काठमाडौँ । गुरुङ समुदायको राष्ट्रिय पर्व ल्होसार मंगलबार नेपालभर विभिन्न कार्यक्रमसाथ हर्सोल्लासका साथ मनाइयो । विषेशगरी गुरुङ समुदायको बसोबास धेरै भएका स्थानमा विभिन्न सांस्कृतिक तथा खेलकुदका कार्यक्रम आयोजना गरिए ।
सरकारले देशभर बिदा पनि दिएको थियो । तमु ल्होसार मूल आयोजक समितिले काठमाडौँको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरेको थियो । महोत्सवमा राज्यका उच्च ओहोदाका व्यक्तित्वहरू उपस्थिति थिए । तमु समुदायका मानिसहरू आफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थिए । अन्य समुदायका मानिस पनि सहभागी भएर ल्होसार महोत्सवमा रमाएका थिए ।
संस्कृति झल्किने विभिन्न स्टलहरू राखिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव भएको बताइन् । ‘यही विविधता नै हाम्रो ठुलो शक्ति हो,’ उनले भनिन्, ‘तमु ल्होसार जस्ता पर्वले आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् ।’

जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि आपसमा हातेमालो गर्दै समाधान खोज्न सक्नु नै नेपाली समाजको सुन्दर पक्ष रहेको उनको भनाइ थियो । ‘मतभेद भए पनि संवाद, सहमति र शान्तिपूर्ण मार्ग रोज्नु नै हाम्रो लोकतान्त्रिक संस्कार हो । हामीभित्र पीडा र असन्तुष्टिको हुन्डरी मात्र छैन; प्रेम, करुणा र आत्मीयताको गहिरो तलाउ पनि छ,’ उनले भनिन् ।
तमू ह्युल छोंज धींका अध्यक्ष धनमान गुरुङले गुरुङ समुदायले मान्ने वर्ग अनुसार सोमबार रातिदेखि नै सर्प वर्गबाट ता ल्हो (घोडा) वर्गमा प्रवेश गरेको यस वर्षमा नेपाल र नेपालीका लागि शुभ वर्ष हुने र सबैको मनोकामना घोडाकै गतिमा पूरा हुने विश्वास रहेको बताए ।
आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले नेपाली आदिवासी जनजातिको मौलिक पर्वहरूले नेपाल र विदेशमा रहेका नेपालीको मनमा हर्ष उल्लास, एकता, सद्भावको वर्षा गर्ने बताए ।