पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिले आगामी २०८३ असोज १७ र १८ गते पोखरामा आफ्नो सातौँ महाधिवेशन आयोजना गर्ने भएको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिका–७ गहतेस्थित मनकामना होमस्टेमा बसेको संघको छैटौँ पूर्ण बैठकले महत्वपूर्ण निर्णय गरेको हो । आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने मूल उद्देश्यका साथ मिलेनियम ट्रेक व्यवस्थापन समितिको सहकार्यमा असार १२ र १३ गते आयोजित स्याङ्जा अवलोकन भ्रमणका क्रममा यो बैठक सञ्चालन गरिएको थियो । बैठकमा संस्थाको वर्तमान गतिविधि, संगठन सुदृढीकरण र आगामी कार्ययोजनाबारे गहन छलफल भएको छ ।
बैठकले तमु समुदायको धर्म, भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण, संवद्र्धन एवं प्रर्वद्धनका विषयमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । नयाँ निर्णय अनुसार संघअन्तर्गतका प्रदेश, जिल्ला तथा भातृ समितिहरूले आफ्नो अधिवेशन आगामी भदौ मसान्तभित्र टुंग्याउनुपर्ने छ । ती समितिहरूले सांगठनिक तथा आर्थिक प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्णय बैठकले गरेको छ । संघले परम्परादेखि अवलम्बन गर्दै आएको मौलिक बोन धर्मलाई सूचीकृत गराउन सम्बन्धित सरकारी निकायमा निवेदनसहित डेलिगेसन जाने निर्णयसमेत गरेको छ ।
भ्रमणका क्रममा सहभागीहरूले वालिङ नगरपालिका–४ बस्यानी क्होइबो र बिरुवा–७ गहते मनकामना मन्दिरको अवलोकन गरे । उनीहरूले सपौदी क्होइबो, मनकामना होमस्टे तथा सिम्ले देउरालीस्थित सिमी कुरिमी ङी क्होइबो लगायतका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत भ्रमण गरे । स्थानीय अर्गानिक परिकारको स्वाद लिँदै टोलीले स्थानीय संस्कृति र जीवनशैलीको अनुभव लिएको छ ।
यस भ्रमणले आन्तरिक पर्यटन प्रर्वद्धनको सन्देश प्रवाह गर्न सहयोग पुर्याएको छ । तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओमबहादुर थिम्जे तमुले छैटौँ पूर्ण बैठकले संस्थाको भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । ‘बैठकबाट संगठन सुदृढीकरण, तमु समुदायको धर्म, भाषा, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवद्र्धनका लागि महत्वपूर्ण निर्णयहरू भएका छन्,’ उनले भने । मिलेनियम ट्रेक व्यवस्थापन समितिसँगको सहकार्यमा भएको भ्रमणले आन्तरिक पर्यटन, स्थानीय होमस्टे, संस्कृति र स्थानीय उत्पादन प्रर्वद्धनमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । आगामी सातौँ महाधिवेशन सफल बनाउन सबै प्रदेश, जिल्ला तथा भातृ समितिहरूको सक्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, स्थानीय समुदाय र सहभागीहरूप्रति आभार प्रकट गरे ।
बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले स्थानीय पर्यटन, संस्कृति र होमस्टे प्रर्वद्धनका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने धारणा राखे । ‘मिलेनियम ट्रेकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध छ,’ उनले भने । स्थानीय सरकार यसका लागि सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे ।
बिरुवा गाउँपालिका–७ का वडा अध्यक्ष मेखराज गुरुङले गहते क्षेत्र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको जानकारी दिए । तमु प्ये ल्हु संघले यस क्षेत्रमा कार्यक्रम आयोजना गर्नु स्थानीय समुदायका लागि गौरवको विषय भएको उनले बताए । यस्ता भ्रमणले स्थानीय उत्पादन, होमस्टे र रोजगारी प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क योज तमुले तमु प्ये ल्हु संघसँगको सहकार्यले मिलेनियम ट्रेकको प्रचारप्रसारमा नयाँ ऊर्जा थपेको बताए । ‘आन्तरिक पर्यटनको विकाससँगै स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सम्पदालाई विश्वसामु चिनाउन यस्ता साझेदारीलाई निरन्तरता दिइने छ,’ उनले भने ।
दुई दिनसम्म चलेको उक्त भ्रमण कार्यक्रममा विभिन्न समितिका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो । जसमा तमु प्ये ल्हु संघ केन्द्रीय समिति, गण्डकी प्रदेश समिति र जिल्ला समिति कास्कीका प्रतिनिधिहरू सहभागी थिए । त्यस्तै केन्द्रीय भातृ संगठनहरू युवा, महिला, पच्यु, क्ल्हेप्री, वोनलम तथा पैडी समिति र जिल्ला महिला समिति कास्कीका प्रतिनिधिहरूको पनि उपस्थिति थियो । मिलेनियम ट्रेक व्यवस्थापन समितिबाट महासचिव हर्क योज तमु, कार्यवाहक सचिव बालकुमार गुरुङ र संस्थापक सदस्य खेम गुरुङ सहभागी थिए ।
विशेष निमन्त्रणामा पैयुँखोला तमु समाज पोखरा र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रमको सफल आयोजनाका लागि सहयोग पुर्याउने वालिङ–४ बस्यानी क्होइबो परिवार र बिरुवा–७ गहते मनकामना होमस्टेप्रति संघले कृतज्ञता ज्ञापन गरेको छ । सिम्ले देउराली सिमी कुरिमी ङी क्होइबो परिवार, मिलेनियम ट्रेक व्यवस्थापन समिति, सहयोगी संस्था, स्वयंसेवक, यातायात व्यवसायी तथा सम्पूर्ण सहभागीहरूप्रति तमु प्ये ल्हु संघ केन्द्रीय समितिले आभार व्यक्त गरेको छ ।