अन्तराष्ट्रीय नेपाली साहित्य समाज बेलायत एवं नेपाल मुक्तक प्रतिष्ठानको संयुक्त आयोजनमा २१३औं भानु जयन्ती एवं ९५औं ईश्वर जयन्ती समारोह गत शनिवार, ११ जुलाईको दिन ग्रिनफोर्ड स्थित टेस्ट अफ पर्शियाको ठुलो हलमा सम्पन्न भयो । उक्त समारोहमा डा. रूपक श्रेष्ठद्वारा लिखित ‘ चौशूल’ र ‘पोक्तक’ मुक्तक संग्रह यसै गरी सुमल कुमार गुरुङद्वारा लिखित युद्ध उपन्यास ‘ कर्मवीर ‘ लोकार्पण भयो । र उक्त अवसरको साक्षी बन्ने मौका जुरेको थियो ।
शीर्षकले भने जस्तै “कर्मवीर“ आख्यानको पृष्ठभूमिमा गोर्खा भर्ति, विशेष गरी भारतीय सेनामा एक नेपाली जवान मनराज गुरुङ अर्थात् मनु अर्थात् ठागु नामघारी युवा आफ्नो पारिवारिक, सामाजिक पृष्ठभूमिबाट उठेर भारतीय सेनाका उपल्लो तह सम्म पुग्न सफल भएका साथै भारतीय र पाकिस्तानी सेना बिच भएका सर्वाधिक चर्चित युद्धमा होमिएर पाकिस्तानी सेनालाई परास्त गरेको अदम्य साहस र सौर्य प्रदर्शित गरेबापत ‘महावीर चक्र’ प्राप्ति सम्मको सेरोफेरोमा यो युद्ध उपन्यासको तानाबाना बुनिएको छ ।
मनु जो काखमै हुँदा आफ्ना आमा-बुवाद्वयलाई एक दुर्घटनामा गुमाउन पुग्छ । यद्यपि, उसको काका लछिन प्रसाद एवं काकी दिलसुबाले आफ्नै छोरा जस्तै गरी हुर्काउछन । धौलागिरी एवं अन्नपूर्ण हिमालको शीतल छायामा संधै हाँसी रहने पर्वत जिल्लाको मादी गाविसको चित्रे गाँउको पृष्ठभूमिमा उनीहरूको दिनचर्या बिति रहेको हुन्छ । मनुका काका र काकीबाट तीन छोरा-छोरीपनि छन । तसर्थ मनुले घरको कामकाजमा समय दिनु पर्दा कक्षा ५ भन्दा माथिको अध्ययनलाई थाति राख्नु पर्ने हुन्छ । यद्यपि मनुले त्यस बापत कहिले गुनासो गर्दैनन । पशुपालन, कृषि कर्म र घर खेतको देखरेखमा उसले कहिले किशोरवय पार गर्छ पत्तै हुँदैन । यही बेला, यौवन संगसंगै मायाको अंकुरण उसको काका लछिन प्रसादको सोल्टिकी नवयौवना सुन्दरी छोरी गौमायाप्रति मनुको हृदय भित्र प्रस्फुटित हुँदै जान्छ जो स्वाभाविक हो ।
मनुका मामा सुक बहादुर जो भारतीय सेनामा सैनिक हुन्छन । वहाँको उत्प्रेरणा र संरक्षण पाएर मनुपनि भारत मेघालय राज्यका सिलागँ शहरको हैप्पी भ्याली स्थित गजे घले स्टेडियम ५८ गोर्खा रेजिमेन्टबाट भर्ति लाग्न सफल हुन्छ ।
मनु एक कर्मठ, ईमानदार, लगनशील युवा भएकोले सैनिक सेवामा उ छिट्टो उन्नति र प्रगति गर्दै जान्छ । यसै गरी उनी फायर सुटिंगमा अव्वल दर्जा प्राप्तिका साथसाथै राष्ट्रीय अन्तरराष्ट्रीय प्रतियोगितामापनि अव्वल हुन्छन । कामनवेल्थ गेममा पनि उनि प्रथम स्थान प्राप्त गर्छन ।
एवं रूपले मनु फौज अर्थात् पल्टनघरबाट बिदामा घर फर्किएको अवशरमा आफुले मायागरेको प्रिया गौमायालाई मागेर विवाह गर्छन । मधुयामिनीका दिनहरू सक्दा नसक्दै फर्किने बेला हुन्छ । उता मनु पल्टनघर पुग्छन यता प्राणप्रिया गौमाया गर्भवती भएको खबर पत्राचारबाट थाहा पाउछन र केही दिनको आकस्मिक बिदामा घर आइ गौमायालाई सुरक्षित रूपले सुत्केरी सम्पन्न गराउन सफल हुन्छन र नवजात शिशु ‘ जगतवीर ‘ र गौमायालाई छाडेर पुन: आफ्नो कर्मथलो फर्किन्छ मनु ।
अचानक पाकिस्तानी आतंककारी, घुसपैठिहरूले भारतको काश्मीर स्थित सीमा सुरक्षाकालागी ठुलो चुनौतिरहेको धेरै ठाँउहरू कब्जा गर्नमा सफल हुन्छन । जो कारगील युद्धको रूपमा बहुचर्चित हुन पुग्छ । उक्त कब्जा गरेका दुश्मन सैनिकहरूलाई नेस्तनाबूद गर्ने हेतुले मनुको पल्टनपनि उक्त ठाँउ पुग्छ । यस आख्यानको यो भाग अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको पाइन्छ । आफुहरूलाई दुश्मनको दृष्टिबाट जोगाउदै लगभग ५००० मिटरको उँचाईमा रहेको दुश्मनहरूलाई परास्त गर्न सानो प्रयासले संभव थिएन । मनु र उनका पल्टनका साथीहरू आफ्नो अदम्य साहस प्रदर्शन गर्दै युद्धकर्ममा होमिदै अगाडी बढि रहे । युद्धरत् साथिहरूलाई घायते हुँदा आवश्यकीय उपचार लगायत मनोवैज्ञानिक तवरले मनोबल उच्च राख्ने प्रेरणा दिंदै मनु अगाडी बढि रहन्छन । अन्ततोगत्वा कतिपय दुश्मनलाई आफ्नो आन, बान र शानको प्रतिक गोर्खे खुकुरीले घाँटी छिनाएर कब्जा गरेको भूमि टोरलिंग, टाइगर टप्स, बटालिका, ड्रास जस्ता सामरिक महत्वका जमिनहरू फिर्ता गराउनमा सफल हुन्छन । यस क्रममा मनुको मिल्ने साथी राइफलमैन महेन्द्र पुनपनि वीरगति प्राप्त गर्छन । एवं प्रकारले ३ मे १९९९ देखी आरंभ भएको कारगील युद्ध २७ जुलाई १९९९ को दिन समाप्त भएको घोषणा हुन्छ । यद्यपि, दुवै तिरका लगभग १५०० सैनिकहरू मृत्यु प्राप्त गर्छन भने २००० को हाराहारीमा सैनिक जवान घाईते हुन पुग्छन ।
मनुको यस अद्भुत सौर्य प्रदर्शनबाट प्रभावित भएर भारत सरकारले सेनाका उत्कृष्ट ‘महावीर चक्र’ प्रदान गर्ने निर्णय गर्छ । र स्वतंत्रता दिवस १५ अगस्त १९९९ को पुर्व संध्यामा मनुले राष्ट्रपतिको बाहुलिबाट उक्त पदक प्राप्त गर्छन । यसले मनुको मान प्रतिष्ठालाई राष्ट्रीय अन्तरराष्ट्रीय स्तरमा लोकप्रिय बनाउदछ । यतिमै सिमित हुँदैन मनुको लोकप्रियता । लगतै मनु घर फर्किदा गाविसको अध्यक्षको सक्रियतामा तत्कालिक अंचलाधिश , सिडियो लगायत भद्भलाआदमी र जन सामान्यले मनुको खुबै स्वागत् सम्मान गर्दछन र उनको बहादुरी र सौर्यताको गाथालाई सबै सबैले सेलिब्रेट गर्छन ।
एवं प्रकारले पर्वतको चित्रे गाँउबाट एक सरल, कर्मठ, ईमानदार युवा मनराज गुरूंगको यात्रा एक सामान्य परिवारबाट आरंभ भएर ४/५ गोर्खा रेजिमेंट को नायब सूबेदार सम्मको यात्रा साथै अनेकौं पारितोष एवं बहादुरीका तक्मा र सम्मानका साथ आफुलाई एक असल, सफल बनाउने क्रममा मनुले गरेको संघर्ष एवं उनको वरिपरि घुमी रहेका चरित्रहरूले यस युद्ध उपन्यासलाई अत्यन्तै विशालता प्रदान गरेको छ ।
‘कर्मवीर’ का मनु/ ठागु एक प्रतिनिधि पात्र हुन उसको चरित्रले विशेषत: आदिवासी जनजाति मूलका युवाहरूको सैनिक सेवामा जाने मानोविज्ञानलाई चित्रण गर्न सफल छ । यस आख्यानका लेखकको अत्यन्तै सरल र बोधगम्य शब्दावली प्रयोग र मनोसामाजिक पृष्ठभूमिलाई मूल विषय बनाउनु भएकोले पाठकलाई अन्तिम हरफसम्म पढ़ि रहन प्रेरित गरी रहन्छ । मानौ आख्यान भित्रका सबै चरित्रहरू सजीव भएर पाठकको वरिपरि घुमी रहेको छ । तत्कालीन भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक परिवेशलाई पाठकले सहजै महशुस गर्न सक्छन । धैलागिरी र अन्नपूर्ण हिमालको छायामा पर्वत जिल्ला र त्यस भित्रका भौगोलिक सौन्दर्य पाठकहरूको हृदयभित्र सहजै प्रवेश गर्छ । लेखकले गुरुङ जाति भित्रको मौलिक परम्परा एवं संस्कृतिलाई उत्तिकै आकर्षक ढँगले पस्किनु भएको छ । विवाह संस्कार, जन्म संस्कार, मृत्यु संस्कार आदिलाई सहजै नियाल्न सक्छौं । यसै गरी गुरुङ जातिको सांस्कृतिक पक्षहरू जस्तै- तमू ल्होसार, रोधि परम्परा आदिलाई सहजै चिहाउन सक्छौं । गुरुङ जातिको विशेषता मध्ये सामूहिकतापनि हो जो यस आख्यानले राम्री उजागर गर्दछ । पेशागत हिसाबले कृषि, पशुपालन भएतापनि सैन्य सेवामा प्रवेश गर्नु एकप्रकारको सामाजिक, व्यक्तिगत प्रतिष्ठासंग जोडेर हेर्ने मनोविज्ञानपनि यहाँ प्रष्टिएको छ । सैन्य सेवाबाट ठुलो मात्रामा देशमा भित्रिने अर्थको चर्चा राज्यको मूलधारमा गरिएको देखिदैन । यस पाटोलाईपनि यस आख्यानले ध्यानाकर्षण गराएको देखिन्छ ।
‘कर्मवीर’ आद्योपांत अध्ययन गरि रहदा पाठकीय स्वाभावले होला मनुलाई जन्मदिने आमा र बुआको नामको विषयमा यो मन जिज्ञासु बनी रह्यो । र मनुकी श्रीमति गौमायाको कोमल पक्षमात्र बढि पाइयो जबकि उनीभित्र एक सीमित घेरा भन्दा धेरै माथि उठ्ने संभावना प्रशस्तै देखिन्छ ।
समग्रमा भन्नु पर्दा ‘ कर्मवीर ‘ एक पठनीय र संग्रहणीय उपन्यासको रूपमा आएकोछ । मानिसको जन्म ठुलो संघर्ष झेलेर भएको हुन्छ यस अर्थमा उ ‘ जन्मवीर ‘ त हुन्छ हुन्छ । तर , कर्ममा विश्वास गर्ने कर्मठ मानिसनै ‘ कर्मवीर ‘ हुन्छन र कर्मवीर मानिसले ईतिहास कोर्न सक्षम हुन्छ । सुमल कुमार गुरुङ बेलायती डायस्पोराका एक मुर्धन्य लेखक यहाँलाई हार्दिक बधाई छ ।