पोखरा । प्लानिङ ब्वाइज युनाइटेड २५ औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।
पापा इबो केवेको ह्याट्रिक मद्दतसँगै प्लानिङ ब्वाइजले फ्रेन्ड्स क्लबलाई शून्यका विरूद्ध चार गोलले पराजित गरेको हो । शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा प्लानिङ टिमका सामु फ्रेन्ड्स खेलको अन्तिम मिनेटसम्म खेलमा फर्किन गरेको प्रयास अन्तत खेर जाँदा पहिलो खेलबाटै बाहिरिन पुग्यो ।
पापाले पहिलो हाफको अन्तिम मिनेटमा आफ्नो तर्फबाट पहिलो र टिमका लागि दोस्रो गोल गरेका हुन् । उनले दोस्रो हाफमा थप २ गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले खेलको ५४ औं र ८१ औं मिनेटमा गोल गरेका हुन् ।
प्लानिङले खेलको २४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो । विपक्षी खेलाडी योगेश गुरुङको ह्याण्ड भएपछि पाएको पेनाल्टीमा विदेशी खेलाडी एलेक्स विलियनले बललाई जाली चुमाएका थिए । प्रतियोगितामा पापा प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । ट्रफी सहारा युकेका तर्फबाट पूर्व अध्यक्ष कृष्ण गुरुङ र पूर्व महासचिव मञ्जु गुरुङले हस्तान्तरण गरेका थिए ।
जितसँगै प्लानिङ ब्वाइज युनाइटेड अब आभा फुटबल क्लब उज्वेकिस्तानसँग चौथो क्वाटरफाइनल खेल्नेछ । जितसँगै प्लानिङ ब्वाइजका प्रशिक्षक गणेश खड्काले टिम टाइम प्रेसरमा भए पनि सहजै जित निकालेकोमा सन्तुष्ट देखिए । उनले शनिबार धरानमा हुने २६ औं बूढासुब्बा गोल्डकपको फाइनल खेल्न रातारात त्यता जान लागेको बताए ।
फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले आयोजकको समय तलमाथि पर्दा आफ्ना खेलाडीले वार्मअपमा पर्याप्त समय नपाएको गुनासो गरे ।
शनिबारदेखि क्वाटरफाइनलका खेल सुरू हुनेछन् । दिउँसो ३ बजे आयोजक सहारा क्लब पोखराको टिमले विभागीय नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले बाइ पाएको हो भने सहाराले उद्घाटन खेलमा हङकङको गोर्खा इन्टरनेशनललाई पराजित गरेको हो ।
१२ टिमले भाग लिएको प्रतियोगिताको गत माघ २७ देखि सुरु भएको हो । फाइनल यही फागुन ९ गते हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।