काठमाडौँ । दुई दिनदेखिको वर्षाका कारण कैलालीमा एक हजार ५८ घरधुरी डुबानमा परेका छन् । तीमध्ये १९ घरधुरीका १०२ व्यक्ति विस्थापित भएका छन् ।
भजनी नगरपालिका–३, ४, ५, ८, ७ र ९ नं वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगंगा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिए ।
भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका छन् । विस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीका १० परिवारलाई वडा कार्यालयमा र अन्यलाई सुरक्षित स्थानमा सारिएको छ ।
डुबान प्रभावित परिवारले खानेपानीका लागि प्रयोग गर्दै आएको ट्युब वैलसमेत डुबानमा परे खानेपानीको समस्या भएको छ । खानेपानीको समस्या समाधान गर्न जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा खानेपानी उपलब्ध गराउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीबाट डुबान प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाको उद्धार गरिरहेको छ । डुबानको जोखिम अझै रहेकोले सुरक्षाका उपाय अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । कटैनी, शिवगंगा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीको बाढी बस्तीमा पसेपछि डुबान भएको हो।