तमू (गुरुङ) हरू अन्नपूर्ण, मनास्लु हिमचुली पहाडको दक्षिण भेग हुँदै नेपालको पूर्वी पहाड र केही मात्रामा भारतको सिक्किम, सिलगुडी हुँदै भुटान र बढ्दो भूमण्डलीकरणका कारण हाल संसारभर छरिएर रहेका छन् । गाउँदेखि सहर र सहरदेखि संसारभर फैलिँदै गर्दा तमू जातिका भाषा, संस्कार र संस्कृतिमा केही भिन्नता, भ्रम र विकृति बढिरहेका छन् । तमू (गुरुङ) हरुले मान्ने संस्कार, मनाउने चाडपर्वदेखि तथाकथित ४ र १६ जातको भ्रमले तमूहरुका बिचमा विखण्डन ल्याइरहेकै छ । के वास्तवमै तमू जातिभित्र ठुलो र सानो जात थियो ? कसरी तमू जातिभित्र यो भ्रम फैलियो होला ? आउनुस् एकपटक इतिहासलाई नियालौँ ।
इति सम्वत् १९७८ साल जेष्ठ १३ गते रोज ५ को भारदारी फैसलामा सीषर नाथले छपाएको थर गोत्र प्रवरवलि भन्ने कीताप बजारमा बिक्री गर्न राखेको भया बिक्री नगर्नु भनी उदींदी भयाका षीची जफत गरी राषनु भनी जङ्गी कोतवालीलाई पुर्जी गरी राषनु अरु सदर लेखिएको छ । भारदारीबाट गरेको जाहेरी फैसलामा गोर्खा राजभर मुलुकका हामी ७०/८० जात गुरुङरु गैह्रमा अघि सनातन परापूर्व देषी येकै भई दालभात बिहावारि सरोबर चलिमिलि आयाको घटि बढी हो भन्या अघि ८५ सालमा ताम्रपत्र भएको छँदैछ २४ सालमा फेरि कप्तान चन्द्र सिं कुम्बर्सी गुरुङ्ग समेतले हामी ठुलो जात हो भन्या र कर्णेल लक्ष्मिन गुरुङ समेतले गुरुड्ग नाम जात यकै हो घटी बढी छैन भन्या ठुलो झगडा उठि भरदारी कचहरी भै गुरुङ्ग जातमा जस्ले मेरो जात ठुलो हो तेस्को जात सानो हो भन्यो वा दालभात काट्यो भने २०/२० रुपैयाँ जरीवाना गर्नु भन्या लालमोहर भयाको छ ६५/६६ सालमा मनजित गुरुङको र लेफिटनेन्ट सेर बहादुर गुरुङको झगडा पर्दा पति भात काटेमा जरिवाना भयाको छ । यहीँ थितिले हामी गुरुङ्ग नाम जात गैह्र एकै ठहरी दाल भात विहाबारी सरोवर चलि चलाई आएकोमा सीषरनाथ वनारसमा गै ४ जात गुरुङ राजपुत्र र १६ जात गुरुङ कमराको सन्तान दासी पुत्र हो त्यसो हुनाले ४ जातको ब्याहाबारीमा सोली डोली बोकी नेक दस्तुर १६ जातले खाने भनी कीताप छापी जातिको अजात गराउन पाउने होइन । निजलाई झीकाई सजाय गरी किताप बदर गराई अैन लालमोहर ताम्रपत्र बमोजिम थिति थामी पाउँ भनि पश्चिम तीन नम्बर इलाका कास्की साल डाडा बस्ने मुखिया सर्बजित क्रोचै गुरुङ्गले चढायाको बिन्तीपत्र साचो भया बुझी जाहेर गर्नु भन्या श्री कमान्डरु ईनचिफ साहेबका प्रमाँगी भै श्रेस्ता कौसलमा गयाको भारदारीबाट हेरी फैसला गरी जाहेर गर्नु भन्या मर्जी बक्स्या कमोजिम सरी आएको यो मुद्घामा साक्षी सरजमीनहरु कही बुझिएको छैन तापनि गुरुङ्ग जातका विषयमा अघि भएका थितिका सनदलाल मोहर र अैलेको मुदा छिनी दीया हुने देषिएको हुनाले अदालती बन्दोबस्तको ११८ नम्बरका अैले अरु साछी सरजमीनहरु बुझिरहन नपरेको भै बुझ्दा उजुरवाला निज मुषिया सर्वजीत क्रोचै गुरुङ्गको अरु गुरुङ्गले सानो जात हो भनी भात काटी अन्यये गयो भन्या उजुरनभै वनारसमा गै रहेका सीषरनाथ सुवेदीको सन् १९११ मा छपाइको थर गोत्र प्रवलवालि भन्या कितापमा घले, घोताने, लामा , लामिछाने, ४ थरी राज पुत्र गुरुङ अरु थापा १६ गरी गुरुङ्ग कमाराका दासी पुत्र हुन् भन्ने इरादी कुरा लेषी छापेका सोही किताप छाप्नेका उपर नभयका कुरा छापन पाउने होईन भन्या उजुर भयाको र सो थर गोत्र प्रवलवली भन्या नामले छापियाका कितापमा लोषियाका बेहोरासँग गुरुङ्गहरुमा थापा भन्ने थरको गुरुङ्गहरु कमाराको सनतान दासी पुत्र होइन भन्या कुरा तर्फको विचार गरी बुझ्नुपर्ने भभएकोले बुझदा सो किताप छपाउनेले दासी पुत्र हो भने सनद लाल मोहर अैंको सबुद प्रमाण दी छपाउना नसकेको कीसा कहानीका हिसाबसँग मन कथनले मात्र लेषी छपायेको सोही कितापबाट देषयाकोले अैं सनद सबुद बेगर गुरुङ्गंहरुमा कोही थरी कमाराको सन्तान दासी पुत्र रहेछन् भनी भया नभयाको वेप्रमाणले वेहीसाबसँग कमराका सन्तान भनी सो कितापमा लेषि छपायाको भनी उल्लेख छ ।
त्यस्तै इति सम्वत् १८८३ वैशाख सुदी १० रोज ४ मा जारी लालमोहरमा आज हामीबाट पनि तिमीहरुका अघिदेखि चलि आयाको रीतिथिती चाक चकुई फर्तेउलो हाम्रा दरबारमा पस्याका पसुई बाहिक माफगरि लामा घ्याबृँले गर्नु पन्र्याकाम लामा घ्याबृँबाट गराउनु, ब्राहमणबाट गराउनुपर्ने काम उपाध्याय ब्राहमणबाट गराउनु औ विराम माफिकका खतमा दण्डशासन गर्नु जीया नमासनु भनी उल्लेख गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने इतिहासमा सीषर नाथ सुवेदीले आफ्नो मन कथनले छपाएको तमू जातिबारेको झुटो र अर्थहिन थर गोत्र प्रवरवलि किताबले तमूहरुलाई आजसम्म पनि ४ जाते र १६ जातेको भ्रममा पारेकै छ । तमू समाजमा विकृति बढाएकै छ ।
तमू जातिभित्र सुकिलो वर्ण र मैलो वर्ण कसरी सुरु भयो ?
तमू जातिभित्र अहिले मूलतः वोन र बौद्यमा आस्था राख्ने समूह छन् । जसका कारण तमूहरू क्होइवो र गुम्बामा विभक्त छन् । जन्मदेखि मृत्युसम्मका कार्यहरुमा लामा र पच्यु, क्हेल्प्री, लम् मा विभाजित छन् । यसले तमू युवा पुस्ताहरुलाई अन्योलतामा पारेकै छ र कालान्तारमा तमू संस्कार, संस्कृति र समग्र तमू जातीय पहिचानका सवालमा भावी सन्ततीहरु क्ुहिरोमा हराइरहेको कागजस्तै हुनेछन् । आदिम कालदेखि तमूहरुको आस्था के हो ? विश्वास के हो ? उनीहरुको समग्र जीवनपद्घती र दृष्टिकोण के हो ? भन्ने कुराले नै आजका तमूहरुको मौलिक पहिचानतर्फ सङ्केत गर्छ । पङ्तिकार तमू जातिको धर्म छ वा थियो भन्ने कुरामा असहमती राख्छ । किनकी हामी सहजै अनुमान गर्न सक्छौँ कि धर्म शब्दको उत्पत्ति भएको कति न भयो र ? जबकी त्योभन्दा हजारौँ वर्ष अघिदेखि तमूहरुको आफ्नै विश्वास पद्घती मान्दै आएका थिए । तमूका पुर्खाहरुले सिल्दोनाल्दो पूजे, खोला र ठुला रुखको जरामा पूजा गर्दै प्रकृति र संस्कृति जोगाउँदै आए । जन्मदेखि मृत्युसम्मका आफ्नै अनेकन संस्कारहरुमा आफ्नै पच्यु, क्हेल्प्री लम्हरू लगाए । कालान्तरमा राज्यसत्ताको दबाबको कारण, विशेष परिस्थितिबस् जर्बजस्त अर्को नाम दिइयो वोन या ठिक त्यसै गरी बुद्घ ।


इतिहासमा कसरी तमूहरूको मौलिक संस्कार, संस्कृतिमाथि तत्कालीन शासकहरुले प्रहार गरेका थिए भन्ने ज्वलन्त उदाहरण हो ईं .१८०८ मा गीर्वाणयुद्घ विक्रम शाहको पालामा भएका लालमोहर । जसमा गुरुङलाई लाई १६ हिन्दू संस्कारमध्ये १० किसिमका हिन्दू संस्कार अनिवार्य गर्नुपर्ने र गुरुङहरुले पच्यु क्ह्ेल्प्रिी र लमको सट्टा ब्राहमण पण्डित लगाउनुपर्ने गरियो र जसले बाहुन लगाउँछ ऊ सुकिलो वर्णको गुरुङ र जसले पच्यु, क्हेल्प्री लम्ु लगाउँछ त्यो मैलो वर्णको गुरुङ हुने भन्ने विभेद गरियो । यो तथ्यबाट के प्रष्ट हुन्छ भने तमूहरुभित्रको एकता फुटाउन पहिलो प्रहार उनीहरुको संस्कार संस्कृतिमाथि नै गर्नुपर्छ भन्ने तत्कालीन शासकलाई राम्रैसँग थाहा थियो र जसका लागि इतिहासमा पटकपटक यसका आधिकारिक व्यक्तिहरु पच्यु, क्हेल्प्री र लम् माथि प्रहार गरियो । वर्तमानमा पनि तमूहरु यसरी नै फुटिरहेका छन् फुटाइरहेका छन् तथाकथित् धर्म र पर्वका नाउँमा ।
तमू जातिको विवाहमा गोत्र र सिन्दूर कसरी सुरु भयो ?
हरेक जातिको जन्मदेखि मृत्युसम्मका आआफ्नै संस्कार हुन्छन् । त्यसो त तमू जातिको पनि भिन्न संस्कार र संस्कृति छ । जन्मदेखि मृत्युसम्म्का यहीँ भिन्न संस्कृतिले नै तमूहरुलाई अरु जातिभन्दा भिन्न पहिचानकासाथ प्रस्तुत गर्छ । हामी देख्छौँ हाम्रा बज्यै आमाहरुले कहिल्यै सिउँदोमा सिन्दुर लगाएर हिँडेनन् । विवाहका दिनमा गोत्र सारेनन् बरु न्हेंजा सारे । उनीहरु कहिल्यै लोग्नेको मृत्य्ुपछि बेरड्गी भएनन् । चुरा फुटाएनन् , सिन्दुर पुछेनन् र रातो रङ र कपडा बारेनन् । तर अहिले अधिकांश तमू युवायुवतीका विवाहमा ब्राह्मण क्षेत्रीले जस्तै बेहुलीलाई सिन्दूर लगाइन्छ, गोत्र सारिन्छ र अझै जुत्ता लुकाउनेदेखि मेहन्दीसम्म गरिन्छ । र ब्राहमण समुदाय र हिन्दू धर्मको प्रभाव परेको ठाउँमा लोग्नेको मृत्युपछि चुरा फुटाउँछन्, सिन्दुर पखाल्छन् र तमू महिलाहरु पनि बेरङ्गी बन्छन् । तमू जातिको आस्था र विश्वासभित्रै नपर्ने यो संस्कार र संस्कृतिको प्रभाव ई १८१६ को राजेन्द्र विक्रम साहको ताम्रपत्रमा उल्लेख गरिएअनुसार आइन्दा गुरुङको कर्मकाण्डमा बाहुन पण्डित लगाउनुपर्ने निर्देशन भएको पाइन्छ ।
त्यस्तै ई १८१८ मा राजेन्द्र विक्रम शाहले अर्को आदेश जारी गरी बाहुन पुरोहित लगाएर कर्मकाण्ड गर्ने गुरुङले विवाह, विधवा विवाह मोरो अपुताली , कर माफी पाउने , बाहुन पुरोसिहत नलगाउनेले चाकचकुई र मोरो अपुताली कर तिर्नुपर्ने उल्लेख छ । यो तथ्यबाट के प्रष्ट हुन्छ भने तमू संस्कार र संस्कृतिमाथि तत्कालिन राज्यसत्ताले जर्बजस्त हिन्दू धर्म, संस्कार र संस्कृति लादेको थियो । बाहुन पुरोहित लगाएपछि स्वतः सबै कर्मकाण्ड हिन्दू धर्मअनुसार नै गरियो, गराइयो र त्यहीँ संस्कार पुस्तान्तरण हुँदै आउँदा कहीँ कतै तमूको संस्कारभित्रै नपर्ने गोत्र र सिन्दूरले आज पनि अधिकांश गुरुङहरुको विवाहमा जरा गाडेर बसेको छ । यो इतिहास बुझेपछि पनि तमूहरुले अझै विवाहमा सिन्दूर नै लगाउने, गोत्र नै सारिरहने हो कि ? भावी पुस्ताका लागि भए पनि सही मार्गमा हिँड्ने हो ?
ल्होसार र ल्होछार विवादको औचित्य छैन
जब तमू ल्होसार नजिकिन्छ तब तमूहरुबिच एउटा अर्को विवादको सुरु हुन्छ ल्होसार कि ल्होछार ? अर्थात् हामी अरु धेरै बहस र चिन्ता गर्नुपने कुराहरुलाई छाडेर ‘सा’ कि ‘छा’ को विवादमा फस्दै जान्छौँ । के यो साँच्चै बहस गर्नुपर्ने विषय नै हो त ? यदि बहस नै गर्ने हो भने हामीले धेरै पुस्तकहरु पढ्नु नि पर्दैन, त्यति लामो इतिहास पढ्नु पर्दैन । यसको एउटै सरल तरिका छ , यदि तपाईँका घरमा ७० या ८० वर्षका अपा, आमा या बाजे बुज्यु छन् भने एकपटक सोध्नुस् त ! आजभन्दा करिब ५ दशक अघिसम्म पुस पन्ध्रलाई के भनेर मनाउँथे ? तपार्ईँले यथार्थ, सत्य र मौलिक जवाफ त्यहीँ पाउनुहुन्छ । र यसको विवादमा फस्नु व्यर्थ हो भन्ने बुझ्नुहुन्छ ।
तमूहरुले ल्होसार या ल्होछार भनेर मान्न थालेको र सड्गठित हुन थालेको त कति न भयो र ? राज्यसत्ताको परिबन्दमा पर्दे तत्कालीन अवस्थामा बाध्य भएर तमू जातिले पुस १५ लाई ल्होसार या ल्होछार नाम लिएर अगाडि बढेका न हुन् । अत : तमूहरुले ल्होसार या ल्होछारमा विवाद गर्नुको कुनै औचित्य छैन । बरु आदिमकालमा त तमूहरुले यो दिनलाई ल्हो तुवा / त्वबा , स्योंकै चवा या पुस १५ पो भने होलान् त ? स्यों अर्थात् खोला । स्योंरा क्ल्योसी (भैलो खेलेर ) या सबै घरघरबाट चामल, घ्यु, दूध, नुन, तेल, उठाएर खोला किनार, गाउँको फराकिलो फाँट या जड्गलको छेउछाउमा आफ्नै रैथाने खानाहरु, कन्दमुल, नारे पा, गहतको तातो झोल पो खाइन्थ्यो होला त । यो दिनमा अहिलेजस्तो भररर परेको ६ मिटरको लेहेंगा, पुरै शरीर देखिनेगरी बुटिक चोलो, ढाकाको चोलो, जिन्स पाइन्टमाथि या कोटमाथि भाड्ग्रा त लगाइन्थेन होला ? स्योंकै खान जाँदा खोलानाला सिमेभूमे पूजिन्थ्यो होला । यी कुराहरुले पो तमूहरुको मौलिकता र पहिचानलाई झल्काउँछ होला ?
अतः जबजब तमू समुदायमा धर्म र पर्वको विवाद आउँछ नयाँ पुस्ताले त्यहीँ बिन्दुमा गएर सत्यता खोज्नुपर्छ कि अढाइसय वर्ष अघिसम्म तमूहरू को थिए ? उनीहरुका कर्मकाण्ड कोद्वारा गरिन्थ्यो ? र कसरी तमू जातिमाथि जर्बजस्त हिन्दु लगायत अरु धर्म लादियो ? त्यस्तै तमूहरुले पुस १५ लाई ल्होसार नाम दिएर कहिलेदेखि किन मनाउन थाले ? जब हामी हिजो तमूहरू के थिए ? को थिए ? र के के गर्थे भन्ने कुराको मूल जरा अर्थात् मौलिकतामा पुग्छौँ तब तमूहरुबिचका सबै भ्रमहरु हट्नेछन् र तमूहरुबिचको एकता संभव छ । यसका लागि एउटै सुत्र छ । तमूहरूमा पठन संस्कृतिको अभ्यास र तमू इतिहासको अध्ययन । ङ्यो तमूमैँ क्रि तले त्हानलाई तमू ‘त’ ल्होसारै आशमिलाँ मु ।