लन्डन । बेलायतको अक्सफोर्ड निवासी साहित्यकार जानु काम्बाङ लिम्बु पुरस्कृत भएकी छन् ।
काठमाडौंमा शनिबार दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार कोषले आयोजना गरेको कार्यक्रममा कवि, गीतकार तथा लेखक लिम्बु ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’बाट सम्मानित भएकी हुन् । उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, प्राज्ञ शशी लुमुम्बु र पुरस्कारका संस्थापक सदस्य तथा गीतकार टीका चाम्लिङले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । स्रष्टा लिम्बु हङकङमा रहेकीले उनको पुरस्कार खुवालुङ कलाकार दीपा सुहाङले ग्रहण गरेका थिए ।
ताप्लेजुङ्, फक्ताङ्ग्लुङ गाउँ पालिका ४ ईखाबूको कवि तथा लेखक जानु काम्बाङ हाल बेलायतको अक्सफोर्डबाट नेपाली साहित्य साधना गरिरहेकी छिन् । काम्बाङको अहिलेसम्म थुप्रै गीति एल्बम तथा कृति बजारमा आइसकेका छन् । शिविरमा ईश्वर (कवितासङ्ग्रह ), गीति एल्बम (अनुभव ) २०७२ (सन् २०१५), नउघ्रेको जून (कथासङ्ग्रह), गीति एल्बम (जानु ) २०७५ (सन् २०१८), र आँसुको लय (गीति सङ्ग्रह) २०७६ (सन २०१९) उनका प्रकाशित कृतिहरू हुन् ।
उक्क समारोहमा कान्तिपुरकर्मी गणेश राईलाई ‘दिलकुमारी चाम्लिङ राई स्मृति भाषिक पुरस्कार’बाट पुरस्कृत भए । २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ पत्रिका प्रकाशन गर्दै वाम्बुले मातृभाषा साहित्य प्रवर्द्धनमा योगदान पुर्याएबापत उक्त पुरस्कार प्रदान गरिएको हो ।
यस्तै खोटाङ कलाकार समाजलाई पनि ‘दिलकुमारी चाम्लिङ राई स्मृति पुरस्कार’प्रदान गरिएको छ । उक्त पुरस्कार समाजका अध्यक्ष रुपकुमार राईले ग्रहण गरे ।
गीतकार चाम्लिङले आफ्नी आमा दिलकुमारीको ७९औं वार्षिक तिथिमा तीन वर्षदेखि स्थगित पुरस्कार एकसाथ प्रदान गरिएको बताए । मुन्धुमविद् काइँलाले मातृभाषा साहित्य, कलाको प्रवर्द्धनमा सम्बन्धित मातृभाषी सचेत भएर निरन्तर लाग्नुपर्ने बताए । ‘२०४७ सालको संविधानले दिएको अधिकारले दिएको अधिकारलाई टेकेर मातृभाषाहरू प्रवर्द्धन भएका छन्,’ उनले भने, ‘तर धेरै मातृभाषी समुदायका मानिसहरूले अरुलाई दोषारोपण गरेर आफ्नो भाषा अभिलेखन गर्न चुकेका छन् ।’
लोकवार्ताविद् भक्त राई, कवि भूपाल राई, कैलाश राईलगायत पुरस्कृत स्रष्टा र संस्थाबारे बोलेका थिए ।