लन्डन । ए स्टार फाइनान्सियल सलुसन्स यूके तथा ए स्टार मोर्गेजेज यूकेसँगको सहकार्यमा नेपाल बास्केटबल यूकेले आगामी १५ मार्चदेखि ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आयोजना गर्ने भएको छ ।
लिगको फाइनल खेल ४ जुलाई २०२६ मा हुनेछ। यस वर्षको प्रतियोगिता विशेष रूपमा समावेशी र व्यापक बनाइएको आयोजकले जनाएका छन् । यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन् । लिग चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल आयोजना गरिनेछ । महिलातर्फ भने ‘होम एन्ड अवे’ प्रणालीअनुसार प्रत्येक टिमले २–२ खेल खेल्नेछन् र त्यसपछि फाइनल खेल हुनेछ ।
लिगदेखि सेमिफाइनलसम्मका खेल फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र अल्डरसट ग्यारिसनमा सञ्चालन गरिनेछन् भने फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगिताबारे जानकारी दिन सोमबार बेलुका आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलमार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता सुदृढ गर्नु रहेको बताए ।
उक्त लिग आयोजना गर्न विमेन्स बलर्स क्लब (डब्लुबीसी) सँग पनि सहकार्य भइरहेको गुरुङले जनाए उनले प्रमुख प्रायोजक ए स्टार लगायत बी एस के इन्टरटेनमेन्ट, गोर्खा कन्स्ट्रक्सन, नमस्ते गोर्खा, नेपाल फुड, अनुराग बुलियान ज्वेलरीलगायत सबै प्रायोजकहरूलाई धन्यवाद पनि दिए।

नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले हरेक आइतबार पाँच ओटा गेम सञ्चालन हुने, टप आठ ओटा टोली नकआउटमा पुग्ने र त्यसपछि क्वार्टरफाइनल, सेमीफाइनल र फाइनल प्रतियोगिता हुने जनाए।
सुरुमा पहिलो वर्ष लिग आयोजना गर्दा केही कठिनाइ बेहोर्नु परेको तर अहिले समुदायको सहयोग र युवाहरूको उत्साहले गर्दा प्रतियोगिता लोकप्रिय हुँदै गएको उनले जनाए । उनले गत जनवरी महिनामा नेपाल बास्केटबल यूकेले अन्डर २३ टुर्नामेन्ट आयोजना गरेको र उक्त प्रतियोगितामा १८ वर्षभन्दा मुनिका युवाहरूको सहभागिताबाट आफूहरू निकै उत्साहित भएको बताए।
लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर विष्णु गुरुङले युवाहरू लागू पदार्थ दुर्व्यसन तथा हिंसात्मक बाटोमा नलागुन् भनेर स्थानीय काउन्सिलहरूले पनि खेलकुद जस्ता गतिविधिलाई सघाउँदै आएको बताए।
उनले खेलकुदले युवाहरूको शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न सघाउ पुग्ने बताउँदै बेलायतमा नेपाली युवाहरूलाई समेटेर प्रतियोगिता सञ्चालन गरेकोमा नेपाल बास्केटबल लिग र ए स्टार समूहलाई बधाई दिए। उनले यस्ता रचनात्मक कामलाई सघाउन सबैलाई आग्रह पनि गरे।
ए स्टार फाइनान्सियल सलुशन्सका मोर्गेज तथा प्रोटेक्शन एडभाइजर कुमार गुरुङले सन् २०११ मा स्थापना भएदेखि नै यो कम्पनीले बेलायतमा बसोबास गर्ने नेपाली लगायत अन्य समुदायलाई मोर्गेज, रियल एस्टेट, बिमा, विल लगायतका सेवाहरू प्रदान गर्दै आएको बताए। उनले बेलायतस्थित नेपाली समुदायद्वारा आयोजित रचनात्मक काममा कम्पनीले सक्दो सहयोग गर्दै आएको पनि जनाए।
सुरुदेखि नै लिगको प्रमुख प्रायोजक रहँदै आएको ए स्टार फाइनान्सियल सलुशन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीले बेलायतमा रहेका नेपाली युवायुवतीका लागि एक प्लेटफर्म सृजना गरी बास्केटबलमार्फत उनीहरुको व्यक्तित्व विकासमा सघाउने उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए । युवाहरूलाई प्रोत्साहन गर्ने कार्यमा ए स्टारले निरन्तर सहयोग पुर्याउदै आएको पनि दर्लामीले जनाए ।