जीवन र धर्म हरपल एकसाथ हिँडिरहेको हुन्छ अर्थात् धर्मको आधारमा नै व्यवहारिक जीवन गुज्रिरहेको हुन्छ । साँच्ची नै भन्नु पर्दा मानिस जन्मिँदा अन्य पशुपन्छीसरह अबोध नै जन्मिन्छन् । जब धर्तीमा आएपछि हावा पाउँछ र उ चिच्याउन र कराउन थाल्छन् । बिस्तारै उसले आफ्नो आमा बोलेको सुन्छ, आमाले छोएको थाहा पाउँछ र भोक लाग्दै जान्छ र केही खाने कुराहरु खोज्छन् अनि बिस्तारै उसले आमाको दूध खाना खोज्छन् । आमाको पेट (गर्भ) मा रहँदा पनि आमाले खाएको तत्वहरु नै बच्चाले खाएको हुन्छ । यसरी दिन-प्रतिदिन आमाले छोएको, आमा बोलेको, आमाको दूधको स्वाद, आमाको आवाज, आमाको छायाँ, आमाको बासना, आँखाले नदेखे पनि बच्चालाई थाहा हुँदै जान्छ । एवम्रितले सबै कुराहरु दिनप्रतिदिन परिबर्तन हुँदै जान्छ ।
बच्चाले सबै कुराहरु पहिला आफ्नै आमाबाट सिक्दै जान्छ । आमाले बोलेको भाषा, आमाले गर्ने दैनिकीहरु र आमाले गर्ने व्यवहार तथा क्रियाकलापहरु पनि दिन-दिनहुँ सिक्दै जान्छ । बच्चाका लागि आमाको अर्को नजिक बाबा हो । बाबाको आनीबानी, चालचलन, स्वभाव, हाउभाउ र बाबाले गर्दै आएको दैनिक क्रियाकलापहरु पनि बिस्तारै सिक्दै जान्छ । यसरी बच्चाहरुले प्राथमिक शिक्षा आफ्नै बाबा र आमाबाट पाउँछन् अर्थात् जीवनको सुरुआत आफ्नै घरबाट हुन्छ । अन्य पशुपन्छीहरुको पनि आ-आफ्नै प्रकारका जीवन शैलीहरु छन् । उनीहरुको आफ्नै भाषा तथा संकेतहरु हुन्छन् जुन आफ्नो आमा बाबाहरुले प्रयोग गरेका आवाज तथा संकेतहरु प्रस्ट बुझ्न सक्छन् । तर शारीरिक बनावट र कोशिकाहरूको फरक कारणहरुले गर्दा जति मानिसहरुमा हुन्छ त्यो सबै पशुपन्छीहरुमा हुँदैन ।
मानिसहरुमा गर्भदेखि नै बोल्न सक्ने कोशिका लिएर जन्मिएको हुन्छ र बिस्तारै शारीरिक वृद्धि हुनुका साथै आवाजहरु निकाल्न सक्ने क्षमतामा पनि परिवर्तन हुँदै जान्छ । पशुपन्छीहरुमा पनि यही रितले बढ्दै जान्छ र आफ्नो आमाबाउले निकालेको आवाज तथा संकेतहरु सजिलै बुझ्न सक्ने क्षमता वृद्धि हुँदै जान्छ । यत्तिमात्र फरक छ कि मानिसहरु बोल्छन् र बुझ्न सक्ने शक्ति (ज्ञान) बढी हुन्छ तर पशुपन्छीहरु बोल्दैन र बुझ्न सक्ने शक्ति (ज्ञान) कम हुन्छ । आखिर सबैको आत्म हुन्छ ! भाषा हुन्छ । यसरी बाबा आमाहरुले जुन प्रकारको भाषा-धर्म, संस्कार, संस्कृति परम्पराहरु तथा आवाज, संकेतहरु प्रयोग गर्छन्, त्यही नै आफ्नो बाल-बच्चाहरुले सिक्छन् र प्रयोग गर्छन् । कालान्तरमा गएर त्यही नै मानव जातिहरुको आफ्नो पुर्ख्यौली पेसा, जातीय भाषा तथा मौलिक धर्ममा स्थापित हुन्छ अर्थात् आफ्नो पुर्ख्यौली परम्परा तथा पुर्खाहरुले मान्दै र गर्दै आएका पेसा, धर्म र पर्वहरु नै त्यो समुदायको जातीय धर्म र पर्व बन्छ भने पशुपन्छीहरुमा पनि त्यही संकेत र त्यही आवाजहरु आफ्नो जीविकोपार्जन गर्ने मूल (भाषा) माध्यम बन्छ । यसरी आज मानवहरु यो २१ औं शताब्दीमा आएर आ-आफ्नो पुर्ख्यौली परम्पराअनुसार धर्म, पर्व संस्कृति, संस्कार र रीतिथितिहरु मान्दै आइरहेका छन् र यही कुराहरुले नै आफ्नो जातीय पहिचान बुझाउँछ ।
धर्म र ईश्वर !
छोटकारीमा भन्नु पर्दा धर्म भनेको विश्वास अर्थात् आस्था हो र ईश्वर भनेको हामी स्वयं हौँ । अत: धर्म र ईश्वर सधैं एकै ठाउँमा हुन्छ, त्यसैले ईश्वर खोज्न कहीँ जानु पर्दैन । संसारमा विभिन्न धर्महरु छन् र विभिन्न धर्मावलम्बीहरु पनि छन्, जसमा हिन्दूधर्म, बुद्धधर्म, क्रिश्चियन धर्म, मुस्लिम धर्म ईत्यादि । यी सबै धर्महरु विभिन्न तरिकाले र विभिन्न ठाउँहरुमा स्थापित गरेर भिन्न भिन्दै रुपमा मान्ने गर्छन्, जस्तै हिन्दूधर्म मन्दिरमा, बुद्धधर्म गुम्बामा, क्रिश्चियन् अर्थात् ईसाई धर्म चर्चमा र मुस्लिम धर्म मसमा गएर मान्दछन् । यी भिन्न-भिन्नै धर्मावलम्बीहरुको धर्म मान्ने तरिकाहरुदेखि, धार्मिक विधि, पूजापाठ, अस्त्रबस्त्र र मानसिक सोचाईहरुमा पनि फरक-फरक धारणहरु हुन्छ्न् । यसरी फरक धर्मको फरक सोचाईको कारणहरुले गर्दा व्यवहारिक जीवनमा पनि फरक भएको हामी पाउँछौं ।
उदाहरणका लागि मुसलमान (मुस्लिम) धर्ममा आफ्नै सहोदार अर्थात् आफ्नै वंशभित्र (आफ्नै दाइको छोरा र भाइको छोरी) पनि विवाहवारी चल्छ । यस्तै गुरुङ जातीय (समुदाय) भित्र पनि मामाचेला फुपूचेली अर्थात् आफ्नो सहोदर दाइको छोराले सहोदर बहिनीको छोरी र बहिनीको छोराले दाइको छोरी अथाव छोरासँग विवाहवारी चलाउँछन् । यो गुरुङ समुदाय भित्रका आफ्नै पुर्ख्यौली परम्परा र धार्मिक आस्था हुन् । यसकारण धर्म मान्दैमा के हुन्छ र ! आखिर एउटा धर्म मान्ने त हो भनेर आँखा चिम्लिँदा जीवनशैली नै फरक हुन जान्छ ।
वास्तवमा जुनसुकै धर्म मान्नुस अथवा जुनसुकै तरिकाले मान्नुस्, आखिर ईश्वर सबैको एउटै हो र जुन ईश्वर तपाईं/हामी स्वयं हौं । संसारमा सबै मानिसहरुले दान-दक्षिणा, व्रततब, तीर्थयात्रा, आजापूजा, उपस र भजनकीर्तन गर्छन् यी सबै ईश्वर प्राप्तिको लागि हो । यत्तिमात्र नभएर मानिसहरु मठ-मन्दिरमा गएर मूर्तिमा पूजा गर्छन्, देवीस्थान, देवीदेउरालीमा गएर ढुंगाको शिलामा पूजा गर्छन् र बिहान सबेरै उठेर भजनकीर्तन, जब-तब गर्छन्, यो पनि सबै भगवान् प्राप्तिको लागि हो । यसरी यी नित्यकर्महरु गर्दा आत्मबल र आत्माविश्वास बढ्छ र आफूले केही बहुमूल्य चिज अर्थात् शक्ति प्राप्त गरेको महसुस हुन्छ, मनमा आन्नद मिल्छ र नकारात्मक सोचबाट टाढा हुन्छ । यही नै ईश्वर प्राप्तिको सही दर्शन र अमूल्य आस्था हो ।
आज हामीसँग विभिन्न धार्मिक ग्रन्थहरु र पुरानो इतिहासका दस्तावेजहरु छन् र यही प्रमाणहरुलाई आधार मानेर आज हामीहरु धर्म र ईश्वरमा विश्वास राख्दछौं । तर यी आधारहरु न त कसैले प्रत्यक्षरुपमा देखेका थिए, नत कसैले स्वयं प्रत्येक्ष व्यहोरेका छन् । द्धापर तथा त्रेतायुगहरुमा निर्जीव वस्तुहरु पनि बोल्ने, सुन्ने र बुझ्न सक्ने युग थियो आ-रे । त्रेतायुगमा भगवान् विष्णुले रामचन्द्रको रुप धारण गरेर पृथ्वीमा मनुष्यको चोला लिएर लंकका राजा रावणलाई मारेको रामायणमा उल्लेख छ । त्यस्तै आकाश, पताल र पृथ्वी यी तीनै लोकको अधिपति तथा संहारकर्ताको रुपमा भोलेश्वर (देवताको पनि देवता) महादेवको रुपधारण गरेर कैलाशपर्वतमा बसेको श्री स्वस्थानी व्रतकथामा उल्लेख छ । यसरी धार्मिक ग्रन्थहरुमा उल्लेख भएका सबै देवी-देवताहरुको बारेमा कलियुगको कालखण्डमा आएर ऋषिमुनि (योगी) हरुले लेखेको धार्मिक शास्त्रहरुमा पाइन्छ । तर आज हाम्रो लागि यी सबै अदृश्य, काल्पनिक र चिन्तनमात्र हो । देवी-देवता र आषुर (राक्षस) हरुको कथा-व्यथा (ग्रन्थ)हरु सुनेर-पढेर र हेरेर आज हामी धर्म र पाप के हो छुट्याउने गर्छौं । यही नै आत्मज्ञान हो, ईश्वर प्राप्ति हो । आजको युगमा पनि यस्ता भगवान् तथा आषुर (राक्षस) हरु हामी प्रत्यक्ष पाउँछौं ।
उदाहरणको लागि भगवान् बुद्धको छोटो प्रसंग राख्न चाहन्छु । आजभन्दा लगभग छब्बीस सय वर्ष अगाडि भौतिक सम्पन्न र सुखसयलले भरिपूर्ण राजपरिवारमा हामीजस्तै साधारण मानिसको कोखबाट साधारण मानिसकै रुपमा जन्मेका थिए । भगवान् बुद्ध, तर मानिसमा हुनु पर्ने बत्तीसै लक्षणयुक्त उहाँमा थियो । त्यसैले उहाँलाई मानिसहरुले नै ईश्वरको रुपमा लिन थाल्यो । उहाँले बोलेका शब्दहरु र उहाँले गरेका कामहरु सत्य हुन्थ्यो । उहाँ कहिल्यै झुटो बोल्ने थिएन, अरुको लागि सधै भलो चाहन्थे, पापकर्म कहिल्यै गर्ने थिएन, यी सबै सदगुणहरुले गर्दा उहाँलाई गौतम बुद्ध नामले आज यो संसारमा ईश्वर भगवान्को रुपमा स्थापित भएको छ । बास्तवमा गौतम बुद्ध आकाशमा उड्ने, पतालमा लुक्ने र समुन्द्रको पानी माथि तैरिएर बस्ने अद्भूत शक्ति भएको व्यक्ति पनि थिएन । साधारण हामीजस्तै हिँड्ने, डुल्ने, खाने, बोल्ने र पारिवारिक जीवनशैलीमा भिजिसकेको व्यक्ति नै थिए । आज पनि यस्ता बत्तीसै लक्षणले भरिपूर्ण व्यक्तिहरु छन् भने भोलि उ पनि ईश्वर भगवान्को रुपमा स्थापित हुन सक्छ र दयामाया, ईज्जत-ईमान नभएका र मनमा पापै-पापले भरेका, क्रूर-हत्यारा, पापीहरु नै भोलिका दिनहरुमा राक्षसको रुपमा स्थापित हुने छन् । यसकारण ईश्वर र दानव (राक्षस) खोज्न कहींकतै जानु पर्दैन, यी दुवै स्वयं हामी नै हौँ ।
धर्म र परम्परा !
धर्म, भाषा-भेषा, संस्कृति, रीतिरिवाज र परम्परा नै जातीय पहिचान हुन् । भनाइ छ-“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मान्छे नै हराउँछ” । तर गुरुङ (तमु) हरुले आफ्नो मूलधर्म अर्थात् आफ्नो जातीय धर्म र पर्व कुन हो ? केही अन्योलमा भएको जस्तो लाग्छ । यसकारण सर्वप्रथम त सबै गुरुङ (तमु) हरुले आफ्नो पुर्ख्यौली इतिहास बुझ्न जरुरी छ, जुन मैले माथि पनि केही प्रसङ्ग गरिसकेको छु तथापि पुन: म गुरुङ (तमु) हरुको पुर्ख्यौली इतिहासको बारेमा छोटो प्रसङ्ग जोड्न चाहन्छु । हाम्रा गुरुङ विद्वान् तथा विज्ञहरुको भनाइअनुसार हामी (तमु) हरु हजारौं वर्ष अगाडि चीनको ह्वँङ्गो नदीको किनारबाट बसाइँ सरेर तिब्बत हुँदै उत्तर हिमाली भेग भएर मनाङ हुँदै नेपाल आएका हुन् । यसरी बाहिरबाट आएकाहरु भएर हामी (तमु) हरु आदिवासीहरु हुन् भन्ने भनाइ छ । बाहुन, क्षत्री (आर्य) हरु दक्षिण भारतबाट आएकाहरु हुन् भनेर भूगोलविद् तथा इतिहासकारहरु भन्नुहुन्छ । अन्य जातीयहरु पनि विभिन्न बाहिरी मुलुकहरुबाट विभिन्न प्रकारले नेपाल भित्रिएका हुन् भन्ने भनाइहरु छन् । यसरी सबै जातजातिहरु बाहिरबाट नै आएकाहरु हुन् भने नेपालका मूलवासीहरु को हुन् त ? यो एउटा गहन विषय छ ।
गुरुङ (तमु ) हरुको पुर्ख्यौली इतिहासको टीकाटिप्पणीहरु चिरफार गर्दा हामी चीनबाट तिब्बत हुँदै नेपाल आएकाहरु हुन् भन्ने अड्कल काट्नुभन्दा नेपाल र तिब्बतको सिमानामा हिमालय पर्वतको सेरोफेरोमा बसोबास गर्दा सिकार गर्ने दौरानमा, अन्नपानी बटुल्ने क्रममा अर्थात् जीवन यापनको सिलसिलामा कोही तिब्बत हुँदै चीनतिर गएको हुनु पर्छ र कोही हिमाली र पहाडी भेग हुँदै नेपालतिर झरेको हुनु पर्छ । किनकि हाम्रा पुर्ख्यौली इतिहासहरु नियालेर हेर्दा जङ्गलमै बसेर जङ्गली जनावरहरुको सिकार गर्ने र जङ्गलकै कन्दमुलहरु खाएर जीवनयापन गरेको प्रस्ट देखिन्छ । यस अलावा, हाम्रा धर्म संस्कारहरुमा पनि प्राकृतिक सम्पदाहरुलाई नै देबी देवताको रुपमा पुजेको पनि पाइन्छ ।
उदाहरणको लागि ठूलो ढुंगा, ठूलो रुख, ठूलो खोला, ठूलो पर्वत, आदिलाई देवी देवताको अङ्ग मानेर पूजा गर्ने परम्परा थिए र छन् । यसरी प्राकृतिक वस्तुहरुलाई ईश्वरको रुपमा मान्ने भएकाले यसलाई बोन्पो अर्थात् बोन धर्म पनि भन्दछन् । बोन धर्ममा पनि काटमार (बलीप्रथा) अर्थात् काँचो रगत चडाउने प्रथा प्रचालित भएकाले धेरै जसो नित्यकर्महरु हिन्दु संस्कारसँग मिल्दोजुल्दो छ । यसरी हिन्दुप्रथाहरुसँग धेरै मेल भएकाले र हिन्दु भाषा, वर्ण तथा शारीरिक बनावटहरुमा पनि मिल्दोजुल्दो भएकाले झट्ट हेर्दा गुरुङ (तमु) हरुले मान्दै आएका धर्म-कर्महरु र हिन्दूधर्म अथवा हिन्दु संस्कारहरु धेरै नजिक देखिन्छन् तर केही गहिरिएर हेर्ने हो भने गुरुङ (तमु ) हरुको आफ्नै धर्म-कर्म, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज र आफ्नै मौलिकतामा आधारित प्रथाहरु छन् । यी सबै दृष्टिकोण र प्रमाणहरुलाई केलायर हेर्दा तमु (गुरुङ) हरु आदिवासी पनि होइन र मतवाली पनि होइन, नेपालको ठेट मूलवासीहरु हुन् भन्ने ठोकुवा गर्न सकिन्छ ।
धर्म र अनुशासन !
गुरुङ (तमु) हरुको आफ्नै जातीय चाडपर्वहरु छन् । जस्तै: तमु ल्होछार (पौष १५), माघे सक्रंन्ति (मंङ्गि त्हो ), फाल्गुन पूर्णिमा (खे कु त्हो), गाउँ बार्ने (ट्हो त्हो ), वैशाख पूर्णिमा (खेकु मंङ्गि थेब त्हो), श्रावण संक्रान्ति (क्होईडुलु मार), भदौ पूर्णिमा (ख्योदो म्हंमै त्हो) तथा दशैँ तिहार ईत्यादि । घाँटु, सोरठी, चुड्का (कौडा), झाउरे र गाउँ-गाउँमा गाइने लोकभाकाका गीतहरु गुरुङ (तमु) हरुका मौलिक नाच-गानाहरु हुन् । तर आजको बदलिँदो युगले र पश्चिमी मुलुकहरुको बढी प्रभावले गर्दा आफ्नो मौलिक चाड-पर्वहरु तथा लोक-संस्कृतिहरु बिस्तारै लोप हुने क्रममा गइरहेका छन् । नयाँ-नयाँ प्राविधिक आविष्कार र नयाँ जीवनशैलीले गर्दा पनि कतिलाई आफ्नो पुर्ख्यौली परम्पराहरु र जातीय पहिचान पनि थाहा नहुन सक्छ साथै थाहा भएकाहरुले पनि बेवास्ता गर्दै छन् ।
एउटा उदाहरण- कतिपय हाम्रा गुरुङ (तमु) दिदीबहिनीहरुले तीज पर्व धुमधामका साथ मनाउँछन् । वास्तवमा तीज पर्व गुरुङ (तमु) समुदायले मनाउने पर्व भने पक्कै होइन । तर धर्म स्वतन्त्र हुन्छ र सबैलाई आफ्नो स्वेच्छा अनुकूल धर्म मान्ने नैसर्गिक अधिकार छ तर यही स्वतन्त्रतालाई बेवास्ता गर्दै गयौं भने यसले भोलि आफ्नो जातीय पहिचान पनि गुमाउने सम्भावना हुन्छ । क्षत्री-बाहुनहरुले जबर्जस्ती मान्न लगाएको पर्व भनेर आज कतिपय गुरुङ (तमु) हरुले दसैं, तिहार बहिस्कार गर्न थालेका छन् । यद्यपि यो गर्नु/नगर्नु सायद प्रत्येक मानिसको नैसर्गिक अधिकार हो र मान्नु-नमान्नु आ-आफ्नो ठाउँमा छ तर विशेषगरी यो पर्वसँग आफ्नो पुर्ख्यौली परम्परा र जातीय पहिचान जोडिएको छ वा छैन बुझ्न जरुरी छ । प्रत्येक व्यक्ति, व्यक्तित्वहरु आफूसँग भएको ज्ञान, बुद्धि र प्रतिभा जसरी-तसरी समयको सन्दर्भ मिलाएर अरुलाई बाँड्न चाहन्छन् ।
धर्म-कर्मको विषयमा व्याख्या गर्ने कोसिस गर्छन् । अरु जोकोहीलाई पनि आफूले मान्दै गरेको धर्म अर्थात् आफ्नो विचार र आस्थाप्रति ध्यानाकर्षण गर्न चाहन्छन् । त्यस्तै परे आश र लोभ-लालच् देखाउन पनि पछि पर्दैन । केही गरी मानेन भने अनेकको डर, धम्की तथा मानासिक तनावहरु दिएर भए पनि धर्म परिवर्तन गर्न बाध्य तुल्याउँछन् । उदाहरणको लागि क्रिश्चियन धर्मलाई लिन सकिन्छ । आज संसारमा सम्पत्तिकै बढी होडबाजी चल्छ र सम्पत्तिले नै मान्छे-मान्छेलाई विभाजन गरिरहेका छन् । धनी, गरिब, सानो, ठूलो, इज्जत, बेइज्जत सबै सम्पत्तिकै करामतले हुन्छ ।
पश्चिमेली मुलुकहरुमा बसोबास गर्ने धेरै जसो मानिसहरु क्रिश्चियन धर्मावलम्बीहरु अर्थात् धनाढ्याहरु छन् र उनीहरु आफ्नो धर्म (क्रिश्चियन) लाई विश्वभर फैलाउन चाहन्छन् र विश्वलाई आफ्नो मुठीमा राख्न चाहन्छ । यही उद्देश्यले मानिसहरुको घर-घरमा गएर धर्मको विषयमा लेखिएको पर्च, पम्प्लेट, किताबहरु र मौखिक प्रवचन पनि दिँदै हिँडेको हामी देख्छौँ । क्रिश्चियन धर्ममा आउन इच्छुकहरुलाई आर्थिक प्रलोभनहरु पनि देखाउँछन् र यो बाहेक अन्य अन्धविश्वासका कुराहरु राखेर भए पनि धर्म परिवर्तन गर्न बाध्य बनाउँछन् । यो धर्म मान्यो भने तिम्रो रोग-ब्याधी निको हुन्छ, तिम्रो दु:ख प्रभुको कृपाले हरण गरिदिन्छ इत्यादि ।
दुई छाकको समस्या पर्नेहरु र रोग-ब्याधीले ग्रासितहरु यस्ता लोभ-लालचका आशाहरु देखेपछि मजबुरीले पनि धर्म परिवर्तनतर्फ उत्सुक हुन्छन् र एक दिन आफ्नो कुल अर्थात् वंश नै त्यागेर धर्म परिवर्तन गर्न पुग्छ । सायद यतिबेला सबै मानिसहरु यही सोच्छन् कि ! जुन धर्म लिए पनि आखिर एउटा धर्म मान्ने त हो । तर मैले माथि नै भनिसकेको छु कि धर्मले मानिसको जीवनमा के कस्ता प्रभावहरु पार्छन् र व्यवहारिकतामा के परिवर्तनहरु आउँछ । सायद सुरुमा कसैले सोचेको हुँदैन । गहिरिएर सोच्ने हो भने मानिसको जीवनशैली धर्म र पर्वहरुमा आधारित हुन्छ । धर्म र पर्वहरु बिना मानिसहरु पशुसरह बन्न सक्छ अर्थात् मानिसलाई अनुशासन, मन-मस्तिस्क र पञ्च ज्ञानेन्द्रीयहरु सबै यही धर्म र पर्वले बाँधेर राखेको हुन्छ ।
(यो लेखकको निजी विचार हो)