काठमाडौं । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय न्यायिक कल्याण दिवस (२५ जुलाई २०२६) को अवसरमा न्यायाधीश तथा न्यायिक कर्मचारीहरूको मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले योग, ध्यान तथा तनाव व्यवस्थापनसम्बन्धी विशेष कार्यक्रम कार्की ब्यन्क्यिट, माईतीघरमा आयोजना गरेको थियो।
न्यायाधीश कुमार रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा न्यायाधीश सपना प्रधान मल्ललगायत सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वामी आनन्द अर्हतले न्यायिक पेसामा बढ्दो कार्यचाप, मानसिक तनाव र भावनात्मक थकान व्यवस्थापनका लागि योग, ध्यान, सचेत श्वासप्रश्वास, स्वस्थ जीवनशैली तथा पर्याप्त निद्राको महत्त्वबारे प्रशिक्षण दिएका थिए। व्यस्त कार्यतालिकाका बीच पनि दैनिक रूपमा सहजै गर्न सकिने योगासन, प्राणायाम र ध्यानका अभ्यासहरू गराउँदै मानसिक शान्ति, एकाग्रता, आन्तरिक सन्तुलन तथा निर्णय क्षमतामा यिनले सकारात्मक प्रभाव पार्ने स्वामी अर्हतले बताए।
स्वामीका अनुसार तनाव जीवनको स्वाभाविक प्रक्रिया हो। यसलाई पूर्ण रूपमा हटाउन नसकिए पनि समयमै पहिचान, निगरानी र उचित व्यवस्थापन गर्न सकिन्छ। नियमित योग र ध्यानको अभ्यासले तनाव न्यूनीकरण गर्नुका साथै धैर्यता, स्पष्ट सोच, भावनात्मक सन्तुलन र विवेकपूर्ण निर्णय क्षमता विकास गर्न मद्दत पुग्ने उनको भनाइ थियो।
प्रशिक्षणका क्रममा शरीरका काँध र कम्मरलाई समग्र स्वास्थ्यका महत्वपूर्ण आधारका रूपमा व्याख्या गरिएको थियो। काँध लचिलो र बलियो हुँदा सोच्ने क्षमता तथा भावनात्मक सन्तुलनमा सकारात्मक प्रभाव पर्ने र कम्मर स्वस्थ रहँदा शरीरको चलायमान अवस्था, पाचन प्रणाली तथा ऊर्जा प्रवाहमा सुधार आउने जानकारी दिइयो।
लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्ने आधुनिक कार्यशैलीले शरीर र मन दुवैमा तनाव बढाउने भएकाले नियमित रूपमा हिँडडुल गर्ने, शरीरलाई सक्रिय राख्ने तथा बीच बीचमा केही समय श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने अभ्यास अपनाउन पनि सुझाव दिइएको थियो।

कार्यक्रममा कार्यालयको तनाव घरसम्म नलैजान विशेष जोड दिइएको थियो। कार्यालयबाट घर फर्किएपछि लुगा फेर्ने, स्नान गर्ने, मनतातो पानी पिउने, करिब १५ मिनेट शवासन पोष्चरमा आरम गर्ने र त्यसपछि परिवारसँग समय बिताउने बानीले मानसिक तनाव कम गर्न सहयोग पुग्ने प्रशिक्षक अरहतले बताए।
प्रशिक्षणमा शवासनलाई सचेत विश्रामको प्रभावकारी विधिका रूपमा प्रस्तुत गरिएको थियो। पर्याप्त र अविच्छिन्न निद्रा शरीरको पुनःस्थापना, ऊर्जा सन्तुलन र मानसिक ताजगीका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै ध्यानले निद्राभन्दा पनि गहिरो विश्राम प्रदान गरी मनमा शान्ति, समभाव र करुणाको भावना विकास गराउने जानकारी दिइयो।
कार्यक्रमपछि सहभागीहरूलाई दैनिक जीवनमा उपयोगी हुने योग, ध्यान र तनाव व्यवस्थापनका अभ्यासहरू समेटिएको संक्षिप्त मार्गदर्शिका वितरण गरिएको थियो। मार्गदर्शिकामा हरेक दिन केही समय ध्यान गर्ने, शरीरलाई सक्रिय राख्ने, घर फर्किएपछि तनावमुक्त हुने नियमित प्रक्रिया अपनाउने तथा पर्याप्त निद्रालाई प्राथमिकता दिन सिफारिस गरिएको छ।
कार्यक्रममा न्यायिक सेवामा उत्कृष्टता हासिल गर्न कानुनी ज्ञान र अनुभव मात्र पर्याप्त नहुने, मानसिक तथा भावनात्मक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुनेमा जोड दिइयो। स्वस्थ मन, स्पष्ट सोच, धैर्यता र करुणामूलक दृष्टिकोणले न्याय सम्पादनको गुणस्तर अभिवृद्धि हुने धारणा सहभागीहरूले व्यक्त गरेका थिए। साथै यस्ता कार्यक्रमले न्यायिक समुदायमा मानसिक स्वास्थ्यप्रतिको सचेतना बढाउनुका साथै तनाव व्यवस्थापनलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिएको थियो।
सर्वोच्च अदालतले न्यायिक सेवामा संलग्न सबैलाई तनाव व्यवस्थापनलाई दैनिक जीवनको अभिन्न अभ्यास बनाउन आग्रह गरेको छ। मार्गदर्शिकाको निष्कर्षमा भनिएको छ, “तनावलाई जीवनबाट हटाउन सकिँदैन, तर त्यसलाई बुझेर सचेत रूपमा व्यवस्थापन गर्न सकिन्छ।” अदालतका अनुसार यही सन्देशलाई व्यवहारमा उतार्दै न्यायिक सेवामा संलग्न जनशक्तिको स्वास्थ्य, सन्तुलन, कार्यक्षमता र सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
स्वामी आनन्द अर्हत तपोवन, काठमाडौंसँग आबद्ध योग, ध्यान तथा समग्र जीवनशैलीका प्रशिक्षक साथै तपोवनका ट्रष्टी हुन्। उनीले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, श्वासप्रश्वास अभ्यास, ध्यान तथा प्राकृतिक जीवनशैलीका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक र भावनात्मक सन्तुलन अभिवृद्धि गर्ने विषयमा नियमित प्रशिक्षण तथा प्रवचन दिँदै आएकाछन्। हाल वेलायतमा ध्यान शिविरहरु चलाउँनमा ब्यस्तछन्।
