लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले यही सेप्टेम्बर १३ तारिख लन्डन फेल्थाममा गर्न लागेको दोस्रो एनआरएनए महोत्सव एवं एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आइतबार पत्रकार सम्मेलन गरी संघले तयारीबारे जानकारी दिएको हो । नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव र बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोगिता गर्न लागिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।
दोस्रो पुस्तालाई खेल क्षेत्रमा प्रोत्साहन गरी उनीहरुमा नेपाली कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्य पनि इभेन्टको रहेको अध्यक्ष गाहामगरले बताए । बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोस्रो पुस्ताबीचको दूरी बढिरहँदा दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न स्वरुप यो इभेन्ट राखिएको उनको भनाइ थियो ।
इभेन्ट प्रवेश शुल्क र पार्किङ शुल्क केही नलाग्ने पनि उनले प्रष्टयाए । सबै एक भएर अगाडि बढे धेरै सफलता हासिल गर्न सकिने बताउंदै उनले वंशजको नेपाली नागरिकता मुद्दा सफल बनाउन पनि दोस्रो पुस्तालाई जोड्न आवश्यक रहेको उल्लेख गरे ।
इभेन्ट संयोजक एवं युथ कोअर्डिनेटर विशाल राईले यसपटक कुल ३९ टिममध्ये २४ मेन, १२ भेट्रान एवं ३ महिला टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिए । खेलले मानिसको मानसिक, शारीरिक एवं सिर्जनशीलता वृद्धि गर्ने बताउँदै राईले अघिल्लो वर्ष ४ हजार दर्शकले खेल हेरेकाले आफूहरु यसपटक पनि उत्साहित भएको बताए । खेलमार्फत पहिलो र दोस्रो पुस्तालाई एकै ठाउँमा ल्याइ समुदायलाई मजबुत बनाउने मुख्य उद्देश्य रहेको भन्दै उनले सहभागी भइदिन सबैमा अपिल गरे ।
प्रमुख संरक्षक डेभिड गुरुङले फुटबलले सबैलाई एकै ठाउँमा ल्याउने भएकाले इभेन्ट सफल पार्न सबैमा अनुरोध गरे । शुभकामना मन्तव्यका क्रममा प्रमुख सल्लाहकार डा. भीम पुनले पहिलो एनआरएनए कप गर्ने बेला धेरैमा आशंका रहे पनि परिपक्व टिमले गर्दा पूर्ण सफल भएको स्मरण गर्दै यस वर्ष पनि सफल हुने विश्वास व्यक्त गरे ।
उनले यो इभेन्ट फुटबलमा मात्र सीमित नभइ यसले कम्युनिटीमा सामिप्यता बढाउने, नयाँ र पुरानो पुस्ताबीच ब्रीजको काम गर्ने लगायतका फाइदा रहेको बताए ।
महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेको कार्यक्रममा आईसीसी सदस्यहरु शारदा गुरुङ, विजय गुरुङ, सल्लाहकार नरमति पुन लगायतले पनि शुभकामना दिएका थिए । उक्त अवसरमा एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, प्रमुख सल्लाहकार क्या. रिटायर्ड वीरबहादुर थापा, लगायतको सहभागिता थियो ।
पत्रकार सम्मेलनमा टिम ‘ड्र’ समेत गराइएको थियो ।


