त्यो यात्रा शब्दमा बयान गर्न सक्दिन। गह्रौँ मन । अश्रुले भरिएका आँखा र मुटुभित्र गढिरहेको त्यो पीडा… जिन्दगीभर भुल्न सक्दिन ।
त्यही बेला आफन्तले दिएको साथ-सहयोगको महत्त्व महसुस भयो । हामीलाई अँगालो हाल्ने, सम्हाल्ने, अनि सँगै रुने आफन्तहरू… त्यही आत्मीयता नै परिवार हो भन्ने हृदयले अनुभूति गर्यो ।
पोखरा पुग्दा, घरमा सबै आफन्तजन, लामा गुरुहरू पर्खिरहनुभएको थियो । बाबालाई उपचारका लागि काठमाडौँ लगेका थियौँ । तर देह त्याग गरेको शरीर मात्र लिएर पोखरा फर्किनुपर्यो । घरको गेट अगाडि गाडी रोकियो । हाम्रो प्रिय बाबा, अब हामीसँग नभए पनि उहाँको सुगन्ध, उहाँको मायाले भरिएको घर थियो त्यो । आमाको अवस्था शब्दभन्दा परको थियो ।
बाबाको अन्तिम संस्कारका लागि हामी केही खट्यौँ। सबैभन्दा अघि बढेर माइला बाले नै नेतृत्व लिनुभयो । त्यो क्षणले उहाँले सधैँ भन्दै आएको कुरा वास्तविक रूपमा देखायो । उहाँको आँखा, हाउभाउ, संलग्नता… सबै उहाँको असीमित प्रेमको प्रमाण थिए । आफ्नै रक्तसम्बन्धी दाजुभाइझैँ उहाँले मेरो बाबालाई सम्हाल्नुभयो ।
म जेठो छोरा। मेरो कर्तव्य थियो, तर मेरो भाइ चन्द्र अस्ट्रेलियामा भएकाले आइपुगेको थिएन । त्यो दिन माइला बाले हामीलाई जसरी साथ दिनुभयो, त्यो म कहिल्यै भुल्न सक्दिन ।
आज, म तपाईंलाई अन्तिम बिदाइ गर्दै छु । मन एकपल्ट फेरि भारी भयो । माइला बा, तपाईंले सधैँ माया दिनुभयो । सही बाटो देखाउनुभयो । हामीलाई एउटा साँचो परिवारको अर्थ सिकाउनुभयो । तपाईंको अभाव कहिल्यै पूरा गर्न सक्दिन । तर तपाईंको शिक्षालाई सधैँ हृदयमा राख्नेछु । हार्दिक श्रद्धाञ्जली ! तपाईंको आत्माले शान्ति पाओस् ।
तपाईंको छोरा, प्रकाश गुरुङ
(हाल फार्नबोरो, बेलायत)