अल्डरसट । बेलायतमा आगामी ६ जुलाईदेखि १३ जुलाईसम्म बेलायतमा हुन लागेको आठौँ पिपल नेपाल कप टी२० क्रिकेटमा १२ टिमको सहभागिता रहने भएको छ ।
खेल रेडिङस्थित रेडिङ क्रिकेट एन्ड हक्की क्लब मैदानमा हुनेछ । प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको आयोजक पोखरेली मञ्च यूकेले जनाएको छ ।
मञ्चका अनुसार प्रतियोगितामा हिमालयन क्रिकेट क्लब, नयाँ युवा क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब, मिडल्यान्ड्स वारियर्स क्रिकेट क्लब, क्वीन्स् गोर्खा सिग्नल्स्, माया क्रिकेट क्लब, माया क्रिकेट क्लब (बी), वुल्भरह्याम्पटन वारियर्ज क्रिकेट क्लब, एभरेस्ट क्रिकेट क्लब र वीन्चेस्टर क्रिकेट क्लबको सहभागिता रहनेछ ।
विजेताले २ हजार पाउन्ड नगदसहित, ट्रफी र मेडल तथा उपविजेताले १ हजार पाउन्ड नगदसहित, ट्रफी र मेडल पाउनेछन् ।
प्लेयर अफ द टुर्नामेन्ट हुने खेलाडीले ३०० पाउन्ड र ट्रफी, वेस्ट बलरले २५० पाउन्ड र ट्रफी तथा वेस्ट ब्याट्सम्यानले २५० पाउन्डसहित ट्रफी पाउनेछन् ।