लन्डन । आठौं अल्डरसट भलिबल टुर्नामेन्ट २०२५ अन्तर्गत पुरुषतर्फ बागलुङ र महिलातर्फ मोना भलिबलले उपाधि उचालेका छन् ।
अल्डरसट भलिबल क्लबको आयोजनामा ७ जूनमा वेलेस्ले स्पोर्ट्स् ग्राउन्डमा भएको प्रतियोगितामा बागलुङले ग्रिनविच भलिबल परिवार 'ए' लाई सोझो सेटमा हराउँदै ट्रफी उचालेको हो । यस्तै विन्चेस्टर गर्ल्स टिमलाई उछिन्दै मोना भलिबल गर्ल्स टिमले उपाधि हात पारेको हो । प्रतियोगितामा १४ पुरुष टिम र ९ वटा महिला टिमले प्रतिस्पर्धा गरेका थिए ।
पुरुषतर्फका प्रथम भएको टिमले १६ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र र दोस्रोले ११ सय पाउन्ड पुरस्कार प्राप्त गरे । यस्तै लेडिजतर्फ प्रथम पुरस्कार ९ सय पाउन्ड र दोस्रो पुरस्कार ५ सय ५० पाउन्ड रहेको थियो ।
पुरुष विधामा वेस्ट प्लेयर, वेस्ट डिफेन्स, वेस्ट लिफ्टर, वेस्ट ब्लकर र वेस्ट स्पाइकसमेत घोषणा गरिएको थियो । महिला विधामा वेस्ट प्लेयर मात्रै घोषित भएका थिए ।
विजयी टिम र खेलाडीलाई प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, विशिष्ट अतिथि तमुधीं यूकेका पूर्वअध्यक्ष तथा वाईबीसी क्लिनिङ सर्भिसका ज्ञाम गुरुङ, अल्डरसट भलिबल क्लब संरक्षक शेरबहादुर सुनुवार, कालिका रिक्र्युटमेन्ट सर्भिसका कृष्ण गुरुङ, किशोर गुरुङ, रोशन गुरुङ, गोर्खा ट्राभल्सका प्रबन्धक दिलरास गुरुङलगायतले पुरस्कार विस्तरण गरे ।
स्थानीय काउन्सिलका प्रतिनिधिलगायत दर्शकको उपस्थिति थियो । प्रतियोगितामा विभिन्न संस्था तथा व्यक्तिले प्रायोजन गरेका थिए ।
बिहान ९ बजे सुरु खेलको खेल पानीले मैदान हिलो हुँदा केहीबेर रोकिए पनि खेलाडीको जोसका कारण निर्धारित समयमै खेल सम्पन्न गर्न सफल भएको अल्डरसट भलिबल क्लबका अध्यक्ष विमल गुरुङले जानकारी दिए ।
प्रतियोगितामा म:म स्टेसनको फुड स्टल र बागलुङे नौमती बाजा थप आकर्षणको रुपमा रह्यो ।

