बेलायत । लमजुङ समाज यूकेले हरेक वर्ष आयोजना गर्दै आएका बिशेष २ कार्यक्रम मध्ये गृष्मकालिन भेटघाट तथा परोपकारी रात्रीभोज कार्यक्रम १ अगष्ट २०२६ शनिबारका दिन Alderwood Leisure Centre Aldershot को परिसरमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको विशेष अतिथिहरुमा The First Battalion of Royal Gurkha Rifles का गोर्खा मेजर, मेजर भबिन्द्र गुरुङ र उनकी धर्मपत्नी प्रेमलता गुरुङ, साथै नेपालबाट आएका बिन्दबासिनी हाइड्रो पावरका महाप्रबन्धक ओम गुरुङ थिए । कार्यक्रम दुई चरणमा संचालन गरिएको थियो । पहिलो चरण बाह्य खेलकुद, जसमा पुरुषहरुका लागि भलिबल, फुटबल र महिलाहरुको भकुण्डो पास गर्ने Musical Fun Game राखिएको थियो भने लमजुंगे ठाडो भाकाका पौरखी तथा दिग्गज गायक ८५ बर्षीय धनबहादुर गुरुङ र लोकप्रिय गायिका मन्जु बिक बीज ठाडोभाकाको भिडन्तले एक प्रकारको रौनाक नै मच्चायो।
दोश्रो चरणमा हलभित्र औपचारिक कार्यक्रम, स्वागत तथा सम्मान, सांस्कृतिक कार्यक्रम र भाग्योदय चिट्टा समाबेस गरिएको थियो ।समाजका अध्यक्ष पूर्ण राज गुरुङको अध्यक्षतामा महांसचिब कृष्ण गुरुंगले संचालन गरेको औपचारिक कार्यक्रमलाई अध्यक्ष पूर्ण राज गुरुङ, विशेष अतिथिहरु 1 RGR का गोर्खा मेजर, मेजर भबिन्द्र गुरुङ, नेपालबाट आएका बिन्दबासिनी हाइड्रो पावरका महाप्रबन्धक ओम गुरुङ, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुंग, आमा समुहकी अध्यक्ष श्रीमती तारा गुरुंग र कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष परशु गुरुङ्द्वारा पानसमा दिप प्रज्वोलन गरी समुद्घाटन गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङको स्वागत मन्तव्य पश्चात् तमु सांस्कृतिक कलाकार मञ्च यूकेका अध्यक्ष कृष्ण गुरुङले लमजुङ जिल्लाको चिनारीमा आफैँले सृजना गरेको सुन्दर गीत आफ्नै सुमधुर आवाजमा प्रस्तुत गरेको थियो ।
गोरखा मेजर भविन्द्र गुरुङ, उनकी धर्मपत्नी प्रेमलता गुरुङ र महाप्रबन्धक ओम गुरुङलाई अध्यक्ष पूर्णराज गुरुङ प्रथम महिला जमुना गुरुङ, साथमा बरिष्ठ उपाध्यक्ष परशु गुरुङले खादा क्रेगी र क्रमु लगाई सम्मान गरिएका थिए भने आमा समुहको तर्फबाट पनि अध्यक्ष तारा गुरुङले सोही अनुरुप तीनै जनालाई सम्मान गरेकी थिइन् । त्यस्तै गरी नेपालबाट आएका कलाकारद्वय मन्जु बिक र सम्झना भण्डारीलाई पनि प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा लमजुङ समाज यूकेको महत्वकांक्षी योजना, हाउजिङ प्रोजेक्टलाई मूर्तरुप दिनका लागि लमजुङ समाज आमा समूहकी अध्यक्ष तारा गुरुङले उपस्थित सम्पूर्ण आमा समूहलाई मञ्चमा निमन्त्रणा गरि अध्यक्ष पूर्ण राज गुरुङ , संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, कार्यक्रम संयोजकलाई खादा लगाई सामूहिक रुपमा लमजुङ समाजको सामुदायिक भवन खरिद गर्नको लागि सहयोग स्वरुप £१५,००० पाउण्डको चेक प्रदान गरेका थिए ।
समाजका तर्फबाट पनि अध्यक्ष पूर्ण राज गुरुङले आमा समूहलाई सो सहयोगको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा हाउजिङ प्रोजेक्ट संयोजक चन्द्र प्रसाद गुरुङले भावी योजनाबारे महत्वपूर्ण कुराहरु जानकारी गराएका थिए । साथै कार्यक्रममा उपस्थित भएका हाउजिङ प्रोजेक्टका चन्दा दाताहरुलाई खादा लगाई सम्मान गरेका थिए । त्यसैगरि समाजमा सदस्यता लिएका नयाँ सदस्यहरुलाई पनि स्वागत गरिएको थियो ।
औपचारिक कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष पूर्ण राज गुरुङले सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमलाई समापन गरिएको थियो ।
सांस्कृतिक सचिव इन्द्रजित गुरुङको संयोजकत्वमा राखिएको सांस्कतिक कार्यक्रममा स्थानीय नानीहरुको सुन्दर नृत्य प्रस्तुति प्रस्तुत गरिएको थियो ।
प्रेम गुरुङको उद्घोषणमा चर्चित कलाकारहरु मञ्जु बिक र सम्झना भण्डारी दमदार प्रस्तुतिमा उपस्थित सबै वर्गका दर्शकहरुले नाचेर साथ दिएका थिए । साथै तिलक गुरुङको पनि प्रस्तुति रहेको थियो ।
कार्यक्रमको अर्को रौनकता राफल ड्र थियो। आकर्षक पुरस्कारहरु सहितको राफल ड्रलाई समाजका उपाध्यक्ष तथा ट्रष्टी माला घलेले आकर्षक ढंगले सचालन गरेकी प्राईज ड्रमा प्रथम पुरस्कार सुनको औंठी सल्लाहकार जितबहादुर गुरुङले तथा दोश्रो पुरस्कार रातो पोतेमा सुनको लकेट बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङले हात पारेका थिए ।
कार्यक्रमको अन्त्यमा गायिकाद्वय मन्जु बिक, सम्झना भण्डारी र नृत्याङना नानीहरुलाई समाजका अध्यक्ष पूर्ण राज गुरुङ कार्यक्रम संयोजक परशु गुरुङ र सांस्कृतिक सचिव इन्द्रजित गुरुङले उपहार सहित धन्यबाद ज्ञापम गरी बिदाइ गरेका थिए ।
यस कार्यक्रममा आमा समूहले टिकेटिंगमा कोषाध्यक्ष तथा सह-कोषाध्यक्ष क्रमशः उमरजंग गुरुंग (यूजे) गणेश गुरुङले सदस्य नविकरणमा, विधान गुरुङ र प्रेम गुरुंगले PA system, संयोजक लुइस गुरुङ र मिना गुरुङको नेतृत्वमा युवा समूहले पेयापदार्थ संचालन गरेका थिए भने पूर्वअध्यक्ष तुलाराम गुरुङको संयोजकत्वमा डिलाउन्ज रेष्टुरेज्ण्ट एण्ड बारले बिबिक्यू अनि खाना उपलब्ध गराएका थिए । बाह्यखेलकुद प्रेम गुरुंग (आच्यो) र प्रेमराज गुरुंगको संयोजकत्वमा संचालन भएको थियो भने आमा समुहको Fun Game को संचालन उपाध्यक्ष कुमार गुरुङले प्रतिनिधित्व गरेका थिए ।
समग्रमा सुरक्षा सम्बन्धि र प्राथमिक उपचारमा क्याप्टेन दिपक घले र आमा समुहकी उपाध्यक्ष मनिता (मुना) गुरुङले प्रतिनिधित्व गरेका थिए ।
करिब ३०० जनाको उपस्थिति रहेको कार्यक्रम करिब १२:३० बजे शुरु भई २२:३० बजे समापन भएको थियो ।


