काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले संयुक्त अरब इमिरेट्स यूएईमा हुने आईसीसी सीडब्लूसी लिग२ प्रतियोगिताका लागि १५ सदस्यीय राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले अमेरिका र यूएईसँगको एक दिवसीय त्रिकोणात्मक शृंखलाका लागि शनिबार टोलीको घोषणा गरेको हो । खेल आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।
क्यानले रोहित कुमार पौडेललाई कप्तान घोषणा गरेको टोलीमा दीपेन्द्र सिंह ऐरी उपकप्तान तोकिएका छन् ।
अन्य खेलाडीहरूमा मोहम्मद आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार साह, सोमपाल कामी, मोहम्मद आरिफ शेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित नारायण राजवंशी समावेश छन् ।
विश्वकप छनोट टोलीमा समावेश रहेका सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई भने यो शृंखलाका लागि आराम दिइएको छ ।
शृंखला खेल्नका लागि नेपाली टोली यूएई पुगिसकेको छ । नेपालले २६ अक्टोबरमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले ३० अक्टोबरमा यूएईसँग खेल्नेछ । १ नोभेम्बरमा अमेरिकासँग र ५ नोभेम्बरमा यूएईसँग खेलेपछि टोली स्वदेश फर्कनेछ ।
शुक्रबार नेपालले अपराजित रहँदै आईसीसी पुरुष टी२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको थियो ।