समाज, समुदायहरुबाट धर्म, संस्कृति र चाडपर्वहरु बने । यी धर्म, संस्कृति र चाडपर्वहरु नै जातीय चिनारी हुन् । यी चाडपर्वहरुमध्ये गुरुङ (तमु) हरुले मान्दै आएको दसैं पनि एक हो ।
हिन्दू राजाबाट जबर्जस्त लादेको भनी केही (गुरुङ) तमुहरुले दसैं मान्न छोडेका छन् । दसैं हामी तमुहरुको चाड हो वा होइन भन्ने भ्रम छ । भ्रम छिट्टै निवारण गर्नु पर्दछ । दसैं मान्नु, नमान्नु ठूलो विषय होइन तर हाम्रो जातीयताको पहिचान हो वा होइन छुट्ट्याउनु ठूलो कुरा हो । भाषा, धर्म र संस्कृति मेटिए जातीयता मेटिन्छ । भनाइ छ, शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मान्छे नै हराउँछ । अत: हाम्रो पर्व भए किन नमान्ने ? हिन्दूले मानी आएको दसैं र गुरुङ (तमु) हरुले मान्दै आएको दसैंमा फरक छ । हिन्दूहरुले आश्विन शुल्कपक्ष प्रतीपदाको दिन ज्योतिषीले समय निकाली विधिवत् पूजा गरी घटस्थापनादेखि नवरात्रभरि नौवटा बली दिइन्छ ।
नसक्नेले अष्टमीको दिन बली दिन्छ । कुभिण्डो, घिरौंला र फर्सी आदि फलफूलको समेत बलि दिइन्छ । तर गुरुङ (तमु) हरुको परम्पराअनुसार आश्विन शुक्ल (औँसी) का दिनमा घरकी आमाले सकेसम्म रुखको पात अथवा केराको पात (टपरी) मा मकैको जमरा राख्दछ्न । अष्टमीको रातमा चोखो भात, पानी, जाँडरक्सी, दूध र खोटी नभएको असला माछा राखेर अर्घौं गरिसकेका पितृहरुको नाममा घरमा रगत र मासु नहुलेको समयमा तपाईंहरुलाई पूजा गरेको छु, तपाईंहरु चोखो खाना (फ्युँई कैंई) खानुस् भनेर प्रत्येक पितृहरु (खेमा)को नाम पुकारी धुप बत्ति बालेर पूजा गर्छन् ।
गाउँका प्रमुख व्यक्तिलाई क्रबा भनिन्थ्यो । क्रबाको आँगनमा अथवा गाउँको माझमा खतुकी बापतीलाई बाँध्न र चाडपर्वहरुमा भैंसी, राँगा र बोकोहरु बाँधेर काटन थ्हो (खाँबो) गाडिएको हुन्छ । फूलपातिको दिन गाउँलेहरु सबै मिलेर यही खाँबोमा बाँधेर भैंसी, राँगा र खसी-बोकाहरु काट्छन् र रुखका स्याउलाहरु विछ्याएर मासुको भागहरु लगाउँछन् ।
सक्नेले मासुको पैसा त्यही खालमा बुझाउँछन् भने नसक्नेहरुले पछि बुझाउने भाकामा उधारो लगेर पनि दसैंमा सबैले मासु र भात खान्छन् । दसैंमा ईस्टमित्र पाहुनाहरु बढी आउने जाने भएकोले खान-पिउनमा भाडाहरु नपुग हुने र खसी बोकाको मासुमा बढी बोसोले गर्दा भाडा माझ्ना गाह्रो हुने हुँदा वन केराको पातहरु चलाउने चलन थियो । त्यसैले दसैं आगवै केराको पातहरु टिपेर मुठो बनाई आफूभन्दा मान्यजनहरुलाई दिने चलन थियो । त्यसबापत लकैँ (पातको भात) भनेर पात दिनेहरुलाई एकछाक भात खुवाउने चलन पनि थियो । माइती घर आउन नभ्याएका चेलीबेटीहरुलाई दसैंको भाग भनी चामल, मासु, जाँड-रक्सी र एउटा मजेत्रो (क्रमु) दसैंको भोलिपल्ट पुर्याइदिने चलन छ । विजयादशमीको दिन आफ्नो घरको ठूलो बडाहरुबाट टीका लगाएपछि गाउँका आफूभन्दा ठूलाबडाहरुबाट पनि टीका लगाउने चलन छ । तर आज-भोलि यो चलन सहर बजार तथा कुनै-कुनै गाउँहरुमा हटिसकेका छन् भने बिकट गाउँहरुमा भने यथावत नै भएको पाइन्छ ।
हिन्दुहरुले बसन्त ऋतुमा रामचन्द्र जन्मेको उपलक्ष्यमा एक दिन चैत दसैं मान्दछन् । बसन्तऋतुमा गर्मीयाम भएको हुनाले र खाद्य पदार्थको पनि अभाव हुने हुँदा ऋषिमुनिहरुले शरद ऋतुमा दसैं मनाएका हुन् भन्ने उल्लेख पनि कताकति पाइन्छ । यही शरद ऋतुमा मनाइने दसैं घटस्थापनाका दिन बिधिपूर्वक जमरा राखी दस दिनसम्म मनाइने हुँदा दसैं भनिएको हो अर्थात् अष्टमी जाँदो नवमी तिथिको प्रारम्भको समयमा देवी भगवतीले महिषाशुर राक्षसलाई मारेको हर्षमा दसैं मनाएको पनि भनिन्छ । तर आजभोलि केही गुरुङ (तमु) हरु भने भूत मारेको उपलक्ष्यमा दसैं मनाएका हुन् भन्ने बुझाई राख्दछन् । गुरुङ (तमु) हरुले परापूर्वकालदेखि नै दसैं मान्दै आए पनि आफ्नै रीतिथितिमा मान्दै आएको पाइन्छ । अत: हिन्दु रितमा मान्ने दसैं र गुरुङ रितमा मान्ने दसैंमा फरक छ ।
हिन्दुले लादेको दसैं प्रथा:- लमजुङका राजा यसोब्रम्हशाहका पालामा गुरुङ (खे) जिज्युहरुलाई लमजुङ दरबारमा बोलाएर धर्मसभा गरियो । तिमीहरुले धर्म छोड्यौ भने म पनि कालुशाह जसरी मारिने छु, तिमीहरुले धर्म राखी दियौ भने म राजा हुने छु । के भन्छौ भनी आज्ञा हुँदा, हाम्रो (खे) जिज्युहरुले महाराजबाट थिति बक्स भए हामी राजा मान्छौ भने । राजाले भने, त्यसो भए तिमीहरुले पहिले चलिआएको कुल धर्म, लामा, घ्याब्री र प्हच्युबाटै गराउनु, उपाध्याय ब्राह्मण राखी खाडो जगाई मौलो पूजा गरी दसैं मान्नु भनी आज्ञा भयो । वि. सं १८६५ को लालमोहरअनुसार लामा, घ्याब्री हटाई पूरोहित राख्नेमा गुरुङ (तमु) हरु राजी भएनन् र सलामी रोकेर बसे । जङ्गबहादुर राणाले नेपाल एकीकरण गरेपछि सबै नेपालीहरुले हिन्दुहरुको महान् पर्व बडादसैं मान्नु पर्ने हुकुम भयो । दसैं मान्यो वा मानेन भनेर दसैंमा काट्ने बलीको रगतले घरको भित्ता अथवा ढोकामा पञ्जाको छाप लगाई देखाउनु पर्ने भो । यसरी हिन्दु विस्तारवादको ठूलो प्रभावले पनि दसैं मान्न बाध्य थियो ।
देशको कुल जनसंख्याको १० प्रतिशत हिन्दुहरु नेपालमै बसोबास गर्दथे र सबैले हिन्दुधर्म मन्दथ्ये । जङ्गबहादुर शाहको पालासम्म अरु कुनै धर्मको बारेमा च्युईसम्म बोल्न पाउने अधिकार जनतामा थिएन । नेपालमै जन्मेको बुद्धधर्म अन्य मुलुकहरुमा फैलिसकेको थियो तर नेपालमा भने हिन्दुधर्म मात्र राष्ट्रिय धर्मको रुपमा मानिन्थ्यो र अरु कुनै पनि धर्मको विषयमा प्रचारप्रसार तथा मान्न निषेध थियो । १०४ चार वर्षसम्म राणाशासनको हालिमुहाली चल्यो र राणाहरु जे चाहन्थे उही चल्थ्यो मुलुकमा । राणा शासनकालदेखि नै नेपालको शासकहरु भारतको ईशारामा चल्थ्यो अर्थात् भारतमा जे हुन्थ्यो त्यही नेपालमा हुन्थ्यो । भारतमा पनि अरु धर्महरुभन्दा हिन्दुधर्मकै बढी प्रभाव थियो ।
२००७ साल नेपालमा प्रजातन्त्रको उदयलगत्तै पञ्चायती व्यवस्थाको लागू भयो तर देशको सर्वसाधारण जनताले भने अझै धर्मनिरपेक्षता पाएका थिएन । गाउँ-गाउँहरुमा अधिकारहरु दिएका थिए तर गाउँका ठूलाबडा (जिम्मुवाल/तालुके/क्रबा)हरुको ईशारामा चल्न बाध्य भए । गाउँका ठूलाबडाहरुले गाउँ-गाउँमा राज गर्न थाले । पंचायती व्यवस्थाले पनि हलको संघीयता ढाँचामा राज्यव्यवस्था चलाउन नखोजेको पनि होइन तर मुलुकले खोजेको अनुसार हुन सकेन । झन् उल्टो देशमा भ्रष्टाचार, घूसखोर, अनियमितता र थिचोमिचो बल्झिना थाल्यो । कानुनमै हाकिमको तजबिज भनेर दफा- उपदफाको दस्ताबेजहरु बन्न थाले तर धर्मसम्बन्धी पनि कुनै परिवर्तनहरु आएन ।
हाम्रा पुर्खाहरु सोझा, ईमान्दार, मिहिनेती र प्राकृतिक सम्पदाहरुमा बढी विश्वास राख्दथ्ये । अत: प्राकृतिक धर्म अर्थात् बोम्पो (बोन) धर्ममा विश्वास गर्ने भएकोले ठूल्ठूला पहाड पर्वत, ढुंगा, रुख, हिमाल, खोलानालाजस्ता प्राकृतिक सम्पदाहरुलाई भगवानको रुपमा लिइन्थ्यो र यसैलाई पूजापाठ, दानधर्म, कर्म गरेर आफ्नो कुल तथा वंशजको भलो हुने र जातीयताको पहिचान कायम हुनेमा विश्वास गर्दथ्ये । त्यसैले हाम्रा पितृहरुले मान्दै आएको दसैं, तिहार र हिन्दुहरुले मान्ने दसैं, तिहारमा केही अंशहरु मेल भए पनि हामीले मान्दै आएको दसैं र तिहारमा हाम्रो आफ्नै (कुल धर्म) पुर्ख्यौली परम्पराको विशेषता छ ।
पुर्ख्यौली परम्पराहरुलाई संरक्षण र संवर्द्धन गर्दै धर्म, संस्कृति र रीतिरीवाजलाई जीवित राखेर आफ्नो पहिचान कायम राख्नु पनि आज हामी सबैको कर्तव्य हो । आज देशमा संघीयता आएको छ, धर्म निरपेक्षता (स्वतन्त्र) भएको छ । सबैले आफ्नो इच्छाअनुसारको धर्म मान्न पाउनु नैसर्गिक अधिकार पाएको छ र कसैबाट जबरजस्ती लाद्नु परेको पनि छैन, तर स्वतन्त्रतामा रोमलिएर आफ्नो कूल, वंशज र पहिचान नै गुमाइरहेको त छैन ? आज हामी सबै गुरुङ (तमु) दाज्युभाइ, दिदीबहिनीहरुले गम्भिररुपमा सोच्नु पर्ने दिन आएको छ । आज २१औं शताब्दीमा आएर अरु धर्महरुभन्दा बुद्धधर्म प्रति धेरैको आस्था र विश्वास छ तर बुद्धधर्मले पनि दसैं र तिहार मान्नु हुँदैन भनेर कतै लेखेको र भनेको छैन । हिन्दुधर्मको सिद्धान्तअनुसार पशुबलि दिएर रगतको टिका लगाइन्छ भने बुद्धमार्गीमा फलफूलहरु चढाएर दही र चामलको टीका लगाइन्छ । हिँड्ने बाटोमात्र फरक छ, आखिर पुग्ने गन्तव्य एउटै हो । यसकारण हामी गुरुङ (तमु) हरु विवादित भएर बस्नुभन्दा सही र तथ्य के हो सबैले बुझने कोसिस गरौं र आफ्नो पहिचानलाई जीवित राखौ ! अस्तु !!
(लेखक तथा संस्थापक अध्यक्ष लमजुङ समाज युके)