लन्डन । मौलिक लोकगायक नवीन रानाले बेलायतको प्लमस्टिडमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।
बेलायत भ्रमणमा आएका रानाले 'दसैं तिहार सांगीतिक साँझ-२०२३' मार्फत यहाँ आफ्नो प्रतिभा देखाउन लागेका हुन् । कार्यक्रम आगामी नोभेम्बर ५ तारिखमा प्लमस्टिडस्थित सेन्ट माइकल्स चर्च हलमा हुँदैछ ।
बागलुङ पाण्डवखानी ग्रुपको व्यवस्थापनमा हुन लागेको कार्यक्रममा सहयोगी संस्था धौलागिरि स्टोर कोल्चेस्टर, लन्डन ग्रोसरी प्लमस्टिड र जमघट परिवार यूकेले साथ दिँदैछन् ।
को हुन् नविन ?
२०६२/०६३ सालमा नेपालमा भीषण जनआन्दोलन चल्यो, त्यो वर्ष नवीन राना सांगीतिक लडाइँमा थिए, त्यो हो बागलुङमा आयोजित गलकोट तारा । संयोग नै भन्नुपर्छ गणतन्त्र स्थापना गर्ने आन्दोलन र नवीनको संघर्ष दुवै सफलताको विन्दुमा पुगे । दर्जनौं प्रतिस्पर्धीलाई उछिन्दै त्यतिबेला कक्षा दसमा पढ्दै गरेका जादुमय स्वरका धनी नवीन गल्कोट तारा बने । त्यसो त उनले कक्षा आठमा पढ्दादेखि नै ठाउँ ठाउँमा गायन प्रतियोगितामा भाग लिएर जितेका थिए । सानैमा गायनमा पाएको सफलता, जन्म गाउँको माहोल र रुचिका कारण अहिले नवीन गीत, संगीतमा नवीन ढंगले उदाएका छन् ।
बागलुङ गल्कोट हरिचौरमा जन्मेका नवीनको नविनता भनेको मौलिक, ठेट लोकदोहोरी र लोकगीत पस्कनु हो । अरू सर्जकहरू दर्शक, स्रोताको चाहनाअनुसार लोकगीत, लोकदोहोरीलाई ढाल्नुपर्छ भन्नेमा लागेको भए पनि गायक नवीन एकरत्ति विचलित देखिँदैन । मौलिक गीतको आफ्नै खालका स्रोता रहेको पनि उनको बुझाइ छ ।
२०६३ सालमा बागलुङबाटै एसएलसी सकाएर उनी ०६४ सालमा ललितकला क्याम्पस काठमाडौंमा पढ्न थाले, शास्त्रीय संगीत विषय लिएर । जहाँ उनले संगीतमै स्नातक सिद्ध्याए । २०७० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरे उनले । विद्यालयका विभिन्न प्रतियोगिताको सफलता, रेडियो नेपालमा भोकल पास, साथीभाइ, शुचचिन्तकको हौसलाले उनी औपचारिक शिक्षालाई बिसाएर संगीतकर्ममा लागेका हुन् । नवीनले पहिलो एल्बम कौडा गीत बैस आए घुमेर बजारमा ल्याए । गण्डकी अञ्चलतिर चल्ने कौडामा चर्चित गायिका टिका पुनले साथ दिएकी थिइन् भने शब्द बबिन नेपाल र संगीत विश्वास नेपालले भरेका थिए ।
पहिलो एल्बमको सफलतालगत्तै उनले शर्मिला गुरूङसँग नौतुनादेखि गोरखपुरसम्म सालैजो गीत गाए । गल्कोटको ठावै रमाइलो पञ्चेबाजा, मगरको छोरो लोकदोहोरी, पाउले धूलो टेक्न नपरोस्जस्ता आफ्नै आधा दर्जन एल्बम निकालिसके नवीनले । अरूको झन्डै २५ वटा जति एल्बममा पनि गीत गाएका छन् । छोटो अवधिमा हिट र संगीतमा फिट भएका उनले खाएछकी कलेजो सालैजो भाग दुई, नबासे सुनपंखी भाले, बाबाको कहानी गीत आफू प्रबन्ध निर्देशक रहेको टाइगर्स फिल्म प्रालिमार्फत् निकालेका छन् । बाबाको कहानी गीतमा जागिर र विभिन्न पेसा व्यवसायको सिलसिलामा विदेशमा पुगेका छोराछोरीको माया र न्यास्रोका कारण विरक्तिएका नेपाली बाबाहरूको पीडा समावेश रहेको उनले जानकारी दिएका छन् । प्रायः सालैजो, लोकगीत गाउने नवीन स्रोता, दर्शकको आग्रह र गुनासो सम्बोधन गर्न भन्दै पूर्वेली ढाँचाको गीत बाबाको कहानी गर्ने निधोमा पुगेको पनि बताउँछन् ।
छोटो अवधिमै फड्को मारेका नवीनमा पहिलेदेखि ठेट कलाकार बन्ने उद्देश्य थियो । उनी भन्छन्, 'अहिले नै पुग्यो भने होइन, स्ट्रगल गरिरहेको छु । संगीतका विद्यार्थी हुँ, अझै यस क्षेत्रलाई बुझ्न चाहिरहेको छु ।' आत्मसन्तुष्टि पाए पनि उनले यस क्षेत्रबाट प्रशस्ती आम्दानी भने गर्न सकेको छैन । सीडी, एल्बम बिकाएर आम्दानी छैन, स्टेज प्रोग्रामले हो बाँच्ने उनले भने संगीत क्षेत्र अस्तव्यस्त छ, भविष्यमा राम्रो होला । रोयल्टी संकलन समाजजस्ता संघ, संस्था खुलेकोले विस्तारै राम्रो हुँदै जाने आशामा छन् उनी । एक, दुईजनाले गीत, संगीत सपार्छु भनेर हुँदैन यसलाई व्यवस्थित गर्न कानुन पनि आवश्यक पर्छ । उनी थप्छन् कलाकार बनेको कमाउन पनि होइन, मेरो गीत सुनिदिनुभएमा खुसी हुन्छु । तर नेपाली लोकगीत, लोकदोहोरीको बजार अहिले विदेशमा विस्तार भएको छ । विभिन्न पेसा, व्यवसायले विभिन्न राष्ट्रमा पुगेका नेपाली समुदायले लोक संगीत प्रवर्द्धनमा टेवा पुऱ्याइरहेका छन् ।
गायक नवीनले भने, 'जन्मठाउँबाट टाढिएपछि आफ्नोपनको माया हुने रहेछ, नेपालमा बस्दा गीत नसुन्ने नेपालीले विदेशमा पुगेपछि सुन्ने गरेका छन् ।
गीत, संगीतबारे नयाँ पुस्तालाई पनि सिकाउँछन् उनी । पैसा कमाउने हिसाबले यस क्षेत्रमा नआए हुन्छ भन्दै नयाँ पुस्तालाई संगीत क्षेत्र बुझेर, सिकेर पस्न सुझाए । प्रोफेसनल कलाकार बन्न मेहनत, स्वर, लगानीजस्ता कुरा चाहिने उनको भनाइ छ । दुई चार पैसाका कारण कलाकार बन्ने र कतिपय बाध्यताले पनि पलायन हुने भन्दै नवीनले लगनशीलता र निरन्तरता भएमा लोक संगीतलाई केही योगदान पुग्ने बताए ।
बाँचुञ्जेल गीत संगीतमा समय दिने प्रण गरिरहेका नवीन भविष्यमा पनि गीत संगीतबाट टाढिने दिन नआओस् भन्ने कामना गर्छन् । मौलिकता बचाउन भन्दै खरो रूपमा उत्रिएका गायक नवीनले मौलिक गीत सुनिदिन सबैलाई आग्रह पनि गरे ।