पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी प्रथम महिला अध्यक्ष पुनम गुरुङको पहलमा पोखरा महानगरपालिका १३, विजयपुर पोखरीगाउँमा क्यान्सर सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक सेवाको उद्देश्यसहित स्थापना गरिएको दिदीबहिनी एकता फाउण्डेसन, नेपालको औपचारिक सुरुवातसमेत यही कार्यक्रममार्फत गरिएको हो।
शनिबार आयोजित कार्यक्रममा विजयपुर पोखरीगाउँसँगै आर्वा, मौजा तथा आसपासका विभिन्न गाउँबाट आएका स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको थियो। कार्यक्रममा २१० जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ। स्वास्थ्य परीक्षणका लागि आउनेमध्ये अधिकांश महिला थिए।
कार्यक्रममा सामान्य स्वास्थ्य परीक्षणका साथै भिडियो एक्सरेमार्फत आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो भने सहभागीलाई आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
स्वास्थ्य शिविरको नेतृत्व चरक मेमोरियल अस्पताल, पोखराका वरिष्ठ कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा. ओमकुमार श्रेष्ठले गरेका थिए। चिकित्सकीय टोलीमा डा. विष्णु पालिखे, डा. सुरज अर्याल, डा. सरिना पालिखे, डा. निकिता कोइरालालगायत स्वास्थ्यकर्मी सहभागी थिए।

कार्यक्रमको उद्घाटन दिदीबहिनी एकता फाउण्डेसनकी अध्यक्ष पुनम गुरुङ, पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल, तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, मोडल डली गुरुङ, मोडल तथा फेसन मेन्टर विशाल गुरुङ, आमा समूहकी अध्यक्ष धनकुमारी गुरुङलगायतले सामूहिक रूपमा रिबन काटेर गरेका थिए। त्यसपछि फाउण्डेसनकी अध्यक्ष गुरुङले डा. ओमकुमार श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरी शिविरको औपचारिक सुरुवात गरिएको थियो।
कार्यक्रममा लगातार वर्षा भइरहे पनि स्थानीय बासिन्दा उत्साहपूर्वक स्वास्थ्य परीक्षणका लागि सहभागी भएका थिए।
बुबाको प्रेरणाबाट फाउण्डेसन स्थापना
एनआरएनए युकेकी प्रथम महिला अध्यक्षसमेत रहेकी पुनम गुरुङले आफ्ना स्वर्गीय बुबा कर्णेल मणिन्द्र गुरुङको प्रेरणाबाट दिदीबहिनी एकता फाउण्डेसन स्थापना गरी सामाजिक सेवाको संस्थागत सुरुवात गरेको बताइन्।
विगतदेखि नै व्यक्तिगत रूपमा विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आएकी गुरुङले व्यक्तिगत सहयोगभन्दा संस्थागत रूपमा समाजसेवा गर्न आफ्ना बुबाले प्रेरणा दिँदै आएको बताइन्। उनका बुबाको गत वर्ष क्यान्सरका कारण निधन भएको थियो।
क्यान्सर समयमै पहिचान गर्न सके उपचार सम्भव हुने भएकाले समुदायमा क्यान्सरसम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको गुरुङले बताइन्।
गुरुङ सन् २०१३ देखि बेलायतस्थित क्यान्सर रिसर्च यूके (CRUK) सँग आबद्ध रहँदै आएकी छन्। उनले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, कोष संकलन तथा समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनी CRUK Volunteer Ambassador का रूपमा समेत कार्यरत छिन्।
नेपालमा पारिवारिक बिदामा रहेकी गुरुङले आफ्नो जन्मथलोबाटै फाउण्डेसनको सामाजिक अभियान सुरु गरेकी हुन्।
विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोग
स्वास्थ्य शिविर सफल बनाउन विशेष भुमिका मौजा विजयपुर समाज यूके (MBS UK)को रहेको थियो साथै चरक मेमोरियल अस्पताल पोखरा, विद्यालय परिवार, आमा समूह, स्थानीय स्वयंसेवक तथा विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका थिए।
कार्यक्रममा मौजा विजयपुर समाज यूकेका अध्यक्ष डम्बर गुरुङ, ओमप्रसाद गुरुङ, रामकुमार गुरुङ, जीवन गुरुङ, बिरकाजी गुरुङ, तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङ, वरिष्ठ पत्रकार तथा एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दिपेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार तथा एबीसी टेलिभिजनका डण्ड गुरुङ, दिलीप महर्जन, पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल, विजयपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण ढकाललगायतको महत्वपूर्ण सहयोग रहेको थियो।

त्यस्तै मोडल डली गुरुङ, चिणु गुरुङ, विशाल गुरुङ, क्यान्सर रिसर्च यूकेका अभियान व्यवस्थापक गावर तान, एफी ब्लाङ्क्सन अम्बो, रोटरी डाइरेक्ट मेम्बरशिप जीबी एण्ड आईका टिम तथा जेनिस, कृष्णबहादुर गुरुङलगायतले समेत कार्यक्रमका लागि सहयोग गरेका थिए।
कार्यक्रममा पुनम गुरुङकी आमा, उनका श्रीमान् कमल गुरुङ, बुहारी, मेजर जितेन्द्र गुरुङ, लेक्चरर जसुदा गुरुङ तथा विशाल, प्रकृति, पवित्रा र दिनेशलगायत परिवार तथा सहयोगीहरूको पनि महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा स्वास्थ्यकर्मी, अतिथि तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। आयोजकले कार्यक्रम सफल बनाउन आर्थिक, प्राविधिक, स्वास्थ्य तथा स्वयंसेवी सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।
‘स्वस्थ समुदाय निर्माणमा सामूहिक प्रयास आवश्यक’
दिदीबहिनी एकता फाउण्डेसनले स्वास्थ्य शिविरलाई केवल एकदिने स्वास्थ्य कार्यक्रमका रूपमा नभई समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्ने अभियानको सुरुवातका रूपमा लिएको जनाएको छ।
समुदायमै स्वास्थ्यसम्बन्धी जानकारी र सेवा पुर्याउने, क्यान्सरको प्रारम्भिक पहिचानबारे जनचेतना फैलाउने तथा मानिसलाई नियमित स्वास्थ्य परीक्षणका लागि प्रोत्साहित गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने फाउण्डेसनको लक्ष्य छ।
“समयमै स्वास्थ्य परीक्षण र सचेतना फैलाउन सके धेरै रोगको जोखिम कम गर्न सकिन्छ। समुदायका मानिसलाई स्वास्थ्यप्रति सचेत बनाउँदै आवश्यक सहयोग उनीहरूकै पहुँचमा पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो,” आयोजक पक्षले जनाएको छ।
दिदीबहिनी एकता फाउण्डेसनले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण तथा समुदायको आवश्यकतासँग जोडिएका सामाजिक सेवाका क्षेत्रमा काम गर्ने जनाएको छ।

