काठमाडाैँ । आईसीसी पुरुष टी२० विश्वकप एशिया एन्ड इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईले समोआलाई पराजित गरेपछि नेपाल दुई खेलअघि नै सन् २०२६ मा हुने टी२० विश्वकप क्रिकेटमा छनोट भएको छ।
बुधबारको खेलमा यूएईले समोआलाई ७७ रनले पराजित गरेको छ। २२६ रनको लक्ष्य पछ्याएको समोआले पूरै २० ओभर खेल्दै ८ विकेट क्षतिमा १४८ रन मात्र बनाउन सक्यो। यसअघि, पहिला ब्याटिङ गरेको यूएईले ४ विकेट क्षतिमा २२५ रन बनाएको थियो।
यूएईको जितपछि नेपालसँगै एशिया तथा प्रशान्त क्षेत्रबाट ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ। यी दुई देश अहिले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्। दुवै देशको अहिले ६-६ अंक छ। यो खेल जित्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।
एशिया तथा प्रशान्त क्षेत्रबाट तीन देश विश्वकपमा सहभागी हुनेछन्। अब तेस्रो स्थानका लागि यूएई,समोआ र जापानले प्रतिस्पर्धा गर्नेछन्। जापानले ओमान र यूएईसँग खेल्न बाँकी छ भने, यूएईले अन्तिम खेल जापानसँगै खेल्नेछ।
त्यसैगरी, समोआले कतार र नेपालसँग खेल्न बाँकी छ। अहिले यूएईको ४ र जापान तथा समोआको २-२ अंक छ।
सुपर सिक्सअन्तर्गत, यसअघि नेपालले कतार र यूएईलाई पराजित गरेको थियो। समूह चरणमा जापानलाई पराजित गर्दा नेपाल २ अंकसहित सुपरसिक्समा पुगेको थियो। नेपालले ओमानपछि अन्तिम खेलमा शुक्रबार समोआसँग खेल्नेछ।
नेपाल तेस्रोपटक टी२० विश्वकपमा पुगेको छ। नेपालले पहिलोपटक सन् २०१४ मा बांग्लादेशमा भएको विश्वकप खेलेको थियो। त्यस विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दा आयोजक बांग्लादेशसँग पराजित भएपछि अघिल्लो चरण पुग्न सकेको छैन।
सन् २०१४ पछि नेपालले अर्को विश्वकप खेल्न एक दशक कुर्नु परेको थियो। सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपका लागि नेपालले छनोट प्रतियोगिता पार गरेको थियो। त्यसपछि, नेपाल लगातार अर्को विश्वकपमा छनोट भएको हो।
आगामी विश्वकप २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुनेछ।