लन्डन । पिटरबरो नेपाली समाजको आयोजनामा मिडल्यान्डमा सक्रिय नेपाली संघसंस्थाका बिचमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर, शान्ति नेपाली समाज बर्मिङ्घम, गल्कोट समाज यूके र पिटरबरो नेपाली समाजबाट १३ टोली पुरुष र चार टोली महिला सम्मीलित भएका थिए ।
पुरुषहरूलाई चार समूह र महिलाहरूलाई दुई समूहमा विभाजन गरी लिग र नक-आउट चरणका खेल सम्पन्न गरिएको थियो । लिग चरणमा १५ अंकका र नक-आउट चरणमा २१ अंकका तीन खेलमा २ अंकको अन्तरले जित्ने गरी खेलाइएको थियो ।
पिटबरो हाईस्कूलको खेलकुद हलमा भएको कार्यक्रम २० जुन बिहान १० बजे सुरु भएर दिउँसो ३:१५ बजे समापन गरिएको थियो ।
प्रतिस्पर्धामा पिटरबरो नेपाली समाजका पुष्प उप्रेती र दल थापाको टोलीले गोर्खा टाइगर लेस्टरका प्रविन तामाङ र अमृत पाटामगरको टोलीलाई सोझो दुई खेलमा पछि पारेर प्रथम स्थान हासिल गर्न सफल भए । शान्ति समाज बेलायतका पदम शाही र साजन डंगोलले समय अभावमा तेस्रो स्थानमा प्रतिस्पर्धा गर्न असमर्थ हुँदा लेस्टर टाइगरका गौरव गैरे र रोहित मगरले तेस्रो स्थानका लागि स्वतः घोषित भएका थिए ।
महिलातर्फ इन्द्र दुरा र बबिता सापकोटाले वर्षा उप्रेती र लक्ष्मी थापा विरुद्ध सोझो दुई सेटमा जीत हात पारेर प्रथम भए । तेस्रो स्थानमा मेघा पौड्याल र राधा लुइँटेल भण्डारीले मनु थापामगर र सृष्टि सापकोटालाई पछि पारेर तेस्रो स्थान सुरक्षीत गरे ।
प्रथम, द्वितीय र तृतीय टोलीलाई स्वर्ण, रजत र कांस्य पदक र प्रमाणपत्र तथा सहभागी सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र पिटरबरो नेपाली समाजका अध्यक्ष विष्णु थापा र ट्रस्टी संयोजक केशव खतिवडाले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
पिटरबरोमा हरेक हप्ता आइतबार हुने ब्याडमिन्टन तालिममा सबैभन्दा धेरै उपस्थित भएर ब्याडमिन्टन क्षमता अभिवृद्धि गर्ने सदस्यहरू वर्षा उप्रेती, बबिता सापकोटा र महेश अधिकारीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतिस्पर्धाका दौरान खेलाडी तथा दर्शकहरूलाई चियापान, फलफूल र भोजनको व्यवस्थापन गरिएको थियो । National Lotto Fund बाट पिटरबरो नेपाली समाजलाई Community and Wellbeing शीर्षकमा प्राप्त धनराशिबाट प्रायोजित कार्यक्रम राजु सापकोटाले सञ्चालन गरेका थिए ।
पिटरबरो नेपाली समाजका अध्यक्ष र ट्रस्टी संयोजकद्वयले प्रतिस्पर्धाले नेपाली समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै सामाजिक अन्तर्घुलनलाई बढवा गर्न मद्दत गरेको प्रस्ट पार्दै सहभागी खेलाडी र कार्यक्रम व्यवस्थापनमा खट्ने सम्पूर्ण सहयोगीहरू प्रति कृतज्ञता जाहेर गरे ।