लन्डन । नेपालले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी२०आई सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई २ विकेटले पराजित गरेको छ ।
ग्लासगोमा सम्पन्न खेलमा स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रन जोडे । दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३, किरण ठगुन्नाले १० तथा लोकेश बमले ९ रनको योगदान दिए ।
स्कटल्यान्डका माइकल लियस्क र सफयनज सरिफले समान दुई विकेट लिए । जास्पेर डाभिडसन, ज्याक सारिफ, वार्क वाट र ब्रान्डन म्याकमुलमले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिम नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटिएको थियो ।
स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
स्कटल्यान्डका माइकल लियस्कले सर्वाधिक ४६ रन बनाए । कप्तान म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलनले १० रन थपे ।
शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।