लन्डन । कात्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने तिहार पर्वको आफ्नै महत्त्व छ । यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर-घरमा दीप बालेर सजाइने हुनाले केही समययता यो पर्वलाई दीपावली भनिन्छ । तिहारको प्राचीनताबारे पौराणिक आख्यानहरूदेखि हाम्रो संस्कृतिमा तिनले पाएको निरन्तरताले केही न केही इतिहास बताइरहेको छ । यस्तै गौरवपूर्ण इतिहास र परम्परालाई बेलायतमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेका चेलीबेटीहरुले केही वर्षदेखि निरन्तररुपमा कार्यक्रम गरी सभ्य र भव्यरुपमा मनाउँदै आएका छन् ।
आइतबार ५ नोभेम्बर २०२३ मा तमु धिं युकेको भवनमा प्रमुख अतिथि चेलिबेटीका प्रमुख सल्लाहकार समाजसेवी नन्दाकुमारी गुरुङ, मेयर अफ मिडिवे काउन्सिलर नीना गुरुङ, कन्सोर्ट अफ मेयर ताइकाजी गुरुङ, अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, संस्थापक संयोजक तथा संरक्षक क्याप्टेन जीवन गुरुङ, चेलिबेटी प्रमुख चन्द्रदेवी गुरुङ र संस्थापक चेली प्रमुख पूनम गुरुङलगायतको उपस्थितिमा भव्य कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम प्रारम्भ हुनुअघि प्रमुख अतिथि चेलिबेटीका प्रमुख सल्लाहकार समाजसेवी नन्दाकुमारी, मेयर नीनालगायत अतिथिलाई चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ, महासचिव लीना गुरुङ, संस्थापक चेलीबेटी प्रमुख पूनमलगायत दर्जनौंले मिचेट भवनको आँगनबाटै बुकी, फूलमाला, टीकासहित अतिथिहरुलाई हल प्रवेश गराइएको थियो । जुनबेला पाइपर धुनले मन आनन्दित त पार्थ्यो नै, मेयर निना अफिसको फर्मल ड्रेसमा उपस्थित हुँदा आकर्षण थपिएको थियो ।
तिहारलाई झिलिमिली र उज्यालो पर्वको रुपमा लिइन्छ । नभन्दै चेलीबेटीहरुले विभिन्न चिजवस्तु राखेर स्टेजलाई पनि निकै चित्ताकर्षक बनाएर सजाएका थिए । त्यसमा अतिथिहरु डम्म बस्दा झनै सुहाएको थियो ।
पृष्ठभूमिमा तिहार सम्बन्धित गीत गुन्जिएसँगै चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङको सभापतित्वको कार्यक्रमलाई महासचिव लीना गुरुङले अगाडि बढाइन् । विभिन्न संघसंस्थाको अगुवाइ गरिरहेका दाजुभाइहरुको समेत उपस्थिति रहेको कार्यक्रममा कवितात्मक शैलीमा कार्यक्रम संयोजक उपचेली प्रमुख पन्चा गुरुङले स्वागत मन्तव्य गरेकी थिइन् ।
कार्यक्रम हलमा सहभागीहरु बाक्लिँदै थिए । त्यसपछि प्रमुख अतिथि जेष्ठ नागरिक लक्ष्मी कोन्स्यो, मेयर नीना, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्या पिताम्बर र चेलीबेटी प्रमुख चन्द्रदेवी, कन्सोर्ट अफ मेयर ताइकाजी गुरुङ, संस्थापक संयोजक तथा संरक्षक क्याप्टेन जीवन, संस्थापक चेलीबेटी प्रमुख पुनमले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रमका विभिन्न सेग्मेन्टअनुसार प्रमुख अतिथि नन्दा, मेयर नीनालाई चेलीबेटी प्रमुख चन्द्रदेवीबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थापक संयोजक तथा संरक्षक क्याप्टेन जीवनबाट कन्सोर्ट अफ मेयर ताइकाजी, अध्यक्ष क्या पिताम्बरलाई फेटाद्वारा सम्मान गरिएको थियो । विभिन्न संघसंस्थाका अध्यक्षमा नियुक्त दाजुभाइ, चेलिबेटी र ज्वाइँहरु सम्मानित भए । सो अवसरमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र डिजे लेख रानालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष समेत रहेकी संस्थापक चेलीबेटी प्रमुख पुनम, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ, अध्यक्ष क्या पिताम्बरलगायत विभिन्न अग्रहजहरुले शुभकामना मन्तव्य राखेका थिए । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्या पिताम्बरले त झन् दाजुबहिनीको सम्बन्धबारे मजाले प्रस्ट्याएका थिए ।
प्रमुख अतिथि नन्दाकुमारीले पनि संक्षिप्त भनाइ राख्दै सबैलाई आशीर्वाद दिएकी थिइन् । मेयर अफ मिडिवे काउन्सिलर नीनाले आफूलाई भव्य र सभ्य कार्यक्रममा निमन्त्रण गरेकोमा खुसी व्यक्त गर्दै परिवारकै तर्फबाट आयोजकलाई धन्यवाद दिइन् ।
मन्तव्य राखिएसँगै कार्यक्रममा प्रमुख अतिथि, अतिथि, चेलिबेटी प्रमुखलगायतले ‘ह्याप्पी तिहार–२०२३’ अंकित केकसमेत काटेर ‘सेलिब्रेसन’ गरिएको थियो ।
दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार । दुबैले एकआपसमा श्रद्धाभक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर एकआपसमा आयु आरोग्य दीर्घायु होस्, रोगव्याधिले दु:ख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ ।
दाजुभाइ र दिदीबहिनी बीचको सौहार्दता, सद्भाव र घनिष्ट सम्बन्धलाई अरू प्रगाढ बनाउन भाइटीका पर्वको ठूलो भूमिका छ । दिदीबहिनीले आफ्ना दाजुभाइहरूलाई गक्ष अनुसारको कटुस, ओखर लगायतको मरमसला, मिष्ठान्न एवं फलफूलहरू तथा दाजुभाइले दिदीबहिनीहरूलाई हातमा दक्षिणा राखेर खुट्टामा ढोग्ने चलन छ । यस्तो संस्कृति विश्वमा दुर्लभमात्र होइन, छँदै छैन भने हुन्छ ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरुले पनि सप्तरंगी टीका, फूलमाला, ढाकाटोपी, मरमसला, मिष्ठान्न एवं फलफूलहरू दिएका थिए । टोकाटालोपछि चेलीबेटीले देउसी भैली भट्टाए भने, तिहार गीतमा रमाए । सामूहिकरुपमा दाजुभाइले चेलीबेटीलाई ३५ सय पाउण्ड दक्षिणा प्रदान गरे ।
संस्थाको नेपालस्थित केन्द्रलाई जग्गा खरिद र भवन निर्माण सहयोगार्थ मेयर नीनाले १ हजार पाउण्ड सहयोग गरेकी थिइन् । सोही अवसरमा मेयर गुरुङले संस्थाको आजीवन सदस्यतासमेत लिइन् ।
दाजुभाइ, भाउजु, बुहारीहरु र दिदीबहिनीहरुलाई समेत विभिन्न संघ संस्थामा नेतृत्व प्राप्त भएको, सम्मान र पुरस्कृत भएकोमा चेलिबेटीको तर्फबाट खादा, माला पछ्यौरीले सम्मान गरिएको थियो ।
कार्यक्रममा गोर्खा दरबारले प्रबन्ध गरेको खानपिनमा दाजुभाइ, दिदीबहिनी उत्साही बनेर सहभागी बनेका थिए ।
चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले चेली र माइती भेट हुन पाउँदा खुसी र आनन्द लागेको बताउँदै सबैलाई बधाई तथा शुभकामना दिइन् । उनले आफूलाई कार्यक्रममा भावुक बनाएको समेत बताइन् ।