लन्डन । तमु धीं युकेका अध्यक्ष तथा समाजसेवी हरि गुरुङका बाआमाको नाममा स्थापित ट्रस्टबाट नेपालको पर्वतमा बाल उद्यान निर्माण गरिएको छ ।
बुवा स्व. भीमबहादुर गुरुङ र आमा लक्ष्मी गुरुङको नाममा अध्यक्ष गुरुङ र उनका परिवारबाट खोलिएको ‘भीम लक्ष्मी ट्रस्ट’बाट प्रदान गरिने यस वर्षको शिक्षा पुरस्कारबाट पर्वतको महाशिला गाउँपालिका- ५ लामेमा अवस्थित चिसापानी देवी आधारभूत विद्यालयको प्रांगणमा बाल उद्यान निर्माण गरिएको हो ।
एक लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कारबाट निर्मित बाल उद्यानको आइतबार वडाअध्यक्ष चन्द्रबहादुर मल्लले उद्घाटन गरेको अध्यक्ष गुरुङले जानकारी गराएका छन् ।
उद्यानमा एउटा लिर्कनी, एउटा चाकचुली र दुईवटा पिङ पनि निर्माण गरिएको छ । बाल उद्यान निर्माणबारे सामाजिक सञ्जालमार्फत अध्यक्ष गुरुङले प्रसन्नता व्यक्त गरेका छन् ।
‘आज निकै आत्मसन्तुष्टि, खुशी र सुखानुभूति भइरहेको छ ।…आज मेरा पूज्य बुवा स्व. भीमबहादुर गुरुङ र आमा लक्ष्मी गुरुङको नाममा हामी उहाँका सन्तानबाट खोलिएको भीम लक्ष्मी ट्रस्टबाट प्रदत्त यो वर्षको शिक्षा पुरस्कार (जो यस वर्ष एक लाख ११ हजार १११ राशिको थियो) बाट निर्मित बाल उद्यानको समुद्घाटन भयो । यो उद्यान महाशिला गाउँपालिका-५ लामे पर्वतमा पर्छ। जो जो मेरो हजुरआमाको पवित्र जन्मभूमि पनि हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
यसैगरी, वडाअध्यक्ष चन्द्रबहादुर मल्ल, वडासदस्य सूर्य गुरुङ, विद्यालय सञ्चालक समितिका अध्यक्ष लालसिङ गुरुङलगायत सहयोगीहरूलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।
विद्यालयलाई सम्पूर्ण रूपमा शिक्षाको मन्दिर बनाइ पर्वत जिल्लाकै उत्कृष्ट बनाउने शिक्षक र अभिभावकलाई पनि उनले धन्यवाद दिएका छन् ।