लन्डन । तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष हुन्, जुमकाजी गुरुङ । गुरुङको जन्म नेपालको साबिक धौलागिरी अञ्चल, पर्वत जिल्ला, भुक्कताङ्ग्ले गाउँमा पिता स्व. सुनार गुरुङ र माता मनसुवा गुरुङको कोखबाट २०१८ सालमा भएको हो । दुई जना दिदी पछि जन्मेका र एक बहिनी भएकाले परिवारमा सधैँ मायाको घेरामा हुर्किएका थिए । प्रारम्भिक शिक्षा गाउँकै सिद्ध प्राथमिक विद्यालयमा पुरा गरी बाबाआमाका साथ पोखरा रामबजार-१० मा बसाइँ सरेर आएका थिए । त्यसपछि जनप्रिय निम्न माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालयमा अध्ययन गरी २०३५ सालमा एसएलसी उत्तीर्ण गरे । गुरुङहरूको परम्परालाई पछ्याउँदै २०३६ सालमा ब्रिगेड अफ गोर्खाजमा भर्ती भए ।
ब्रुनाईको गर्मीमा कडा रेक्रुट ट्रेनिङ सफलताका साथ सकाएर क्विन्स गोर्खा ईन्जिनियर्स हङकङमा सेवा सुरु गरे । सन् १९८४ सालमा वैवाहिक जीवनमा प्रवेश गरे । १८ वर्ष लामो सेवा गरी सन् १९९७ सालमा सेनाबाट अवकाश लिए । सेवामा रहँदा र सेवापछि झन्डै २० वटा देशको भ्रमण गर्ने सौभाग्य मिल्यो। हङकङ, ब्रुनाई, फिजी, मलेसिया, बेलिज, यूएसए, क्यानडा, केन्या, यूके, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेल्जियम, फोकल्यान्ड आइल्यान्ड्स, एसेन्सन् आइल्यान्ड र साईप्रस घुम्ने मौका जुर्यो ।
सेनाबाट अवकाश पछि काम, परिवारको हेरचाह र सामाजिक क्षेत्रमा निरन्तर लागिरहेका छन् । सन् २००६ सालमा बुवा सुनार गुरुङको देहान्त पछि घरको अभिभारा समाल्दै आमालाई १४ वर्ष आफैसँग बेलायतको रमाइलो वातावरणमा पालेका थिए । आमाको २०२० सालमा देहान्त हुँदा उनको परिवारले ठूलो क्षति बेहोर्नु पर्यो । परिवारमा श्रीमती कमला गुरुङ, छोरा, छोरी ज्वाइँ, नाति र नातिनी रहेका छन्।
सामाजिक क्षेत्रमा होमिएपछि तमु धीं यूकेमा आबद्ध भएर लामो समय सक्रिय रहे । त्यही भएर होला उनको कामको मूल्यांकन भयो । र तमु धीं यूकेको २५ वर्षे इतिहासमा ‘तमु आदर्श अवार्ड’ पाउने पहिलो अध्यक्ष बने ।
तमु धीं ह्याम्पसायर इकाईको सदस्यबाट आबद्धता सुरु गर्दै उपाध्यक्ष, अध्यक्षमा दुई कार्यकाल पूरा गरी तमु धीं यूकेको कोषाध्यक्ष समाले । उपाध्यक्षको दुई कार्यकाल र वरिष्ठ उपाध्यक्षको एक कार्यकाल पूरा गरेपछि १३औँ कार्य समितिमा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन् । विगतकामा ल्होछार, नेपाली मेला र गोर्खा कपको दुई–दुई पटक संयोजकको भूमिका सफलतापूर्वक निभाएको अनुभव छ । गुरुङ कोषाध्यक्ष हुँदा तमु धीं यूकेले नेपालमा गएको महाभूकम्प बेला १ करोड ५० लाख रुपैयाँ उठाउन सफल भएको थियो । त्यसमध्ये १ करोड ११ हजार १११ रुपैयाँ एनआरएनए आईसीसीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । बाँकी रकम धादिङको रुबीभ्याली गाउँपालिका खादिङको विद्यालयलाई ५ कोठे भवन निर्माण गर्न सहयोग गरिएको थियो । जुमकाजीले परोपकारी क्षेत्रमा पनि धेरै सहयोग गरिसकेका छन् ।
उनी तमु धीं बाहेक १ दर्जन संस्थामा अबद्ध छन् । ताङ्ग्ले समाज यूकेका अध्यक्ष, राम बजार सोसाईटी यूकेका भुपू अध्यक्ष, तमु फोरम यूकेका कोषाध्यक्ष, लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपालका संरक्षक, गुरुङ साहित्य मञ्च नेपालका सदस्य, तमु संसार यूकेको प्रयोजक, एनआरएनए यूकेका सल्लाहकार, ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार, तमु कलाकार संस्कृति मञ्च यूकेका सल्लाहकार, सहारा यूकेका सल्लाहकार पनि रहेका छन् ।
सामाजिक कार्यमा रातदिन दौडिरहे पनि उनी स्वास्थ्यलाई पनि उत्तिकै ख्याल गर्छन् । व्यस्तताबीच समय निकालेर स्वस्थ रहन दौडिरहन्छन् । रेड मिट खाँदैनन् । फुटबल मन पर्ने खेल हो । लिभरपुलका फ्यान हुन् । फुर्सदमा किताब पढ्ने बानी छ । नेपाली साहित्यमा सरुभक्त श्रेष्ठका किताब मन पर्छ, उनलाई । ‘पागल बस्ती’ सबैभन्दा मनपर्ने पुस्तक हो ।
भर्खरै डा. महाबीर पुनको ‘सम्झना, सपना र अविरल यात्रा’ पढिसकेर डा. ओम मूर्तिको ‘जीवन सम्बन्ध’ पढ्दै छन् । करेन्ट अफेयर्समा पनि चासो छ । हँसिलो, सजिलै सबैसँग घुलमिल हुनसक्ने, परोपकारी भावना प्रशस्त भएको र अनुभवी व्यक्तित्व हुन् जुमकाजी गुरुङ । उनको नेतृत्वमा संस्थाले अझ नयाँ उचाइ लिने आशा गर्न सकिन्छ ।