लन्डन । बेलायतमा नवौँ संस्करणको पीपल नेपालकप टी२० क्रिकेट ५ जुलाइमा सुरु हुँदैछ ।
पोखरेली मञ्च यूकेको आयोजनामा रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लबको मैदानमा प्रतियोगिता हुन लागेको हो ।
समापन कार्यक्रमको प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र विशेष अतिथि क्यानका सचिव पारस खड्का उपस्थित हुनेछन् ।
प्रतियोगितामा खुकुरी, माया, हिमालयन, नवयुवा, गोर्खा केन्ट, रमाइलो, नटिङहम गोर्खा, साथी, माया डांफे, वुल्भरह्याम्पटन वारियर र एभरेष्ट राइनोले प्रतिस्पर्धा गर्दैछन् । नेपाली राष्ट्रिय टीमबाट खेलिसकेका अर्जुन साउद, रिजन ढकाललगायतले पनि खेल्ने जनाइएको छ ।
उद्घाटनका दिन ५ जुलाइमा ६ खेल र ८ जुलाइमा पाँच खेल सञ्चालन हुनेछन् । समापनका दिन १२ जुलाईमा सेमीफाइनल र फाइनल खेल हुनेछ ।
विजेताले नगद २ हजार पाउन्डसहित रनिङ ट्रफी र मेडल तथा उपविजेताले नगद १ हजार पाउन्ड पाउनेछन् ।
त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टलाई ३५० पाउन्ड तथा बलर अफ द टुर्नामेन्ट र ब्याट्सम्यान अफ द टुर्नामेन्टलाई २५० पाउन्ड नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
मञ्चका अध्यक्ष पवित्र गुरुङले प्रतियोगिताको तयारी पूरा भइसकेको बताएका छन् । उनले बेलायतवासी नेपालीहरूलाई आएर क्रिकेटको आनन्द लिन र खेलाडीलाई हौसला प्रदान गर्नसमेत अनुरोध गरेका छन् ।