काठमाडौँ। नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले बेलायतमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएका छन् । चेल्टेनह्याममा सम्पन्न सो प्रतियोगितामा भूपेन्द्रले तीन स्वर्ण जित्दा सुदेनले एक रजत पदक प्राप्त गरेका हुन् ।
नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार भूपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७, ट्रेडिसनल वेपनमा २७, र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक जोड्दै स्वर्ण पदक जितेका हुन् ।
यसअघि पनि भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै निर्णायकको रूपमा समेत योगदान दिँदै आएका छन् ।
सुदेनले भने ट्रेडिसनल चाइनिज फममा २६.१ स्कोर गर्दै रजत पदक जितेका हुन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो ।
प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, कोस्टारिका, र इस्टोनिया लगायतका देशका ४१५ खेलाडीले सहभागिता जनाएका थिए ।