पोखरा । तमु (गुरुङ) जातिहरूको आदीम पुख्र्यौली तथा ऐतिहासिक थलो क्व्होलासोंथरको तमु प्ये ल्हु संघ हङकङले विशेष भ्रमण गरेको छ । सन् २००३ मा स्थापना भएको संघको पहिलो प्रवास शाखाका रूपमा रहेको हङकङ टोलीले आफ्नो संस्कार, संस्कृति र इतिहासको संरक्षण गर्ने उद्देश्यका साथ भ्रमण गरेको हो ।
अध्यक्ष मनबहादुर क्रोम्छैँ तमुको नेतृत्वमा गएको टोलीले चैत २५ देखि ३० गतेसम्म क्व्होलासोंथर, ताङतिङ र सिक्लेस क्षेत्रको पदयात्रा गरेको संघले जनाएको छ । अध्यक्ष क्रोम्छैँका अनुसार तमु समुदायमा आफ्नो जीवनकालमा एकपटक पुख्र्यौली थलो पुग्नुपर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ । निकै कठिन भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुद संघका निवर्तमान अध्यक्ष, केन्द्रीय पदाधिकारी र सञ्चारकर्मीसहितको टोलीले यो यात्रा सफल पारेको उनले बताए ।

यात्राका क्रममा टोलीले ताङतिङस्थित तोनी क्व्होइँवोको अवलोकन गरी आर्थिक सहयोगसमेत प्रदान गरेको थियो । समुद्री सतहदेखि करिब २ हजार ९ सय १७ मिटर उचाइमा रहेको सिङ्दीलीको पुख्र्यौली थलो घडेरी र २ हजार ९ सय ८७ मिटर उचाइको खुइँदो डाँडा हुँदै टोली अगाडि बढेको थियो ।
भ्रमणका क्रममा टोली ३ हजार ३ सय २० मिटर उचाइमा रहेको चोरो डाँडा र ऐतिहासिक क्रोम्छैँ पोखरी पुगेको थियो । क्रोम्छैँ पुर्खाको इतिहास र विश्वाससँग जोडिएको यो पोखरी सधैँ सफा रहने र यहाँ चराहरूले समेत पात, पतिंगर सफा गर्ने अनौठो किम्वदन्ती रहेको उनले जानकारी दिए । यात्राकै क्रममा ३ हजार ४ सय ३ मिटर उचाइमा रहेको नान्दी पोखरीमा माइनस २० डिग्री सेल्सियस र तसा–खला (घोडा दौडाउने ठाउँ)मा माइनस २४ डिग्री सेल्सियसको चिसोको अनुभव गरेको टोलीले जनाएको छ ।

क्व्होलासोंथर पुगेको टोलीले त्यहाँ करिब १ हजार २ सय वर्ष पुरानो तमु बस्तीको अवशेष र २०७२ सालमा निर्मित क्व्होइँवोको दर्शन गरेको थियो । करिब २ सय रोपनी क्षेत्रफलमा फैलिएको सो ऐतिहासिक स्थानमा १ सय ५० भन्दा बढी घरका भग्नावशेष फेला परेको भ्रमण टोलीले बताएको छ । त्यहाँ तच्युद्वा (घोडा बाँध्ने खम्बा), छोँज धीँ (ठूलो घर) र गोलाकार घरका अवशेषहरूले तमु सभ्यताको प्राचीन इतिहास झल्काएको टोलीको निष्कर्ष छ ।
भ्रमणको चौथो र पाँचौं दिन टोलीले सिक्लेस र त्यहाँका विभिन्न क्व्होइँवोहरूको अवलोकन गरेको थियो । सिक्लेसमा सञ्चालित पच्यु, क्ल्हेप्री र वोन्लम चेलाहरूको प्रशिक्षण केन्द्रका लागि संघले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भ्रमणपछि संघले क्व्होलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग माग गरेको छ । साथै, सो क्षेत्रमा आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण गर्नुपर्ने, जथाभावी पोस्टर र ब्यानर टाँस्न रोक लगाउनुपर्ने र आवश्यक पर्यटन पूर्वाधार विकास गर्नुपर्ने सुझाव समेत टोलीले दिएको छ ।
तमुहरू यसै भूमिको भूमिपुत्र भएको र यसको संरक्षणमा राज्यले विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष क्रोम्छैँले जोड दिएका छन् । भ्रमण टोलीमा भ्रमण दलका सदस्यहरु अध्यक्ष मनबहादुर क्रोम्छैँ तमु, संस्थापक सल्लाहकार रितबहादुर ल्हेगें तमु, पूर्वअध्यक्ष जितेन्द्र योज तमु, कोषाध्यक्ष ठाकुरप्रसाद क्होला तमु, निवर्तमान कोषाध्यक्ष रमा क्होला तमु, सहसचिव मनोज तेल्मे तमु, आमा सदस्य विमला ल्हो तमु, एकजङ प्ल्हे तमु र फोटोग्राफर प्रेम प्हच्यु तमु थिए ।
