काठमाडौं । रसुवागढी नाकास्थित भोटेकोशीमा मंगलबार बिहान आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । ३ जना प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिकलाई बाढीले बगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका वटा मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।
हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए ।
यसैबीच नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।

बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ । रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।
यस्तै ल्हेन्दे खोलामा आएको भीषणका कारण त्रिशूली नदीको उच्च बहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।