पोखरा । २५औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ (९ फेब्रुअरी २०२६) देखि सुरु हुने भएको छ ।
पोखरा पर्यटन वर्ष २०२५-२६ लाई प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी साँझका समयमा पनि खेल सञ्चालन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । फागुन ९ सम्म सञ्चालन हुने आहा रारा गोल्डकपमा १२ टोलीको सहभागिता रहनेछन् ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौं’ भन्ने उद्देश्यसहित आयोजना गरिने प्रतियोगितामा यो वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको छ। विजेता टोलीले १४ लाख १ हजार रुपैयाँ र दोस्रो टोलीले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
आहा रारा गोल्डकपका सहभागी टोली
१. नेपाल पुलिस क्लब
२. चर्च ब्वाइ युनाइटेड
३. मनाङ मर्स्याङ्दी क्लब
४. नेपाल एपिएफ कलब
५. प्लानिङ ब्वाइज युनाइटेड
६. जाउलाखेल युथ क्लब
७. थन्डरवोल्ड नर्थ युनाईटड, सिक्किम (भारत)
८. मछिन्द्र फुटबल क्लब
९. गोर्खा इन्टरनेसनल फुटबल क्लब, हङकङ
१०. आभा फुटबल क्लब, उज्वेकिस्तान
११. सहारा क्लब पोखरा
१२. भारतीय एक टिम (नाम तय हुन बाँकी)
