पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ स्थित सहारा बाल आधारभूत विद्यालयले २९औँ वार्षिकोत्सव मनाएको छ ।
विद्यालयका अध्यक्ष विक्रम थकालीको अध्यक्षता र पोखरा मनपाका वडा नं.०९ का अध्यक्ष दीपेन्द्र मर्सानी प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विद्यालयकी प्रधानाध्यापक लोचना कुमारीले उपस्थित पाहुनालाई मन्तव्यमार्फत स्वागत गर्दै विद्यालयको समग्र गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
विद्यालयको ऐतिहासिक पृष्ठभूमि समेटेर तयार पारिएको ‘शैक्षिक दर्पण’ वडाध्यक्ष दीपेन्द्र मर्सानीले विमोचन गरेका थिए । विद्यालयका ६-८ कक्षाका विद्यार्थीलाई खाजा सौजन्य प्रदान गरेको हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले आगामी दिनमा पनि साथ र सहयोगमार्फत जोडिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयले गत शैक्षिक सत्रमा कक्षा उत्तीर्ण तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको थियो । विपन्न तथा जेहेनदार विद्यार्थीलाई विद्यालयमा स्थापित अक्षयकोषमार्फत छात्रवृत्ति वितरण गरिएको थियो ।
विद्यालयलाई सहयोग गर्ने सपना गुरुङ, हिमश्री फूड्स, एलजी एसोसिएसन यूके, नेलम्बो नेपाल, कृष्णटोल आमा समूह, सवि गुरुङ, रक्षा गुरुङ, विनु राना, प्रमिला घले र दिक्षा अधिकारीलाई सम्मान गरियो । विद्यालयका शिक्षकद्वय सागर पौडेल र विद्यादेवी गुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षाप्रेमी महेश गुरुङ, शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मी, सरस्वती श्रेष्ठ, रुपा केसी, सहारा क्लब पोखराका निवर्तमान अध्यक्ष केशवराज बराल, अक्षयकोष दाता सपना गुरुङ लगायतले शुभकामना दिए ।
कार्यक्रममा प्रमुख अतिथि दीपेन्द्र मर्सानीले विद्यालयले २९ वर्ष सफलतापूर्वक पार गरी शैक्षिक दर्पण प्रकाशन गरेकोमा बधाई दिए । विद्यालयको टिमले उत्कृष्ट ढंगबाट काम गरेको देख्दा आफू प्रभावित भएको र पालिकाले विद्यालयलाई गर्नुपर्ने सहयोगमा कमी हुन नदिने उनको प्रतिबद्धता थियो ।
विद्यालयका अध्यक्ष विक्रम थकालीले विभिन्न विधामा उत्कृष्ट भई विद्यालयको गरिमा उच्च राख्ने विद्यार्थीलाई बधाई दिँदै सफलताको कामना गरे । उनले विद्यालयका संस्थापक, दाता, संघसंस्था, सल्लाह सुझाव प्रदान गर्ने सबैलाई स्मरण गर्दै वार्षिकोत्सव समापन गर्न लागि पर्ने शिक्षक, विद्यार्थी, अभिभावक, दातालगायत अतिथि सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।