काठमाडौँ । आईसीसी टी२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो ।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । आसिफ शेखले सर्वाधिक ३८ रन बनाए ।
गुल्शन झा २८ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे । कुशल भुर्तेलले २१ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।
जापानका शोमा स्लेटरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । साकुरानो थोमस, साबोरिस रविचन्द्रन र डेक्लान सुजुकीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए । ११ रनमा पहिलो विकेट गुमाएपछि उनले इसार रहमानसँग मिलेर दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।
इसार रहमानले ३१ तथा बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।
नेपालका लागि गुल्शन झाले २ तथा सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले समान १-१ विकेट लिए ।
नेपालले जापानलाई हराएसँगै सुपर सिक्समा २ अंकका साथ सुरुवात गर्ने भएको छ । दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।