लन्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो ।
सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ ।
यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता 'नेपाली' बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो । एक दशकमा ती दुई मुलुकहरूमा नेपालीहरूको संख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार रसमोर नेपालीहरूको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्र कायमै रहेको छ जहाँ नेपालीहरूको संख्या १० हजार ५७५ पुगेको छ ।
सन् २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली थिए । त्यसपछि दक्षिण पूर्वी लन्डनको ग्रीनीच नेपालीहरूको दोस्रो घना बस्ती रहेको क्षेत्रमा कायमै छ जहाँ नेपालीहरूको संख्या ७ हजार ६४९ रहेको छ । सन २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्याङ्क थियो । त्यसपछि रेडिङ नेपालीहरूको अधिक बसोबास रहेको तेस्रो स्थान बनेको छ जहाँ नेपालीहरूको जनसंख्या ५ हजार ३४४ देखिएको छ । सन् २०११ को जनगणनामा रेडिङ २ हजार ७३५ नेपालीको जनसंख्यासहित चौथो स्थानमा थियो । सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको देखिएको छ ।
तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी रहेको पाइएको छ । सिएनएस युकेका पूर्व कार्यकारी निर्देशक डा कृष्ण अधिकारी जनगणनामा नेपालीहरूको संख्या उल्लेख्य वृद्धि हुनुमा पाँचवटा कारण प्रमुख ठान्छन् । पहिलो, बेलायतमा जन्मिएका पहिलो पुस्ताका बेलायती नेपाली ।
दोस्रो, सन् २००९ मा गोरखा भूतपूर्व सैनिकहरूलाई बेलायतको आवासीय अधिकार दिइएपछि गोरखा परिवारमा आश्रित बयस्कहरूको बेलायत प्रवेश । तेस्रो, हङकङमा रहेका ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) राहदानीवाहकहरूलाई बेलायतको उदार आवासीय नीति । चौथो, युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरू ब्रेक्जिटपछि युरोपियन युनियनभित्रका बासिन्दालाई बसोबास रोज्न दिइएको ग्रेस अवधिअन्तर्गत बेलायतमा बसोबास गर्नु । पाँचौँ, बेलायतमा उच्च शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अनपाइएको खुकुलो नीति ।
यसका साथै सन् २०११ को जनगणनाको बेलायतका नेपालीको अनुभव र बेलायतको नेपाली समुदायमा जनगणनाप्रति आएको चेतना तथा प्रमुख संघसंस्थाहरू नै जनगणनाको अभियानमा सामेल हुनुले पनि नेपालीको संख्या बढेको हुनसक्ने अधिकारीको भनाइ छ ।
यद्यपि बेलायतमा जातीय अल्पसंख्यकहरू जनगणनामा छुट्न सक्ने ठूलो सम्भावनालाई हेरेर विभिन्न उपायहरू अपनाइए पनि अझै १० देखि १५ प्रतिशत नेपालीहरू जनगणनामा छुटेको हुनसक्ने सिएनएस युकेको विश्लेषण छ । त्यसको आधारमा बेलायतमा नेपालीहरूको विद्यमान जनसंख्या १ लाख २५ हजारदेखि १ लाख ५० हजार सम्म रहेको सिएनएस युकेको आँकलन छ ।
बेलायतका चार राज्यहरूमध्ये स्कटल्यान्डमा कोभिड महामारीका कारण गत वर्ष जनगणना हुन सकेन र यस वर्ष मात्र सम्पन्न भएको छ । उता उत्तरी आयरल्यान्डमा गत वर्ष नै जनगणना भएपनि जनगणनाको जातिगत तथ्याङ्क विस्तृतरूपमा सार्वजनिक भइसकेको छैन । तथापि त्यहाँ पनि नेपालीहरूको संख्या इङ्ल्यान्ड र वेल्सकै अनुपातमा वृद्धि भएको हुनसक्ने सम्भावना छ । सन् २०११ को जनगणनामा स्कटल्यान्डमा नेपालीको जनसंख्या १ हजार २६८ मात्र थियो भने उत्तरी आयरल्यान्डको संख्या उपलब्ध थिएन ।
नेपालीहरूमा एकातिर आफ्ना आफन्त र साथीहरू पहिले नै बसोबास गरिरहेको ठाउँमा बसाइ सर्ने प्रवृत्ति रहेको छ भने अर्कोतर्फ जनगणनापछि पनि अन्तर्राष्ट्रिय विद्यार्थी, वर्क पर्मिटलगायतको बाटोबाट नेपालीहरू बेलायतमा प्रवेश गरिरहेकाले आगामी दिनमा पनि बेलायतमा नेपालीहरूको संख्या बढ्न सक्ने देखिन्छ ।
नेपाली भाषा बोल्नेको संख्या ७४ हजार
यसैगरी, इङ्ल्यान्ड र वेल्समा नेपाली भाषा मूल भाषा हुनेहरूको संख्या करिब ४१ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ को जनगणनाअनुसार नेपाली भाषा बक्ताको संख्या ७४ हजार ३६८ पुगेको छ । सन् २०११ मा सो संख्या ५२ हजार ७८५ मात्र थियो । नेपाली भाषा इङल्यान्ड र वेल्समा २१औँ स्थानमा परेको छ । गत जनगणनामा पनि नेपाली भाषा सोही स्थानमा रहेको थियो ।
सन् २०११ मा सिएनएस युकेको निरन्तरको पहलपछि ओएनएसले नेपालीलाई साना अल्पसंख्यक जातीय समुदायको अध्ययनमा समावेश गरेको थियो र यस वर्ष पनि नेपालीलाई सो अध्ययनमा समावेश गरेको छ । जसको नतीजा केही समयपछि बाहिर आउने बताइएको छ । ओएनएसबाट भविष्यमा थप तथ्याङ्कहरू सार्वजनिक भएपछि बेलायतमा नेपाली समुदायको बारेमा भइरहेका परिवर्तनहरूका बारेमा अध्ययन गर्न सजिलो हुनेछ ।