लन्डन । श्रीस क्रिएटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजना थापा श्रीसलाई ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस)को तर्फबाट स्वागत र बिदाइ गरिएको छ ।
बुधबार फार्नबोरोस्थित गोर्खा भवनमा आयोजित कार्यक्रमबीच संस्थाका अध्यक्ष मे.रि. टिकेन्द्र दल देवान जेपी र मे.रि. कुलबहादुर थापाले खादा लगाइदिए । श्रीमती शोभा राईले फूलको गुच्छा दिएकी थिइन् ।
उक्त स्वागत तथा बिदाइ कार्यक्रममा संस्थाका रामलाल श्रेष्ठ, गजबीर थापा, ओमप्रसाद काउचा, रामधन राई, मिलन तमु र संगीना गुरुङ उपस्थित थिए । कार्यक्रम सञ्चालन संस्थाका प्रवक्ता प्रकाश गुरुङले गरेका थिए ।
यस्तै, सुजनाको परियोजनाका लागि संस्थाका तर्फबाट आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो ।
सोही अवसरमा सुजनाले बीजीडब्लूएसलाई आफैले बनाएको पोट्रेटको कपी दिइन्। कार्यक्रम आयोजना गरेर आफूलाई स्वागत तथा बिदाइ गरेकोमा सुजनाले संस्थालाई धन्यवाद दिएकी थिइन् ।
एनआरएनए युकेको निमन्त्रणामा बेलायत पुगेकी श्रीसले विभिन्न स्थानमा ब्रिटिस गोर्खामा महिलाको भूमिकासम्बन्धी फोटो तथा भिडियो प्रदर्शनी गरेकी थिइन् । उनले गोर्खा सैनिक इतिहासमा महिलाको भूमिकालाई केन्द्रित गरेर फोटो, चित्र तथा उनीहरूका अनुभवका कथालाई कलामार्फत प्रस्तुत गर्दै आएकी छन् ।
गोर्खा सैनिकका भूमिकाबारे चर्चा हुने गरे पनि महिलाको भूमिका ओझेलमा पर्दै आएको छ। सुजनाको प्रदर्शनीले महिलाको जीवन कसरी युद्धसँग गाँसिएको थियो भन्ने देखाउने बताइएको छ ।