लन्डन । बेलायतमा शनिबार अटम टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ । गोर्खा नेप्लिज टेनिस क्लबले अल्डसटस्थित सैनिक छाउनीको टेनिस सेन्टरमा प्रतियोगिता आयोजना गरेको थियो ।
विभिन्न समूह तथा श्रेणीमा भएको प्रतिस्पर्धामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका थिए । जसअन्तर्गत ओपन ‘ए’ समूहमा विनोद खड्काले उपाधि जिते भने प्रकाश गुरुङ उपविजेता बने। त्यस्तै, ओपन ‘बी’ समूहमा विवेक गुरुङ विजेता र सन्तोष गुरुङ उपविजेता भएका छन् ।
भेटेरान ४५ वर्षमाथिको समूहमा पञ्च पुनलाई हराउँदै कृष्ण थापा तथा मास्टर्स ५५ वर्षमाथिको स्पर्धामा मोहन गुरुङलाई हराउँदै नमराज गुरुङ विजेता भए ।

यसैगरी, डबल्स ओपने ‘ए’ मा सन्तोष पुन र निल पुनको जोडी विजेता बने भने कैलाश गुरुङ र पेंडुलाल राई उपविजेता बने। डबल्स ओपन ‘बी’ मा ललित मल्ल र दीपक गुरुङ विजेता तथा हर्क गुरुङ र सरोज राई उपविजेता भए ।
ओपन ‘सी’ समूहमा अल्मोस के. सिनुवार विजेता तथा हर्क तामाङ उपविजेता भए । महिलातर्फ नबिना गुरुङ विजेता तथा यशमिन गुरुङ उपविजेता बन्न सफल भइन् ।
यस वर्षको बेस्ट न्यु कमर पुरस्कार नेमा दावा तामाङ र ताङसाङ लिम्बुले जितेका छन् । प्रतियोगितामा पुरुष र महिला गरी करिब ६ दर्जन नेपालीको सहभागिता थियो ।
विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरेका थिए । कार्यक्रम क्लबका सचिव मोहन गुरुङले सञ्चालन गरेका थिए ।
सो अवसरमा मोहन गुरुङको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन भएको थियो ।