इन्डिया अंग्रेजको अधीनकै बेलाका गोर्खा सिपाही हुनुहुन्थ्यो, कान्छाबाजे नायक कलबहादुर गुरुङ । दोस्रो विश्व युद्धको दौरानमा पाँच वर्ष जापानमा कैदी जीवन बिताउनुभएको थियो । लाहुर लागेपछि रमन गोरखाली सिक्नुभएको रहेछ । हिन्दी, नेपाली, गुरुङका साथै फाट्टफुट्ट जापनिज र अंग्रेजी बोल्नुहुन्थ्यो ।
कान्छाबाजेको जन्म सन् १९१९ मा भएको थियो । उहाँ कडा परिश्रम गर्न चाहने र बहुतै फिट सिपाही हुनुहुन्थ्यो । पल्टनमा हुँदा राम्रो बक्सिङ खेलाडी । छोटो समयमा नै नायक हुनुभएको रहेछ । दोस्रो विश्व युद्ध सकिएपछि घर छुट्टी आउँदा परिवार र आफन्त सबैले नफर्किन अनुरोध गरेका थिए रे । तर घरको कान्छा छोरा भएर पनि होला, अलि जिद्दी नै हुनुहुँदो रहेछ । मान्नुभएन छ। सबैको अनुरोधका बाबजुद गएर एक वर्षपछि पेन्सनर भएर फर्किनुभयो । अनि मात्रै आमाबुवालाई ढुक्क भयो ।
सन्तानले डाँडापाखा ढाकुन् भन्ने जमानाको मान्छे, आशीर्वाद नै लागेको रहेछ बाजेलाई ६ भाइ छोरा र तीन बहिनी छोरीको बाबु बन्नुभयो । खेतीकिसानी र पशुपालन नै घर धान्ने आम्दानीको मुख्य स्रोत थियो । पेन्सन त हात्तीको मुखमा जिरा जस्तै हुन्थ्यो ।
बाजेको आफ्नै कडा ‘प्रिन्सिपल’ थियो। खानामा धान, चामल, मकै, कोदो आफ्नै बारीमा उब्जाएर खानुपर्ने । गाउँघरमा त्यो बेला किनेर खानेलाई खिस्स्याउने चलन थियो । बाजेको चाहना १०० मुरी धान फल्ने खेत बनाउने थियो । यो रहर पूरा गरेरै छाड्नुभयो । छोराछोरीको बन्दोबस्त सहरमा पहिले नै भइसकेको थियो । तर बाजेको अठोट गाउँको घरमा नै अन्तिम श्वास लिने, सहर बजार कुनै हालतमा नबस्ने थियो ।
आखिरमा बाजेले आफ्नो अठोट पूरा गर्नुभयो, २३ अक्टोबर २०१६ बेलुका सात बजे । ४० जना परिवार सँग बिदा लिएर ९७ वर्षको उमेरमा सदाको लागि भगवान्को शरणमा जानुभयो। सधैँ सन्तानको भलो चाहने, मिहिनेती र अर्ग्यानिक खानामा मात्र विश्वास राख्ने उहाँको बानी थियो ।
सिकार खेल्ने मुख्य सोख (होबी) थियो । सिकार गर्ने क्रममा मृगका सिकारीले कान्छाबाजेतिर बन्दुक सोझ्याएको रहेछ । शरीरमा गोली लागेपछि उहाँ धेरै वर्ष थलिनुभयो । किनभने, त्यो बेला उपचारको राम्रो प्रबन्ध थिएन ।
साना–साना बच्चासँग जिस्किनु पर्ने, सबैको निक नेम राख्दिने मिजासिलो स्वभाव थियो । राजनीतिमा पनि चासो राख्नुभयो । पञ्चायत कालमा वडाध्यक्ष पनि भएर समाजको सेवा गर्नुभयो ।
म प्राइमरी स्कुल पढ्ने बेला तिर बाजेले ‘ए मास्टर मेरो घडी मिलाई दे त’ भन्नुहुन्थ्यो । त्यो बेला बेट्रीवाला घडी थिएन । दम दिनु पर्थ्यो। स्कुलमा राम्रो पढ्नेलाई मास्टर भन्ने चलन रहेछ । म राम्रै विद्यार्थी थिएँ । मेरो एसएलसी सकिएपछि त्यही स्कुलमा पढाउन सुरु गरेँ । नातिले स्कुलमा पढाएको देख्दा बाजे अति नै खुसी हुनुभयो।
उहाँले त्यसबेला ‘तँ त पक्का मास्टर भयो होइन’ भन्नुभएको भर्खर जस्तो लाग्छ । त्यो क्षण सम्झनामा ताजै छ । मानिसको जीवन एउटा लामो कथा हो जस्तो लाग्छ मलाई । जसरी बाजेले पनि कथा छाडेर जानुभएको छ । उहाँ हामीबाट बिदा हुनुभएको पनि नौ वर्ष भएछ । बाजेप्रति हार्दिक श्रद्धाञ्जली!
सिधाने, हाल फार्नबोरो बेलायत