कास्की । पोखरा महागरपालिका वडा नं ९, बसपार्कमा अवस्थित सहारा बाल आधारभूत विद्यालयमा गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एक कार्यक्रमबीच विभिन्न सामग्री हस्तान्तरण गरेका छन् ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय कास्क द्वारा प्रदान गरिएको २ लाख रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाको औपचारिक रुपमा मन्त्री थापाले हस्तान्तरण गरे । सोही क्रममा सहारा यूकेका महासचिव क्याप्टेन पिताम्बर गुरुङको ५० हजार रुपैयाँको आर्थिक सहयोगमा प्रदान गरिएको प्रोजेक्टरको शुभारम्भका साथसाथै पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा भौतिक संरचना स्तरोन्नति शीर्षकमा विनियोजन भएको १ लाख रुपैयाँद्वारा खरिद गरिएका फर्निचहरू पनि हस्तान्तरण गरियो ।
साथसाथै पोखरा-९ को ६० हजार रुपैयाँ आर्थिक सहयोगमा प्रदान गरिएको साउण्ड सिस्टम पनि विद्यालयलाई प्रदान गरिएको थियो । उक्त क्रममा सनराइज ड्राईभिङ सेन्टरका सञ्चालक समाजसेवी राजु लालचनले वडा कार्यालयद्वारा प्रदान गरेको साउण्ड सिस्टम खरिदमा अपुग भएको २० हजार रुपैयाँ हस्तान्तरण गरे । विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र अवस्थासहित सम्पूर्ण अतिथीहरुलाई स्वागत राखिन् ।
सोही क्रममा विद्यालयको स्थापनादेखि हालको स्थानसम्म ल्याइपुर्याउन समय र सहयोग प्रदान गर्ने सबैलाई स्मरण गर्दै कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरु अध्ययन गर्ने पवित्र थलोमा सबैको साथ सबैलाई कृतज्ञता व्यक्त गरिन् ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा आधिकृत जीवनप्रसाद रेग्मीले मन्तव्यका क्रममा विद्यालयले गरेको भौतिक तथा शैक्षिक प्रगतिको साक्षी हुन पाउँदा निकै खुशी लागेको बताए । महाशाखाद्वारा आगामी दिनमा विद्यालयला आवश्यक सहयोग गर्न प्रयासरत रहेन बताउँदै फर्निचर हस्तान्तरण गर्न पाउँदा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको आवश्यकता स्थानीय तहले सम्बोधन गर्न पाउँदा खुशी व्यक्त गर्दै पवित्र मनले समाजसेवा गर्दा र सहयोगी मनहरुको साथले विद्यालय यो स्थानमा पुगेकोमा विद्यालयका अध्यक्षलगायत विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे । उनले प्रदेश सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री थापाले सरकारले चाहेको परिवर्तन विद्यालयदेखि नै सुरुवात हुने बताउँदै जहाँ विज्ञान पढिन्छ र प्रयोग हुन्छ अनि मात्रा बालबालिकाहरुले भविष्य कोर्ने धारणा राख्दै शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकताअनुसार सार्वजनिक-निजी साझेदारीमार्फत आवश्यक प्रविधि र पूर्वाधारका साथासाथै अवसरहरुलाई अगाडि बढाउनुपर्ने बताए । उनले आगामी आर्थिक वर्ष विद्यालयको भौतिक स्तरोन्तनिका लागि प्रदेश सरकारबाट ५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै नपुगेको खण्डमा थप ५ लाख दिएर विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयको अभिभावक शिक्षा जागरण कार्यक्रम रहेको हुँदा अभिभावकहरुलाई कार्यक्रममा सरिक हुनसमेत अपिल गरे । मन्त्री थापाले आफ्नो दिवङ्गत ज्येष्ठ छोरा देवेन्द्र थापाको स्मृतिमा विद्यालयमा १ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।
कार्यक्रमको समापनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले प्रमुख अतिथिलगायतको उपस्थितिले कार्यक्रम सभ्य र भव्य रुपमा सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरे । प्रदेश सरकारले सरकार आएको ८ वर्षमा पहिलो पटक विद्यालयका लागि रातो किताबमा नै बजेट विनियोजन हुनु सकारात्मक भएको बताउँदै सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयद्वारा सहारा क्लब पोखरालाई रकम विनियोजन गरेकोमा पनि मन्त्रीलगायत प्रदेश सरकारलाई आभार प्रकट गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमा विद्यालयलाई बालमैत्री बनाउन टेलिभिजन हस्तान्तरण गर्ने दाता सपना गुरुङ र तातो चिसो सहितको पानी शुद्धीकरण यन्त्र प्रदान गर्ने अमर गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि,साहयोगी संस्थाहरुको साथसाथै विद्यार्थी, शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।