काठमाडौँ । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करणको तयारी पूरा भएको छ । धरान रंगशालामा बिहीबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल धरान फुटबल क्लब र भारतको जर्जियन क्लबबीच हुनेछ ।
आयोजक धरान फुटबल क्लब घरेलु खेलाडीसहित विजेता बन्ने दाउमा रहेको क्लबका अध्यक्ष प्रताप तामाङले बताए । जर्जियन क्लब भने पहिलोपटक बुढासुब्बा गोल्डकपका लागि धरान आएको हो ।
२०५५ सालमा सुरु भएको बुढासुब्बा गोल्डकप फुटबल काठमाडौं उपत्यकाबाहिर आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता समेत हो । प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा एनआरटी काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, लालीगुराँस एफसी पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज क्लब काठमाडौं, झापा–११, झापा र धरान फुटबल क्लब धरानसहित १० वटा टिमले सहभागिता जनाउने अध्यक्ष तामाङले बताए ।
गोल्डकप विजेतालाई नगद १० लाख रुपैयाँ र उपविजेतालाई नगद पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।