पोखरा । जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा कम्तीमा ८० जनाको मृत्यु भएको छ । यस्तै, १ सय ४० जना घाइते भएका छन् ।
जाजरकोटमा मात्रै हालसम्म ४४ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोश रोकाले जनाए । भूकम्पले नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ ।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना छन् । भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएका छन् । उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।
जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् ।
उद्धारका लागि तीनवटै सुरक्षा निकाय सक्रिय छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।
जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प भएको हो ।