लन्डन । गोर्खा नेपाली नागरिकता निरन्तरता समिति (सीएनसीबीजी)को वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत आइतबार भर्चुअल माध्यमबाट भएको साधारणसभामा ब्रिटिस गोर्खाका सन्ततिलाई कसरी मातृभूमिसँग जोड्ने र त्यसका लागि कस्ता कार्यक्रम चलाउनेलगायत विषयमा छलफल भएको थियो ।
संस्थाका अध्यक्ष थर्क रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव भक्त रानाले सञ्चालन गरेका थिए । दिउँसो १२:१५ बजे सुरु भएर बेलुका सात बजेसम्म कार्यक्रम चलेको थियो ।
सुरुआतमा कोषाध्यक्ष भीम रानाले संस्थाको विधान बनाएर ‘नन् प्रोफिट अर्गनाइजेसन’का रूपमा दर्ता गर्नुका साथै बैंकखाता खोलेको जानकारी गराए । संस्था दर्ता गर्नु मात्र ठूलो कुरा नभई यसले पुस्तौँसम्म ब्रिटिस गोर्खाका सन्ततिलाई कसरी आफ्नो मातृभूमिसँग जोड्ने भन्नेकुरा महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । यो उद्देश्य पूर्तिका लागि समय लाग्ने भएकाले हुनाले सबै गोर्खाले सदस्यता लिएर संस्थामा आबद्ध हुन कोषाध्यक्ष रानाले अनुरोध गरे ।
सहकोषाध्यक्ष याम थापाले संस्थाले हालसम्म गरेका कार्यको फेहरिस्तसहित आयव्यय विवरण प्रस्तुत गरे । उपाध्यक्ष शोभराज घोताने गुरुङले गोर्खा र निजका सन्ततिको वंशजको नागरिकताको निरन्तरता गराउनु नै संस्थाको मुख्य उद्देश्य रहेको बताए । ‘त्यो भनेको सधैँभरीको नेपाली हुनु हो । त्यसैले वर्षमा एक पटक नयाँ वर्ष त मनाउनु पर्यो,’ उनले भने, ‘त्यसैले प्रत्येक वर्ष यही समय नेपाली नयाँ वर्ष र सीएनसीबीजी डे एकैपल्ट मनाउँदा र त्यसै दिनमा वार्षिक साधारणसभा गर्दा ठिक हुन्छ।’ भेलाले उनको यस प्रस्तावलाई पारितसमेत गरेको छ ।
अर्का उपाध्यक्ष दलबहादुर बुढाथोकी मगरले हालसम्म बुझाएको ज्ञापनपत्रबारे सरकारले प्रतिक्रिया नदिएकाले अब त्यसको जवाफ माग्ने बताए । गोर्खाहरूको बाक्लो बस्ती भएको ठाउँमा कार्यक्रम गरेर यसबारे बुझाउन आवश्यक रहेको उनको भनाइ थियो ।
सचिव तथा वरिष्ठ अधिवक्ता चेत आलेले आफू पनि गोर्खा परिवारसँग सम्बन्धित भएको हुनाले गोर्खाको समस्या नजिकबाट बुझेको बताए । छलफलबाट आफू प्रभावित भएको र समस्या समाधान नहुँदासम्म सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल सरकार तथा संसदहरूले पनि गोर्खाका मागमा चासो नदिएको उनको भनाइ थियो । ‘गोर्खाको समस्या समाधानका लागि अधिवक्ताको एउटा टिम गठन गर्न गइरहेका छौँ । गोर्खा र गोर्खाका सन्ततिलाई कुनै समस्या परे सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने ।
संसार हल्लाएर बहादुरी कमाएका गोर्खाहरू सानोतिनो समस्या आइपर्दा भित्रभित्रै मिलाउने गरेकोतर्फ इङि्गत गर्दै त्यसले वंशजको नागरिकता निरन्तरताको मुद्दामा भने असर गर्ने बताए । ‘त्यसो नगर्नुहोला । त्यसले गोर्खाको मुद्दालाई अझ कमजोर बनाउँछ,’ उनले भने, ‘त्यसैले आउनुहोस्। समस्या बताउनु होस् । अब लुकेर होइन, सशक्त आन्दोलनका ठोस कार्यक्रम ल्याएर अघि बढ्नु जरुरी छ।’
विभिन्न अभियन्ताले उठाएको प्रश्नको जवाफ भूपू सैनिक कल्याणकारी समितिका सचिव वरिष्ठ अधिवक्ता चेत आले र अध्यक्ष थर्क रानाले दिएका थिए ।
अन्त्यमा अध्यक्ष रानाले साधारणसभामा उपस्थित अभियन्तालाई धन्यवाद दिँदै सीएनसीबीजी आफ्नो मुद्दामा स्पष्ट रहेको बताए ।
‘हाम्रो माग नेपाल सरकारसमक्ष दर्ज गरिएको छ । जसलाई सम्बोधन नगरिए जस्तोसुकै कदम चाल्न परे पनि हामी तैयार छौँ,’ उनले भने, ‘बेलायतमा रहेका एक लाख ५० हजार गोर्खा नेपालीहरू एउटै मञ्च (सीएनसीबीजी) मा एकताबद्ध हुने र सदन, सडक, न्यालालयसम्म पुग्दा चाहिने आर्थिक सहयोग जुटाउनेमा लाग्नुपर्नेछ ।’