लन्डन । गोर्खा मिडिया लिमिटेड बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमले आज १७ सेप्टम्बर २०२३ मा तेस्रो वार्षिकोत्सव मनाएको छ ।
अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा औपचारिक समारोहबीच समासेवी, साहित्यकार सम्मान, कलाकारलाई पुरस्कार र कर्मचारी सम्मानलगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । यस वर्ष समाजसेवातर्फ राजन खकुराल, साहित्यकार माया गुरुङ सम्मानित भएका छन् । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं रोयल बरो अफ ग्रीनवीचका उपमेयर काउन्सिलर जीत रानाभाट, गोर्खा मिडियाका सल्लाहकार एवं तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले खादा, दोसल्ला, प्रमाण ओढाएका थिए ।
यसै वर्ष स्रष्टा सम्मानतर्फ लोकदोहोरी गायक रामजी पौडेल, सन्तराज बिक र कर्मचारीतर्फ समाचार प्रस्तोता भावना लम्साललाई सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । उनीहरु नेपालमा रहेकाले आइतबार घोषणा मात्रै गरिएको हो । ती सम्मान र पुरकास्कारमा भने जनही १० हजार रुपैयाँ प्रदान गरिने गोर्खा मिडियाले जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा कार्यक्रममा प्रमुख अतिथि, अतिथि, प्रबन्ध निर्देशकले केकसमेत काटेका थिए । कार्य्रक्रममा बेलायतमा सक्रिय संघ संस्थाका मुख्य व्यक्तिहरु उपस्थित थिए । जसमा गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं यूकेका अध्यक्ष हरि गुरुङ, बीजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान, किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका अध्यक्ष मेजर योगेश राई, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङ, सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ उपस्थित थिए ।
यस्तै धम्पुस परिवार यूकेका अध्यक्ष कुमार गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, माइला-कान्छा अभियान बेलायतका पार्वती गुरुङ र माया गुरुङ, शिव कल्चरल सेन्टरका अध्यक्ष वाचस्पति रेग्मी, एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तथा योग प्रशिक्षक नगेन्द्रराज नेम्वाङ, सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा रानामगर,सहारा यूकेका उपाध्यक्ष कृष्ण गुरुङ, व्यवसायीहरु सूर्य गुरुङ, शान्तबहादुर गुरुङ, भीम गुरुङ, लक्ष्मी राईलगायत सहभागी थिए ।
सहभागीहरुमध्ये गोर्खा मिडियालाई सहयोग गर्नेहरु र अतिथिहरुलाई मायाको चिनो प्रबन्ध निर्देशक गुरुङले दिएका थिए ।
कार्यक्रममा मन्तव्य राख्ने अधिकांशले गोर्खा मिडियाले बेलायतमा लीड रोल खेलिरहेकोमा प्रशंसा गर्दै धेरै वर्षसम्म टिकाउहोस् भन्ने शुभकामना दिएका थिए ।
प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रम गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले सञ्चालन गरेका थिए । गोर्खा मिडिया 'सूचना र मानवीय सेवा सँगसँगै' अघि बढाउने उद्देश्यले सन् २०२० सेप्टेम्बर १४ तारिखमा स्थापना भएको हो ।
को हुन् सम्मानित र पुरस्कृत हुनेहरु ?
समाजसेवातर्फ
राजन खकुराल (युवा व्यवासायी, समाजसेवी, स्वास्थ्यकर्मी)
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ७ चैनपूर स्थायी घर भएका राजन खकुराल विगत १२ बर्षदेखि बेलायतलाई कार्य क्षेत्र बनाई खेलकुद, स्वास्थ्य तथा सामाजिक कार्यमा सक्रिय हुँदै आउनुभएको छ ।
सन् २०१५ देखि उहाँ नेपाली समुदायमा निकै सक्रिय हुनुहुन्छ । खेलकुद, स्वास्थ्य, सामामाजिक तथा ब्याबसायिक रुपमा युवाहरुमाझ निकै लोकप्रिय हुनुहुन्छ । २०१५ मा नेपालमा गएको विनासकारी भूकम्पको समयमा बेलायतबाट निकै मिहिनेतका साथ् औषधि, लत्ताकपडा तथा आर्थिक सहयोग जुटाएर नेपाल पठाउनुभएको थियो ।
खकुरालले सन् २०१६ मा स्पाईनल कर्ड इन्जुरी रमेश मिजारलाई एक लाख ५० हजार रकम संयोजन गरी स्पाईनल सर्जनलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँको संयोजकत्वमा बेलायतमै पहिलो पटक औपचारिकरूपमा महिला तथा पुरुष भलिबल प्रतियोगिता भयो । २०१५, १६, १७ मा ग्रीनवीच कप भलिबलको संयोजन गर्नुभयो भने २०१८ मा ग्रीनवीच मेलाको सहसम्योजकको भूमिका निर्वाह गर्नुभयो ।
बुद्ध फाऊन्डेसन् युकेले ट्राफलगर स्क्वरमा आयोजना गर्दै आएको बुद्ध जयन्ती उत्सव २०१७, १८ र १९ मा आर्थिक संयोजकको भूमिका खेल्नुभयो । बुद्ध फाउण्डेसन यूकेको संस्थापक कोषाध्यक्ष रहेका खकुरालको अग्रणी भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्धाश्रमको लागि उहाँको कार्यकालमा करिब ३० हजार पाउण्डको सहयोग नेपाल पठाउनुभयो ।
२०१६ मा लण्डनको विश्वप्रसिद्ध लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरालले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै २०१७ मा लर्डस् खेल मैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि उहाँको भूमिका कम रहेन ।
गैरआवासीय नेपाली संघ बेलायतको २०१७ –१९ को आफ्नो कार्यकालमा एनआरएनए यूकेको च्यारिटी कमिशन दर्ता प्रक्रियामा फण्डराइजिङ कोअर्डिनेटरको सफल भूमिका खेल्नुभयो, उहाँकै पहलकारी भूमिकाबाट अहिले एनआरएनए यूके च्यारिटी संस्थाको रुपमा रजिस्टर भएको हो ।
२०१८ मा एनआरएनए यूकेले गोर्खा कपमा शुरु गरेको स्वास्थ्य शिविर (हेल्थ क्याम्प) को पनि खकुरालले सहसंयोजक, २०१९ मा भएको गोर्खा कपमा गरेको स्वास्थ्य शिविरमा संयोजकको भूमिका निर्वाह गर्नुभयो उहाँले ।
खकुरालले कोरोना भाइरसको महामारी समयमा बेलायतमा करिब एक हजार पौउन्ड बराबरको अति आबस्यक र कठिन परिस्थितिमा विभिन्न औषधीलगायत स्वास्थ्य सामाग्री निशुल्क वितरण गर्नुभयो । त्यस्तै, कोरानाको महामारी बखत घरबाट बाहिर निस्कन नसक्ने अशक्त ४ सयभन्दा बढी परिवारलाई करिब १५ हजार पाउन्डको निशुल्क खाद्यान्न वितरणमा संयोजनकारी भूमिका खेल्नुभएको थियो ।
२०२० मा अन्तर्राष्ट्रिय धादिङ समाजको तत्कालीन प्रवक्ता रहेका खकुरालको मुख्य भूमिकामा आपतकालीन कोभिड १९, सहयोग रकम संकलन अभियानमा ७ दिनमा करिब रु १० लाख संकलन गरी अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई अति आवश्यक स्वास्थ्यसामाग्री र खाद्यन्न वितरण गरेको थियो ।
एनआरएनए आइसीसी अन्तर्गतको कोष परिचालन विभागको तत्कालिन सचिव समेत रहेका उहाँको संयोजनमा अप्रिल २०२० मा धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नुभयो । त्यस्तै धादिङका ११८ विपन्न परिवारलाई दुई चरणमा गरेर करिब ३ लाख रूपैंयाँ बराबरको खाद्यान्न र एन्जल तामांगको उपचार खर्चको लागि रु १ लाख ३१ हजार ३०६ आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
कोभिडको कालमा खकुरालको प्रमुख संयोजनमा अमेरिका, जापान, अस्ट्रेलिया र बेलायतबाट ३८ थान अक्सिजन कन्सनट्रेटर मेसिन लगाएत अन्य स्वास्थ्य सामग्रीहरु धादिङको विभिन्न ठाउंमा उपलब्ध गराइएको थियो ।
खकुराल अन्तर्राष्ट्रिय धादिङ समाज अध्यक्ष, नेपाली युथ एसोसिएसन यूकेको बरिष्ठ उपाध्यक्ष, एनआरएनए युके सल्लाहकार, ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ बिज्ञ सल्लाहकार, एनआरएनए आइसीसी अन्तर्गतको कोष परिचालन विभागको सचिव (२०१९–२०२१), गैर–आवासीय नेपाली संघ बेलायत कार्यकारी सदस्य (२०१७ –१९), बुद्ध फाऊनडेसन् युके कोषाध्यक्ष (२०१६ –२०२२), अन्तर्राष्ट्रिय धादिङ समाज प्रवक्ता (२०१९–२०२१) रहनुभएको छ ।
- माया गुरुङ (समाजसेवी तथा साहित्यकार)
साहित्यकार माया गुरुङको जन्मस्थान सिरुबारी पञ्चमूल, स्याङ्जा (होमस्टे गाउँ) हो । बुबा दानबहादुर गुरुङ र भीमकुमारी गुरुङको कोखबाट जन्मनुभएकी माया हाल वेलिङ्, केन्ट, बेलायतमा बस्दै आउनुभएको छ ।
कर्मभूमि बेलायतको व्यस्त जिन्दगीबाट समय उभारेर माया साहित्य लेखनमा लगाइराख्नुभएको छ । सन् ९० को दशकदेखि फुट्कर कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गर्दै आउनु भए पनि मायाले पहिलो कृति भने २०७८ मा जिन्दगी कवितासङ्ग्रह प्रकाशन गर्नुभयो । लगत्तै अर्को वर्ष २०७९मा बाको जुत्ता, ऐना एकैपटक लोकार्पण गर्न सफल हुनुभयो ।
कविता सिर्जनामा बढ्ता दख्खल राख्नुहुने माया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्वकेन्द्रीय सदस्य तथा आजीवन सदस्य हुनुहुन्छ ।
हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको उपाध्यक्ष तथा सोंपाल समाज युकेको आमा प्रमुख हुनुहुन्छ ।
स्कुल शिक्षिका, आर्मी स्वास्थ्यसेवामा सहायक नर्स, एकाउन्ट फार्ममा सेवा गर्नुभएका उहाँ राधा फाउन्डेसन नेपालद्वारा नारी रजस्वलासम्बन्धी अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो पुरस्कार पाउनुभयो ।
अनेसास वेलायतबाट पुरस्कृत गरिने सुप्रमा–ईप्रमा साहित्यिक पुरस्कारबाट पहिलो कृति जिन्दगी कवितासङ्ग्रहका लागि पुरस्कृत बन्नुभयो भने कविता वाचन र अन्य कविता प्रतियोगिताहरूमा पनि सम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएको छ । उहाँले विभिन्न कार्यक्रमको सिलसिलामा हङकङ, ब्रुनाई, भारत, सिङ्गापुर, मलेशिया तथा बेलायत भ्रमण गर्नुभएको छ ।
औपचारिक शिक्षातर्फ मानविकी र समाजशास्त्र संकायमा पद्मकन्या क्याम्पस, काठमाडौं, नेपालबाट स्नातक उत्तीर्ण गर्नुभएको छ ।