काठमाडौँ । वेस्ट इन्डिजसँगको टी२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । शनिबार राति दुबईमा सम्पन्न खेलमा नेपाल १९ रनले विजयी भएको हो ।
यससँगै नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको छ । वेस्ट इन्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो ।
नेपालले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए । कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवका नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले ३०, गुल्शन झाले २२ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए ।