पोखरा । तमु समुदायको पुरानो एवं अग्रणी संस्था तमु धीं नेपाल माछापुच्छ्रे गाउँपालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ ।
संघीय संरचना अनुसार संस्थाको संरचना बिस्तार गर्ने उद्देश्यले आयोजित संस्थागत एवं सामाजिक क्षेत्रका अगुवाको भेलाले ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सचिवमा प्रचण्डशक्ती गुरुङ तथा सदस्यहरूमा अनुप गुरुङ, सन्दिका गुरुङ, अमुलप्रसाद गुरुङ, चिजबहादुर गुरुङ, राजु गुरुङ, राकेश गुरुङ, दानबहादुर गुरुङ, विश्वास गुरुङ र अनीश गुरुङ रहेका छन् ।
गठित आयोजक समितिले मंसिर मसान्तभित्र बृहत् कार्यक्रम आयोजना गरी तमु धीं नेपाल माछापुच्छ्रे गाँउपालिका समिति बिधिसम्मत गठन गर्नेछ। भेलाका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले तमु एकताले सबैको हित हुने बताउदै तमु धींले संगठन निर्माण र प्रशिक्षण अभियान आफ्नै पालिकाबाट सुरु गरेकोमा खुसी व्यक्त गरे । आफ्नो र पालिकाको तर्फबाट तमु धींको अभियानमा साथ रहने प्रतिबद्धतासमेत उनले जनाए ।
नवनिर्वाचित संयोजक दुर्गाबहादुर गुरुङले सम्पुर्ण माछापुच्छ्रे गाउँपालिकाका गुरुङ समुदायलाई संगठित गरी अधिकार सुनिश्चित गर्न जुट्ने प्रतिबद्धता जनाए । पोखरा-२५ याम्दीस्थित रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैगीलामा समाजघरमा आयोजित कार्यक्रममा नाथु प्रल्हाद ङेह्रो पैगीलामा परिवारका महासचिव यामबहादुर गुरुङले शुभकामना व्यक्त गरेका थिए । तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, महासचिव जुनाकुमारी गुरुङ र केन्द्रीय सदस्य कृष्णकुमार गुरुङले भेलाको उद्देश्य, तमु एकता, सामुदायिक अधिकार, विधानमा व्यवस्था लगायतका बारेमा प्रस्ट पारेका थिए ।
महासचिव जुना गुरुङले कार्यक्रम सञ्चालन गरेको कार्यक्रम तमु धीं अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता भएको थियो । हरिमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।